नबिल बैंक लिमिटेडको अध्यक्षमा निर्वाण चौधरी चयन भएका छन् । सोमबार सम्पन्न बैंकको ४१औँ वार्षिक साधारणसभाले अध्यक्षमा चौधरीलाई चयन गरेको हो । उपेन्द्रप्रसाद पौडेलको अध्यक्षतामा भएको साधारणसभाले बोनस सेयर र नगद गरी कुल १२.५० प्रतिशत लाभांश पनि पारित गरेको छ । साधारणसभाले संस्थापक सेयरधनीतर्फबाट सञ्चालक समितिमा संस्थापक सेयरधनी समूहको प्रतिनिधित्व गर्ने सञ्चालक पदमा अनिलकेशरी शाहलाई निर्विरोध निर्वाचित गरेको छ ।
यसैसाथ निर्वतनमा अध्यक्ष पौडेलले सफलतापूर्वक आफ्नो दुई कार्यकाल सम्पन्न गरेको समेत बैंकले जनाएको छ । उनको नेतृत्वमा बैंकले दिगो बैंकिङमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । उनले विशेष गरी टिम निर्माण, डिजिटल रूपान्तरणको सुदृढीकरण, दिगो बैंकिङ, नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिपका साथै मर्जर सफल बनाउनसमेत भूमिका निर्वाह गरेका थिए ।
बैंकले देशभर दुई सय ६८ शाखा सञ्जालसहित तीन सय २१ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ ।