गठनको चार वर्षमै छिन्नभिन्न बन्यो नागरिक उन्मुक्ति

सोमबार, २८ पुष, २०८२
डिजिटल संस्करण

गठनको एक वर्षमै प्रतिनिधिसभामा तीन, तीनवटा प्रदेश सभामा ११ र स्थानीय तहमा चार प्रमुखसहित ९९ जनप्रतिनिधि निर्वाचित हुँदै क्षेत्रीय शक्तिका रूपमा उदाएको नागरिक उन्मुक्ति दोस्रो चुनावको सम्मुख आइपुग्दा तितरबितर बनेको छ, रेशम र रञ्जिता नै फरकफरक दलमा पुगेका छन्

थारू समुदाय उत्थान, विशेष गरी ०७२ मा भएको टीकापुर घटनालाई मुद्दा बनाएर उदाएको नागरिक उन्मुक्ति पार्टी गठनको चार वर्षमै छिन्नभिन्न भएको छ । गठनको एक वर्षपछि ४ मंसिर ०७९ मा भएको चुनावमा यो दलबाट प्रतिनिधिसभामा तीन, तीनवटा प्रदेश सभामा ११ र स्थानीय तहमा चार प्रमुखसहित ९९ जनप्रतिनिधि निर्वाचित भएका थिए । तर, आगामी २१ फागुनको चुनावको सम्मुख आइपुग्दा विघटित अवस्थामा छ । 

टीकापुरमा घटनामा दोषी ठहर भएका रेशम चौधरीले आफू डिल्लीबजार कारागारमै रहेका वेला पत्नी रञ्जिता श्रेष्ठलाई अध्यक्ष बनाएर १९ पुस ०७८ मा दल खोलेका थिए । भाग लिएको पहिलो चुनावमै नागरिक उन्मुक्ति क्षेत्रीय शक्तिका रूपमा उदायो । यही शक्तिका बलमा पार्टी सरकारमा मात्रै पुगेन, सरकारको सिफारिसमा राष्ट्रपतिबाट १५ जेठ ०७९ मा रेशमले आममाफी पाएर कैदमुक्तसमेत भए । 

तर, श्रीमान्–श्रीमतीबिचको शक्ति संघर्षका कारण नागरिक उन्मुक्तिका संस्थापकहरू नै फरक–फरक कित्तामा पुगेका छन् । अध्यक्ष रञ्जिताले नागरिक उन्मुक्तिलाई नेपाली कम्युनिस्ट पार्टीसँग एकीकरण गर्ने सहमति गरिसकेकी छिन् । औपचारिक एकीकरण हुन भने बाँकी छ । रेशमले कबिर सोबको नेतृत्वमा गत २६ कात्तिकमा नागरिक उन्मुक्ति नेपाल नामक अर्को दल दर्ता गराइसकेका छन् । वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, प्रदेश सांसद लक्ष्मणकिशोर चौधरी तथा ठाकुरसिंह थारू, कोमल ज्ञवालीलगायत नेताहरू २१ पुसमा रास्वपातिर लागेका छन् ।

रेशम र रञ्जिता नै एक नदीका दुई किनार हुँदा नेताहरू फरकफरक बाटोमा लागेका छन् । तर, तल्लो तहका नेता÷कार्यकर्ता र समर्थक भने अन्योलमा छन् । कतिपय जनप्रतिनिधिसमेत पर्ख र हेरको अवस्थामा छन् ।थारू लेखक संघका अध्यक्ष कृष्णराज सर्वहारी रेशम र रञ्जिताको व्यक्तिगत महत्वाकांक्षाले नागरिक उन्मुक्ति पार्टी छिन्नभिन्न बनेको बताउँछन् । ‘रेशम चौधरी जेलमा हुँदासम्म नागरिक उन्मुक्ति पार्टी ठिकठाक चलिरहेको थियो । तर, जेलबाट छुटेपछि उनमा शक्तिको महत्वाकांक्षा पलायो । श्रीमतीलाई अध्यक्ष बनेको देखिसक्नुभएन । मन्त्री रहेकी श्रीमतीलाई पावरफूल देख्नु भो । आफैँ अध्यक्ष बनेर शक्तिको अभ्यास गर्न खोज्नुभयो, त्यहीँबाट विवादको बीजारोपण भयो,’ उनी भन्छन्, ‘रञ्जिताले पनि पार्टी जोगाउन कम्प्रमाइज गर्न खोज्नुभएन । पार्टी जोगाउन पद त्याग गर्नुपरे पनि गर्छु भन्ने देखिएन । न मिलाएर लैजान नै सक्नुभयो ।’ 

नागरिक उन्मुक्तिबाट निर्वाचित कैलालीका चार पालिका प्रमुखमध्ये टीकापुर नगरपालिकाका मेयर रामलाल डगौरा खुलेरै पार्टी एकताको पक्षमा देखिएका छन् । ५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सात सांसद रहेको नागरिक उन्मुक्ति चौथो ठुलो हो । कानुनी रूपमा पार्टी त्याग गर्न नमिल्ने भए पनि केही सांसद रेशमको नयाँ दल नागरिक उन्मुक्ति पार्टी नेपाल नजिक देखिएका छन् । प्रदेश सांसद लक्ष्मणकिशोर काठमाडौंमा रास्वपाको पार्टी प्रवेश कार्यक्रमको मञ्चमै थिए । यद्यपि, कानुनी झमेला हुन सक्ने भएकाले पछि उनले पछि रास्वपा प्रवेश नगरेको दाबी गरेका छन् ।

प्रदेश सांसद रामेश्वर चौधरी आफूहरू अहिले माउविनाको चल्लाजस्तै भएको बताउँछन् । ‘हामी अहिले अन्योलमा छौँ । पार्टी समायोजन कसरी हुन्छ, नयाँमा जाँदा हाम्रो हैसियत के हुन्छ हेर्छौँ,’ उनले भने, ‘केन्द्रीय समितिको पनि निर्णय नआएकाले अहिले केही भन्न सक्ने अवस्था छैन ।’ पार्टी गठनमा २१ जना केन्द्रीय सदस्य थिए । उनीहरूमध्येकै दुई नेता आलोक चौधरी र आसिन चौधरी रेशमको पार्टीमा लागेका छन् । ‘पार्टीका नेताहरू तीनतिर लागे । तल्ला तहका नेता/कार्यकर्ता र समर्थकमा अलमल हुनु स्वाभाविक हो,’ नागरिक उन्मुक्ति कैलालीका एक नेताले भने, ‘पार्टीले उठाएको थारूलगायत समुदायको मुद्दा छोड्यो ।

श्रीमान्–श्रीमतीबिचकै झगडाले पार्टी छिन्नभिन्न अवस्थामा पुग्यो ।’ उनका अनुसार दुईजनाको विवादले केही नेता÷कार्यकर्ता पहिले नै निष्क्रिय बनेका थिए । ०७४ को निर्वाचनमा क्षेत्र नम्बर १ बाट रेशम फरार अवस्थामै निर्वाचित भएका थिए । तर, पछि अदालतमा आत्मसमर्पण गरेपछि कारागार चलान भएका उनी सदनमा जान पाएनन् ।

रेशम जेलमुक्त भएसँगै ०८० पुसमा पार्टीको अधिवेशन गराएर आफू अध्यक्ष बनेपछि दुईजनाबिच विवादको सुरुवात भएको थियो । यद्यपि, रेशम नेतृत्वको कार्यसमितिलाई निर्वाचन आयोगले मान्यता दिएन । रेशमले हालै गठन गरेको नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष कबिर सोब विगतमा नागरिक उन्मुक्ति पार्टीमा जोडिएका नेता/कार्यकर्ता र समर्थक अहिले आफूहरूसँग जोडिन थालेको दाबी गर्छन् । 

नाउपा नेपालले विगतमा नाउपा गठन हुँदा उठाएको थारूलगायत पिछडिएको समुदायको मुद्दा लिएर संगठन विस्तार गरिरहेको उनले बताए । नाउपा नेपाल, राष्ट्रिय मुक्ति पार्टी र जसपाले एउटै चुनाव चिह्न लिएर आगामी निर्वाचनमा जाने तयारीमा छन् ।नेता रामलाल डगौरा भने नेकपासँगको एकताले नेता÷कार्यकर्ता उत्साहित रहेको दाबी गर्छन् । जनाधार नभएका एक÷दुई नेता रास्वपातिर जाँदैमा पार्टीलाई कुनै असर नपर्ने उनको भनाइ छ । ‘रेशमप्रति सहानुभूति होला, तर हाम्रा नेता/कार्यकर्ता हामीसँगै छन् । अरूतिर गएका छैनन्,’ डगौराले भने, ‘निर्वाचित सबै जनप्रतिनिधि हामीसँगै हुनुहुन्छ । पार्टीले एकताको संस्थागत निर्णय गरिसकेपछि कानुनी र नैतिक रूपमा पनि जनप्रतिनिधि अन्य पार्टीमा जान मिल्दैन ।’ 

रामेश्वर चौधरी,नाउपाका प्रदेश सांसद
हामी अहिले अन्योलमा छौँ । पार्टी समायोजन कसरी हुन्छ, नयाँमा जाँदा हाम्रो हैसियत के हुन्छ हेर्छौँ । केन्द्रीय समितिको पनि निर्णय नआएकाले अहिले केही भन्न सक्ने अवस्था छैन ।

छातामुनि उपेन्द्र र महन्थ : पार्टीको नाम जसपा नेपाल, चुनाव चिह्न छाता
महन्थ संरक्षक, उपेन्द्र अध्यक्ष४३ सदस्यीय केन्द्रीय समिति गठन

उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल र महन्थ ठाकुर नेतृत्वको लोसपा नेपालबिच पार्टी एकता गर्ने १२ बुँदे सम्झौता भएको छ । सहमतिअनुसार ठाकुर संरक्षक र यादव अध्यक्ष रहने गरी ४३ सदस्यीय केन्द्रीय समन्वय समिति गठन भएको छ ।दुई पार्टीबिच १३ पुसमै पार्टी एकताको सहमति भएको थियो । त्यसलगत्तै उनीहरूले पार्टीको तर्फबाट समानुपातिकतर्फका उम्मेदवारहरूको सूची निर्वाचन आयोगमा पेस गरेका थिए ।

एकीकृत पार्टीको नाम जसपा नेपाल रहनेछ । पार्टी एकता पूरा नभएसम्म केन्द्रीय समन्वय समितिले पार्टी सञ्चालन गर्ने सहमतिपत्रमा उल्लेख छ । पार्टी एकता पूरा नभएसम्म दुवै पार्टीका अन्य संगठन तथा विभागहरू आ–आफ्नो जिम्मेवारीअनुसार समन्वय समितिको मातहतमा रहेर काम गर्ने सहमतिपत्रमा उल्लेख छ । 
 

सुझावित समाचार