नेपाल–भारत सुरक्षा अधिकारीबिच चुनावलक्षित बैठक, शान्तिसुरक्षामा सहकार्य गर्ने सहमति

शुक्रबार, २५ पुष, २०८२
डिजिटल संस्करण

आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनको सुरक्षालाई लक्षित गरेर कैलालीमा नेपाल–भारत सुरक्षा अधिकारीबिच छलफल भएको छ। दुई देशका सीमावर्ती क्षेत्रका उच्च सुरक्षा अधिकारी सहभागी बैठकमा निर्वाचन सुरक्षासँगै सीमा सुरक्षा र अपराध नियन्त्रणका विषयमा छलफल भएको छ।

अपराध नियन्त्रण गरी शान्तिसुरक्षा कायम राख्न सहकार्य गरेर जाने सहमति भएको बैठकमा सहभागी सुरक्षा अधिकारीले बताएका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले चुनावमा शान्तिसुरक्षा कायम गर्ने सन्दर्भमा सीमावर्ती भारतीय क्षेत्रका सुरक्षा नेतृत्वसँग छलफल गरिएको बताए। ‘विशेषगरी प्रतिनिधिसभा चुनावलाई लिएर खुला सिमानाका कारण विभिन्न समस्या हुन सक्छन्, चुनावका वेला नाका सिल गर्नुपर्ने हुन सक्छ,’ उनले भने, ‘त्यस्ता समस्या हुन नदिन आपसी समन्वयलाई थप प्रभावकारी बनाउने सहमति भएको छ।’ सीमा सुरक्षा अधिकारीको बैठक तीन–तीन महिनामा नियमित हुँदै आएकोमा यसपालि चुनावलाई लक्षित गरेर बैठक भएको हो।

प्रमुख जिल्ला अधिकारी रेग्मीले भारतसँग लामो खुला सिमाना रहेकाले चुनावका वेला सीमा क्षेत्रमा हुन सक्ने आपराधिक गतिविधि नियन्त्रण गर्न दुवै देशका सुरक्षा अधिकारीले सूचना आदान–प्रदानजस्ता विषयमा सहकार्यलाई प्रभावकारी बनाउने, समन्वय गर्ने विषयमा बैठकमा छलफल भएको बताए।

कैलालीमा १०१ किलोमिटर र कञ्चनपुरमा १२९.५ किलोमिटर लामो भारतसँगको खुला सिमाना छ। जिल्लास्थित सुरक्षा समितिले कैलाली, कञ्चनपुरमा सीमा क्षेत्रसँग जोडिएका मतदानस्थललाई सुरक्षा संवेदनशीलताका हिसाबले उच्च जोखिमको सूचीमा राखेका छन्।

कैलालीमा २३७ मतदानस्थलमध्ये १०८ वटालाई अतिसंवेदनशील, १०६ वटा संवेदनशील र २३ वटालाई सामान्य भनेर वर्गीकरण गरिएको जिल्ला प्रशासन कार्यालय कैलालीका सूचना अधिकारी शिवराज जोशीले बताए।

जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरका अनुसार कञ्चनपुरमा १३२ वटा मतदानस्थलमध्ये सुरक्षाका हिसाबले ६६ वटालाई अति संवेदनशील र ४० वटालाई संवेदनशीलमा राखिएको छ। लामो खुला सिमानाका कारण निर्वाचनका वेला निर्वाचनलक्षित आपराधिक गतिविधि नियन्त्रण गर्न नेपाली सुरक्षा अधिकारीले भारतीय सुरक्षा अधिकारीसँग समन्वय प्रभावकारी बनाउन आग्रह गरे।

‘दुई देशका सुरक्षा अधिकारीबिच सीमा अपराध नियन्त्रणमा समन्वय सहकार्य हुँदै आएको छ। चुनावका वेला यसलाई अझ प्रभावकारी बनाउन खोजिएको हो,’ रेग्मीले भने। सीमावर्ती भारतीय क्षेत्रमा निर्वाचन हुने वेला पनि दुई देशका अधिकारीबिच बैठक हुने गरेको छ। ‘काउन्टर पार्ट’ बैठकमा कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी मदन कोइराला, दुवै जिल्लास्थित नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख तथा भारतको लखिमपुर खिरीका जिल्ला अधिकारी दुर्गाशान्ति नागपाल, सीमा सुरक्षा बलका प्रमुखलगायत सहभागी थिए।

सुझावित समाचार