रास्वपा प्रवेश गरे नागरिक उन्मुक्तिका प्रदेश सांसद चौधरी

सोमबार, २१ पुष, २०८२
डिजिटल संस्करण
रास्वपा प्रवेश गरे नागरिक उन्मुक्तिका प्रदेश सांसद चौधरी

लक्ष्मणकिशोर चौधरी (बायाँबाट चाैथाे)

सुदूरपश्चिम प्रदेश सभाका सदस्य लक्ष्मणकिशोर चौधरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेका छन्। काठमाडौंमा सोमबार भएको बृहत् राजनीतिक समायोजन घोषणा कार्यक्रममा चौधरी रास्वपा प्रवेश गरेका हुन्। पूर्वमन्त्रीसमेत रहेका चौधरी नागरिक उन्मुक्ति पार्टीका २१ जना संस्थापक सदस्यमध्ये एक हुन्। 

२०७९ को निर्वाचनमा उनी कैलाली क्षेत्र नम्बर १ अन्तर्गत प्रदेश सभा निर्वाचन क्षेत्र २ बाट नागरिक उन्मुक्ति पार्टीबाट विजयी भएका थिए। प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रहेका बेला गत वर्ष विवादित अडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए।  

चौधरीसँगै नागरिक उन्मुक्ति पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित, ठाकुरसिंह थारू, कोमल ज्ञवाली, सुरेन्द्र चौधरी, लक्ष्मण चौधरीलगायत थरुहट-थारुवान पक्षका नेताहरू काठमाडौंमा भएको कार्यक्रममा रास्वपा प्रवेश गरेका छन्। नागरिक उन्मुक्ति पार्टी र नेपाली कम्युनिष्ट पार्टीबिच एकीकरण गर्ने सहमति हालै भएको थियो। नागरिक उन्मुक्तिका अध्यक्ष रञ्जिता श्रेष्ठले नेपाली कम्युनिष्ट पार्टीसँग एकता गर्ने सम्झौता गरेकी छिन्।

सुदूरपश्चिम प्रदेश सभामा नागरिक उन्मुक्तिका सातजना सांसद छन्। आन्तरिक विवादले छिन्नभिन्न रहेको नागरिक उन्मुक्तिबाट निर्वाचित कतिपय स्थानीय तहका जनप्रतिनिधि पनि पछिल्लो समय पार्टीमा सक्रिय छैनन्। नागरिक उन्मुक्तिले कैलालीमा चार पालिकामा प्रमुख र तीन पालिकामा उपप्रमुख जितेको थियो।

अध्यक्ष श्रेष्ठ र उनका पतिसमेत रहेका नागरिक उन्मुक्तिका संरक्षक रेशमलाल चौधरीबिच लामो समयदेखि विवाद थियो। श्रीमती रञ्जितासँगको विवादका कारण रेशमले नागरिक उन्मुक्ति पार्टी नेपाल गठन गरेका थिए। सुदूरपश्चिम सरकारमा सहभागिताको विषयलाई लिएर सुरु भएको विवादले उग्र रुप लिएपछि नागरिक उन्मुक्ति छिन्नभिन्न अवस्थामा पुगेको हो।
 

सुझावित समाचार