पारिलो घाममा मानिस भेला भएका छन् । सबै हँसिला देखिन्छन् । उनीहरू बिदाइको हात हल्लाइरहेका छन् । सबै खुसी देखिन्छन् । तर, भिडमा एकाएक कोलाहल मच्चिन्छ । आतंकको लहर छाउँछ । आतंकित मानिस भाग्ने क्रममा एक–अर्कामाथि टेक्दै अघि बढ्न खोज्छ । एकाएक अनुशासित सैनिक जवान हतियारसहित लयबद्ध रूपमा अगाडि बढिरहेको देखिन्छन् ।
त्यसपछि दर्शकहरूको ध्यान फराकिलो सिँढीको खुड्किलोमा तलतिर भाग्दै गरेको भयभीत भिडतर्फ तानिन्छन्, जुन हेर्दा पीडादायी लाग्छ । त्यहाँ भिडले एकजना बच्चालाई कुल्चेर अघि बढेको देखिन्छ । भर्याङको बिचमै एउटी आमा लड्छिन् । एउटा शिशु रहेको स्टिलको कोक्रो स्वतन्त्र तीव्रगतिमा तल झरिरहेको छ । अचानक एकजना महिलाले लगाइरहेको चस्मामा गोली लागेर झर्याम्म फुट्छ र रगत उनको अनुहारभरि लतपतिन्छ । पीडाले महिला ठुलो मुख बाउँछिन् र आवाजहीन चिच्याउँछिन् ।
यहाँ वर्णन गरिएको दृश्य विश्व फिल्म इतिहासकै सबैभन्दा प्रसिद्धमध्ये एक दृश्य हो, जसलाई ओडेसाको सिँढीमा निहत्था नागरिकहरूको नरसंहार नामले चिनिन्छ । फिल्ममा रुचि राख्नेहरूले सहजै चिन्न यो दृश्य लगभग धेरै उद्धृत हुने सर्गेई आइजेन्स्टाइनको मास्टरपिस ‘ब्याटलसिप पोटेमकिन’को मुख्य दृश्य हो । फिल्म यसै महिना १०० वर्ष पुग्दै छ ।
सिनेमा क्षेत्रको नयाँ मानक
‘ब्याटलसिप पोटेमकिन’ प्रदर्शनमा आएपछि त्यस्तो फिल्म बन्यो, जसले सिनेमा क्षेत्रमा एक नयाँ सीमारेखा खिच्यो, सौन्दर्यात्मक र राजनीतिक दुवै आधारमा । फिल्मले तत्कालीन साम्राज्यकालीन रुसी नौसेनाको कृष्ण सागरमा चल्ने जहाजमा सन् १९०५ मा भएको विद्रोहको कथा भन्छ । त्यस वर्ष रुसमा गहिरो सामाजिक र राजनीतिक अशान्तिले क्रान्तिको रूप लिएको थियो । त्यस क्रान्तिको लहरमा देशैभर उठेका घटनामध्ये चर्चितमध्ये एक थियो, पोटेमकिन जहाजको विद्रोह । सन् १९०५ मा उठेको पहिलो रुसी क्रान्तिका क्रममा गरिबी, निरंकुशता र सैन्य पराजयबाट चरम निराश समाजका मजदुर, किसान र सैनिकहरू उठेका थिए ।
क्रान्तिले जारशाही हटाउन त सकेन तर दबाबमा आएर जारले सीमित सुधार लागू गर्न बाध्य भए । तथापि, क्रान्तिमा माग गरिएकोभन्दा एकदम सामान्य मात्र सुधार लागू भएका थिए । सन् १९०५ को क्रान्तिताका ‘पोटेमकिन’ जहाजमा उठेको ऐतिहासिक विद्रोहको कारक सडेको खाना थियो । आइजेन्स्टाइनले आफ्नो फिल्ममा यस विषयमाथि जोड दिन सडेको मासुमा स्याउँस्याउँती सेतो किरा हिँडिरहेको ‘क्लोजअप’ देखाउँछन् ।
जब नौसैनिक दुर्गन्धित मासु खान अस्वीकार गर्छन्, तिनीहरूमाथि अनुशासन अवज्ञा गरेको आरोप लगाइन्छ । उनीहरूलाई सैन्य अनुशासन तोडेको गम्भीर आरोप लगाउँदै मृत्युदन्ड दिन फायरिङ स्क्वाड्रनअगाडि उभ्याइन्छ । तर, गोली हान्न ल्याइएका सैनिक पनि विद्रोही साथीहरूमाथि गोली चलाउन अस्वीकार गर्छन् । लगत्तै चालक दल पनि विरोधी समूहप्रति ऐक्यबद्धता जनाउँदै अन्तर्राष्ट्रिय ऐक्यबद्धताको रातो झन्डा उठाउँछन् । प्रतीकात्मक रूपमा जहाजको मास्ट (विशाल खम्बा)मा त्यही रंगलाई अंकित गर्छन् ।
विद्रोहमा नेतृत्वदायी भूमिका खेल्ने वाकुलिनचुक नामक एकजना नौसैनिक संघर्षका क्रममा मारिन्छन् । ओडेसाको तटमा पुगेर चालक दलले उनको शवलाई सम्मानका लागि सार्वजनिक स्थानमा राख्छन् । त्यसले सहरमा हलचल पैदा गर्छ । नौसैनिकप्रति समर्थन बढ्दै जान्छ । शीर्ष सैन्य अधिकारीहरूले यस परिस्थितिमा बल प्रयोग गर्ने निर्णय गर्छन् र सेना पठाउँछन् । त्यसपछि ‘ओडेसा सिढी’मा हत्या शृंखला सुरु हुन्छ ।
जवाफमा पोटेमकिन जहाजमा रहेका नौसैनिकहरूले माथिल्ला सैन्य अधिकारी बसिरहेको सहरको ओपेरा हाउसमा तोप चलाउँछन् । लगत्तै, विद्रोही नौसैनिकहरूलाई दबाउन युद्धपोतहरूको एक समूह नै पठाइन्छ । तर, नजिकिँदै गरेको युद्धपोत देखेर विद्रोहीहरू युद्धका लागि तयारी गरिरहँदा आक्रमणका लागि पठाइएका जहाजका सैनिकहरूले विद्रोहीविरुद्ध आक्रमण नगर्ने निर्णय गर्छन् । उल्टो तिनले विद्रोहीप्रति सम्मान प्रकट गर्छन् र उनीहरू सवार पोटेमकिनलाई विनाअवरोध अगाडि बढ्न दिन्छन् । यस बिन्दुमा पुगेपछि आइजेन्स्टाइनले फिल्मको कथालाई ऐतिहासिक तथ्यबाट फरक देखाएका छन् । यथार्थमा सन् १९०५ को जहाज विद्रोहलाई सैन्य रूपमा दमन गरिएको थियो ।
राजनीतिक मिथक–निर्माणमा उत्कृष्ट
सन् १९०५ को क्रान्तिको २०औँ वर्षगाँठका लागि सोभियत सरकारले नै ब्याटलसिप पोटेमकिन निर्माण सुरु गरेको थियो । रुसको नवगठित बोल्सेभिक सरकारले सिनेमालाई आमनागरिकको चेतनालाई आकार दिन सक्ने शक्तिशाली माध्यमको रूपमा हेरेको थियो । त्यतिवेला २७ वर्षमा हिँडिरहेका आइजेन्स्टाइन थिएटर क्षेत्रमा केही प्रभावशाली काम गरेर धेरैको नजरमा परेका थिए । तिनैलाई सोभियत सत्ताको जरोप्रति सम्मान व्यक्त गर्ने फिल्म निर्माणको जिम्मेवारी दिइएको थियो ।
आइजेन्स्टाइनले सुरुमा सन् १९०५ को क्रान्तिमा भएका मुख्यमुख्य घटनाहरूलाई समेटेर धेरै भागको फिल्म निर्माण गर्ने योजना बनाएका थिए । तर, यस्तो योजना साकार पार्न धेरै ठुलो लगानी चाहिने देखियो । आर्थिक सीमाका कारण उनले क्रान्तिका प्रमुख घटनामध्ये एक पोटेमकिनमाथि फिल्म बनाउन सुरु गरे । आइजेन्स्टाइनले यही एउटा घटनामार्फत त्यस समयको उत्पीडन, सामूहिक संघर्ष र क्रान्तिकारीबिचको एकतालाई एक साथ प्रस्तुत गर्न सकिने ठाने । र, फिल्म बनिसक्दा, यो सटिक इतिहासभन्दा बढी राजनीतिक मिथक–निर्माणको उच्चकोटीको माध्यम बनिसकेको थियो ।
फिल्म डिसेम्बर १९२५ मा मस्कोको बोलसोई थिएटरमा प्रदर्शनमा आयो । विशेष शोमा आमन्त्रित दर्शकमा प्रतिष्ठित कम्युनिस्ट नेतादेखि र सन् १९०५ को विद्रोहका भेटरान्ससमेत थिए । प्रदर्शन अवधिभर दर्शकहरूले ताली बजाइरहेका थिए । विशेषत: युद्धपोतमा जहाजी क्रुले रातो झन्डा फहराउँदा सबैभन्दा ठुलो उत्साह देखिएको थियो । त्यस दृश्यका लागि उक्त ‘ब्ल्याक एन्ड ह्वाइट (श्याम–श्वेत)’ फिल्ममा पछि पोतेर रातो रंग देखाइएको थियो ।
कतै वाहवाही, कतै प्रतिबन्ध
प्रदर्शनमा आएपछि ‘ब्याटलसिप पोटेमकिन’ले विश्वभर चर्चा बटुल्यो । फिल्मकर्मी र समीक्षक सबैले यसलाई एक अभूतपूर्व फिल्मका रूपमा प्रशंसा गरे । त्यतिवेला विश्वभर नाम कमाइसकेका हलिउड अभिनेता, निर्माता, पटकथाकार तथा निर्देशक चार्ली चाप्लिनले त यसलाई ‘संसारकै उत्कृष्ट फिल्म’ घोषित गरे । यद्यपि, फिल्मको चर्चा र प्रभावका बिच यसलाई केही देशले राजनीतिक रूपमा खतरा माने । जस्तो, जर्मनीले फिल्मको धेरै भाग काटेर मात्र प्रदर्शन गर्ने छुट दियो भने बेलायतमा फिल्ममाथि पूर्ण प्रतिबन्ध लगाइयो । प्रतिबन्धका बाबजुद यसका गोप्य प्रिन्ट प्रसारित भइरह्यो । यसले फिल्मको प्रतिष्ठा झन् बनाउन सघायो ।
आइजेन्स्टाइनको बढ्दो अन्तर्राष्ट्रिय ख्यातिले उनलाई आफ्नै देशमा भने जोगाउन सकेन । सन् १९२० को दशकको अन्त्य र १९३० को प्रारम्भमा सोभियत संघमा स्टालिनको कठोर नीतिको दबदबा थियो । स्टालिनवादको प्रभावबाट सांस्कृतिककर्मी पनि बच्न सकेनन्, जसको एक सिकार आइजेन्स्टाइन पनि भए ।
त्यस समय आइजेन्स्टाइनको दृष्टिकोण समाजवादी यथार्थवादको नयाँ सौन्दर्यशास्त्रविरुद्ध रहेको घोषणा गरियो । यसका कारणमा आइजेन्स्टाइनको फिल्ममा स्पष्ट कथ्यको अभाव, वीर पात्रहरूको बिगबिगी र अस्पष्ट राजनीतिक सन्देशलाई देखाइयो । आइजेन्स्टाइनले ब्याटलसिप पोटेमकिन बनाउन विकास गरेको फिल्म प्रविधि ‘मोन्टाज’लाई गतिशील र द्वन्द्वात्मक मानियो । तर, उनका फिल्मले समाजवादी यथार्थवादले माग गर्ने सीधा कथावाचन शैली र सामान्यजनले समेत बुझ्न सक्ने नैतिक पाठ नदिइएको आरोप लगाइयो ।
आइजेन्स्टाइनमाथि क्लिष्ट, बोझिलो र तत्कालीन राजनीतिक व्यवस्थाप्रति विश्वसनीय नरहेको आरोप लागेपछि उनका धेरै फिल्म परियोजना बिचमै रोकिए । यहाँसम्म कि उनले बनाइरहेका फिल्मसमेत उनको हातबाट खोसेर अरूको जिम्मा लगाइयो । तथापि, राज्य नै जाइलागेको भए पनि आइजेन्स्टाइनलाई उनको फिल्मले अझै चिनाइरहेको छ । उनको मास्टरपिस ‘ब्याटलसिप पोटेमकिन’ले चित्रण गरेको उत्पीडन, साहस र सामूहिक प्रतिरोधले एक शताब्दीपछि पनि उत्तिनै ऊर्जाशील बनाउँछ । यो लामो विरासत सिनेमा किन महत्वपूर्ण माध्यम हो भन्ने एउटा दरिलो प्रमाण हो ।
(हार्बर्ड युनिभर्सिटी अफ सिड्नीका डिसिप्लिन अफ इंग्लिस एन्ड राइटिङका अध्यापक हावर्डको आलेख
द कन्भर्सेसनबाट श्रवण उप्रेतीले अनुवाद गरेका हुन् ।)