- खालिदा जियाका लागि लोकतन्त्र केवल एक राजनीतिक नारा मात्र नभएर व्यक्तिगत विश्वास र नैतिकता थियो भन्ने व्यवहारले पुष्टि गर्छ
बंगलादेशकी पूर्वप्रधानमन्त्री खालिदा जियाको ८० वर्षको उमेरमा निधन भएको छ । उनी सन् १९९१ मा आफ्नो देशको पहिलो महिला प्रधानमन्त्री बनेकी थिइन् । ‘बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी)’ले लामो समयदेखि बिरामी रहेकी जियाको मृत्युको पुष्टि गरेको थियो । उनलाई कलेजोको सिरोसिस, मधुमेह र छाती तथा मुटुको समस्या रहेको उनको उपचारमा संलग्न डाक्टरहरूले बताएका छन् ।
यसपटक खालिदा जिया सिकिस्त भएर अस्पताल भर्ना भएपछि उनका राजनीतिकविरोधीहरूले समेत उनको स्वास्थ्यलाभको कामना गरेको दुर्लभ घटना देखिएको थियो । अहिले उनको निधनमा सम्पूर्ण देश शोकमा छ । बंगलादेशजस्तो प्रतिद्वन्द्वी राजनीतिज्ञप्रति पारस्परिक सम्मान व्यक्त नहुने देशमा एकजना नेताप्रति दलको राजनीतिक घेरा नाघेर व्यक्त शोक आफैँमा दुर्लभ घटना हो । कोही उनलाई एक सम्झौताहीन नेता भन्छन् । उनको पार्टीभित्र उनलाई लोकतन्त्रको प्रतीक मानिन्छ ।
यस्तोमा बंगलादेशमा बेगम खालिदा जियाको नामले एक सम्पूर्ण युग, एक विशाल संघर्ष र एक अटल संकल्पलाई प्रतिनिधित्व गर्छ । तीनपटककी प्रधानमन्त्री भएर पनि उनले विरोधी दलको शासनमा लामो राजनीतिक दमनको सामना गर्नुपर्यो । आज उनी नहोलिन्, तर उनले यस्तो राजनीतिक विरासत छाडेर गएकी छिन् जुन केवल उनको पार्टी बिएनपीमा सीमित छैन ।
खालिदा जियाको जन्म अगस्ट १५, १९४५ मा दिनाजपुरमा भएको थियो । सामान्य गृहिणीको जीवन बिताइरहेकी जियाको जीवनले तब मोड लियो जब मे ३०, १९८१ मा उनका पति बंगलादेशका राष्ट्रपति जियाउर रहमानको हत्या भयो । राष्ट्रिय सेनाभित्रकै विद्रोही समूहबाट रहमान मारिएपछि खालिदा जिया पार्टीको नेतृत्व लिन घरबाट बाहिर निस्कन बाध्य भइन् ।
राजनीतिमा नवप्रवेशी जियाले सुरुदेखि नै देशको राजनीतिको लामो, अशान्त र द्वन्द्वग्रस्त बाटोमा तानिइन् । उनले सैन्य तानाशाह हुसेन मुहम्मद एर्सादविरुद्ध संघर्ष गरिन् । एर्सादको निरंकुशताको अन्त्य गर्न, जियाले सन् १९८३ मा सातदलीय गठबन्धन बनाउन महत्वपूर्ण भूमिका निभाएकी थिइन् । सन् १९८६ को विवादास्पद र अवैध चुनावमा अर्को प्रमुख दल अवामी लिगले भाग लियो, तर उनले आन्दोलनलाई निरन्तरता दिइन् ।
लोकतन्त्र पुनस्र्थापितका लागि सात वर्ष लामो संघर्षमा उनी सातपटक पक्राउ परिन् । तैपनि उनको आत्मविश्वास र धैर्यता कहिल्यै डगमगाएन । सन् १९९० मा उठेको जनआन्दोलन खासमा जियाको नेतृत्वविना पूर्ण रूपमा सफल हुने थिएन । यस आन्दोलनको सफलतापछि उनले एक सम्झौताहीन अटल नेताको उपाधि पाइन् । र, आन्दोलनपछि भएको निर्वाचनबाट उनी बंगलादेशको पहिलो महिला प्रधानमन्त्री बनेर आइन् ।
तानाशाहीको अन्त्यपछि गठन भएको पहिलो सरकारको काँधमा ध्वस्त अर्थतन्त्र, प्रशासन र राज्यसंस्थाहरूको पुनर्निर्माण गर्नुपर्ने जिम्मेवारी थियो । निश्चित रूपमा उनको सरकारले कैयौँ गल्ती गर्यो, तर उनको शासनकालमा, देशको सार्वभौमसत्ता, स्वतन्त्रता र मर्यादामाथि कहिल्यै प्रश्न उठेन । देश कठिन समयबाट गुज्रियो, तर त्यस अवधिमा बंगलादेशले लोकतन्त्रको रूपमा आफ्नो हैसियत गुमाउने जोखिममा कहिल्यै परेन ।
सन् १९९४ मा भएको मागुरा उपनिर्वाचनमा, विपक्षी अवामी लिगले जियामाथि ठुलो धाँधलीको आरोप लगायो । विपक्षी दलहरूले दलको सरकार हुँदा निष्पक्ष चुनाव सम्भव नहुने भन्दै चुनाव तटस्थ सरकारले मात्र गर्नुपर्ने माग उठाए । जवाफमा खालिदा जियाले भनेकी थिइन् कि पागल र साना बच्चाबाहेक कोही पनि तटस्थ हुन सक्दैन । तर, अवामी लिग, जमात–ए–इस्लामी र अन्य विपक्षी दलहरूको आन्दोलन नै गरेपछि निर्वाचन गराउन सन् १९९६ देखि दलविहीन कामचलाउ सरकार प्रणाली लागू गरियो ।
सन् २००१ मा, बिएनपी–जमातको गठबन्धनले जित हासिल गर्यो र तिनले सरकार बनाए । भ्रष्टाचार, आतंकवादी आक्रमण र अन्य मुद्दाहरूको आरोपमा गठबन्धन सरकार तीव्र दबाबमा पर्यो । अगस्ट २१, २००४ मा शेख हसिना सहभागी राजनीतिक र्यालीमाथि ग्रिनेड आक्रमण हुँदा कैयौँ मारिए । ‘दश ट्रक हतियार भण्डार’जस्ता काण्डले सरकारलाई अत्यन्तै विवादास्पद बनायो । विपक्षीहरूको तत्कालीन सरकारको पालामा बंगलादेश ‘भ्रष्टाचारमा विश्व विजेता’ बनेको आरोप लगाउन थाले ।
२००९ देखि २०२४ बिचमा अवामी लिगको शासनकालमा जियालाई हरेक चरणमा अपमानित गर्ने प्रयास गरियो । यहाँसम्म उनले आफ्नो पतिसँग समय बिताएको घरबाट समेत जबर्जस्ती निकालियो । एकान्त कारावासमा राखियो । जेलमा उनलाई उपचारको आवश्यकता हुँदा उनको चिकित्सा उपचार सम्बन्धमा सरकारले कैयौँ अस्पष्टता सिर्जना गर्यो ।
कोरोना महामारीको अवधिमा जेलमै ज्यान जान सक्ने डरले मात्र सरकारले उनलाई जमानत दिएको थियो । सन् २०२१ मा, उनलाई उपचारका लागि आइसियूमा भर्ना गरिएको थियो । थप उपचार आवश्यकता भएकाले विदेश उपचारमा जान दिन आह्वान गरियो । तर, त्यस्तो आह्वानमा शेख हसिनाले तितो पोख्दै भनिन्, ‘मैले उनलाई घरमा बस्न अनुमति दिएको छु । उनलाई उपचार गर्न अनुमति दिएको छु । त्योभन्दा बढी तिमीलाई अरू के चाहियो ?’
यदि खालिदा जियाले चाहेको भए उनले सम्झौता गर्न सक्थिन् । आफ्नो सुरक्षा सुनिश्चित गर्दै उपचारका लागि विदेश जान सक्थिन् । तर, उनले यी सबै कुरा अस्वीकार गर्दै कठिन मार्ग रोजिन् । जियाले आफ्नो कार्यकालमा प्रतिद्वन्द्वी शेख हसिनाका पिता भए पनि स्वतन्त्र सेनानी शेख मुजिबुर रहमानलाई स्वतन्त्रता पुरस्कारबाट सम्मानित गरेकी थिइन् । तर, उनकै पालामा भने उनीमाथि हसिनाले दुव्र्यवहार गरिन् ।
एक वर्षअघि भएको जुलाई जनविद्रोहपछि शेख हसिना सत्ता र देश छाडेर भाग्नुपरेपछि बंगलादेशका राष्ट्रपतिले ‘जिया अनाथालय ट्रस्ट मुद्दा’मा खालिदा जियालाई माफी दिएका थिए । तर, जियाका वकिलहरूले यस्तो माफी अस्वीकार गर्दै बरु अपिल सुनुवाइको माग गरे । तिनका अनुसार राज्यप्रमुखले ‘माफी’ दिइने भनेपछि जियाले अपराध गरेको देखिन्थ्यो ।
अहिले जियाको निधनसँगै देशले एउटा युगको अवसान भएको महसुस गरेको छ । तानाशाहीविरुद्धको संघर्षमा एक बुलन्द आवाज अब सुनिनेछैन । खालिदा जियाले खासमा जिउँदो हुँदा पाउनुपर्ने पूर्ण सम्मान पाएकी थिइनन् । तर, सायद इतिहासले सम्झिनेछ । समयको अदालतमा खालिदा जिया सधैँ एक सम्झौता नगर्ने नेताको रूपमा सम्झना गरिनेछिन् । हुन पनि व्यवहारले खालिदा जियाका लागि लोकतन्त्र केवल एक राजनीतिक नारा मात्र नभएर व्यक्तिगत विश्वास र नैतिकता रहेको देखाउँछ ।
लेखक बंगलादेशी खोज पत्रकार तथा राजनीति विश्लेषक हुन् ।
–द इन्स्क्रिप्टबाट