बाराको सिम्रौनगढ नगरपालिका– ३ स्थित ब्रह्मस्थानमा लागुऔषध गाँजासहित दुईजना व्यक्तिसहित उनीहरू सवार मोटरसाइकललाई प्रहरीले नियन्त्रणमा लिएको छ। मंगलबार राति करिब ८:१५ बजेको समयमा रामनगरबाट डाटगाउँतर्फ ना.५४प ६१८६ नम्बरको मोटरसाइकलमा लागुऔषध गाँजा ओसारपसार भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ तथा मातहतका निकायको संयुक्त टोलीले चेकजाँच गरेको थियो। चेकजाँचका क्रममा प्रहरीले प्लास्टिकका दुईवटा पोकाभित्र लुकाएर राखिएको १० केजी लागुऔषध गाँजा फेला पारेको इलाका प्रहरी कार्यालय सिम्रौनगढका प्रमुख तथा प्रहरी निरीक्षक कृष्णदेवप्रसाद साहले जानकारी दिए।
प्रहरीले गाँजा, प्रयोग गरिएको मोटरसाइकलसहित दुईजनालाई नियन्त्रणमा लिई आवश्यक कानुनी कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ। पक्राउ पर्नेमा बाराको पचरौता नगरपालिका– ३, रामनगरनिवासी जोगिन्द्र महतो कोइरीका छोरा ३३ वर्षीय राजकुमार कुसवाहा र सोही स्थानका अशोक पटेलका छोरा २८ वर्षीय पुनदेव पटेल रहेका छन्।
इलाका प्रहरी कार्यालय सिम्रौनगढका अनुसार पछिल्लो समय सिम्रौनगढ प्रहरीले सीमावर्ती क्षेत्रबाट ठुलो मात्रमा लागुऔषध, अवैध सामग्री तथा ओसारपसारमा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिन सफल भएको छ भने सीमावर्ती क्षेत्रमा लागुऔषध तथा अवैध सामग्रीको ओसारपसार बढ्दै गएकाले नेपाल–भारत सीमा क्षेत्रमा आवतजावत गर्ने सवारीसाधन तथा व्यक्तिमाथि कडाइका साथ चेकजाँच गरिएको छ। कुनै पनि शंकास्पद सवारी तथा गतिविधिमा विशेष निगरानी राखिँदै आएको प्रहरी निरीक्षक साहले बताए।
उनका अनुसार शान्ति–सुरक्षा कायम राख्न तथा अवैध गतिविधि नियन्त्रण गर्ने उद्देश्यले सीमावर्ती क्षेत्रमा विशेष अपरेसन सञ्चालन भइरहेको छ। प्रहरीले घटनास्थलमै प्रारम्भिक अनुसन्धान तथा आवश्यक प्रमाण संकलन गरिसकेको जनाएको छ भने यस घटनासँग सम्बन्धित सम्भावित तस्कर समूहको खोजतलासलाई समेत तीव्र बनाइएको छ।
सीमावर्ती क्षेत्रमा बारम्बार तस्करीका घटना दोहोरिन थालेपछि गस्ती र निगरानी अझ कडा बनाइएको सिम्रौनगढ प्रहरीले जनाएको छ। लागुऔषध तथा अवैध कारोबारमुक्त सीमावर्ती क्षेत्र निर्माण गर्ने लक्ष्यसहित अन्य सम्भावित तस्करी मार्गहरूमा समेत आकस्मिक चेकजाँच निरन्तर जारी रहने प्रहरीले स्पष्ट पारेको छ।