नेकपा एमाले कञ्चनपुर जिल्ला कमिटीले सिफारिस गरेका उम्मेदवारभन्दा बाहिरबाटै समानुपातिक उम्मेदवारको सूची पार्टीले निर्वाचन आयोगमा बुझाएको छ। एमाले कञ्चनपुरले जिल्लाबाट सिफारिस गरेका समानुपातिक उम्मेदवारभन्दा बाहिरबाटै पार्टीले निर्वाचन आयोगमा सूची बुझाएको हो। आगामी २१ फागुन ०८२ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमाले जिल्लाबाट सिफारिस गरेका नामभन्दा बाहिरबाट नाम परेपछि बबन्डर मच्चिएको छ। चुनाव हुन नसक्ने, चुनावकाे विरोधमा रहेको एमालेले सोमबार मध्यरातमा समानुपातिक उम्मेदवारको नाम निर्वाचन आयोगमा बुझाएको हो।
एमाले केन्द्रले बुझाएकाे उक्त बन्दसूचीमा जिल्लाबाट पठाएका कुनै पनि उम्मेदवारकाे नाम सिफारिसमा नपरेपछि जिल्लामा बबन्डर मच्चिएको छ। पार्टीले यसअघि सांसद भएका, पूर्वमन्त्रीको नाम सिफारिस नगर्न मापदण्ड तय गरेर नाम पठाउन सर्कुलर जारी गरेको थियो, तर जिल्लाले सिफारिस गरेका उम्मेदवारको लिस्ट रद्दीको टोकरीमा राख्दै यसअघि सांसद भइरहेका निरुदेवी पाल र कृपाराम रानालाई बन्द सूचीमा राखेपछि एमालेभित्र विवाद चुलिएको छ।
राना ०७० मा सम्पन्न भएको दोस्रो संविधानसभा सदस्य निर्वाचनबाट समानुपातिक सांसद र पाल ०७४ मा प्रतिनिधिसभा सदस्य निर्वाचनबाट समानुपातिक सांसद भइसकेका थिए। ०७९ मा सम्पन्न भएको प्रदेश तथा प्रतिनिधिसभा सदस्य निर्वाचनमा राना क्षेत्र २(ख) र पाल क्षेत्र ३ बाट प्रतिनिधिसभा सदस्यकी उम्मेदवार हुन्। पाल ०६५ मा पनि सम्पन्न भएको पहिलो संविधानसभा सदस्य उपनिर्वाचन तत्कालीन क्षेत्र ४ बाटसमेत उम्मेदवार थिइन्।
एमाले युवा जेन–जी पुस्ताले वर्तमान जनादेशको मर्म र भावनाविपरीत यसअघि सांसद भइसकेका व्यक्तिलाई नै अवसर दिएको भन्दै चरम असन्तुष्टि व्यक्त गरिरहेका छन्। पटक–पटक सांसदको टिकट पाएका समानुपातिक सांसद भएका नेता पुन: दोहोरिएका भन्दै एमाले युवा जेन–जी पुस्ताले असन्तुष्टि पोखिरहेका हुन् । उनीहरू समानुपातिकतर्फ जान चाहेको भए जिल्लाबाट सिफारिस भए राम्रो हुने नेता–कार्यकर्ताहरूको सुझाव छ ।