सञ्चालनमा आयो दुई सय बेडको बाल अस्पताल

सरकारी शुल्कमै बालबालिकाको जटिल रोगको उपचार, कान्ति बाल अस्पतालको भिड घट्ने अपेक्षा

मंगलबार, १५ पुष, २०८२
डिजिटल संस्करण

वरिष्ठ मुटुरोग विशेषज्ञ डा. भगवान कोइरालाको नेतृत्वमा बाल अस्पताल सञ्चालनमा आएको छ । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका– ७ मा दुई सय शय्याको काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) सञ्चालनमा आएको हो ।

आइतबारदेखि ओपिडी सेवा सुरु गरेको अस्पताल सामुदायिक अस्पतालमा रूपमा छ । सरकार, विभिन्न संघसंस्था, दातृनिकाय, समुदायलगायतको आर्थिक सहायतामा सञ्चालनमा आएको अस्पतालले कान्ति बाल अस्पतालकै शुल्कमा उपचार सेवा दिन थालेको छ । अस्पतालले ओपिडी टिकटमा नयाँ बिरामीलाई दुई सय र पुरानोलाई एक सय रुपैयाँ शुल्क तोकेको छ । अन्य ल्याब तथा जाँचमा पनि कान्तिमा भन्दा सस्तोमा सेवाप्रवाह गर्ने अस्पतालको दाबी छ । 

अस्पतालले दैनिक बिहान १० देखि ४ बजेसम्म ओपिडी सेवा सञ्चालन गरेको छ । बिरामीको भिड बढ्दै गएमा समय थप गरिनेछ । ‘अस्पताल खोलिनुको मुख्य कारण सबै किसिमका बालरोगहरूको एकै छानामुनि उपचार होस्, अभिभावक बालबालिकाको उपचार नपाएर भौतारिन नपरोस् भन्ने नै हो,’ संस्थापक डा. भगवान कोइरालाले भने, ‘हाम्रो उद्देश्य भनेको नसक्नेलाई पनि राम्रो उपचार सेवा दिनुपर्छ, काठमाडौंमा केन्द्रीय अस्पताल र त्यसको पहुँच काठमाडौंबाहिर पुर्याउनुपर्छ भन्ने हो । त्यसका लागि काठमाडौंबाहिर स्याटेलाइट सेन्टर स्थापना हुन्छ । मोफसलमा बालबालिकाको उपचार सेवा निकै कमजोर छ, त्यसलाई सहज पार्न हामीले यो अवधारणा ल्याएका हौँ ।’ उपत्यकाबाहिर सबैजसो प्रदेशमा ५० देखि सय शय्याको अस्पताल निर्माण हुनेछ । अस्पतालमा एनआइसियू बेड संख्या २८ र पिआइसियू बेड संख्या सातवटा छन् । पहिलो चरणमा सीमित बेडहरू सञ्चालनमा ल्याए पनि बिरामी संख्या बढ्नेबित्तिकै ६० बेडमा पुर्याइनेछ । तीनवटा ब्लक रहेको अस्पतालले पहिलो चरणमा दुई सय बेड सञ्चालन गरेको छ । थप दुई सय बेडका लागि स्पेस तयार रहेकाले बेड संख्या चार सय पुर्याइने भएको छ । बिरामीको संख्या बढेपछि आवश्यक उपकरण र पूर्वाधार जडान गरिनेछ । अस्पतालले एक्स–रे, इसिजी, इको, अल्ट्रासाउन्ड र प्रयोगशाला परीक्षणसहित बाल परामर्श सेवाप्रवाह गर्नेछ । डा. कोइरालाको नेतृत्वमै दमकमा पनि यस्तै प्रकारको अस्पताल गर्त वर्षदेखि सञ्चालनमा आइसकेको छ । त्यहाँ पनि सरकारीसरह शुल्कमै उपचार सेवा दिने गरिएको छ । 

एक अर्बका उपकरण 
भवनको तीनवटा ब्लकमध्ये एउटा ब्लकको फिनिसिङ जारी छ । सो काम सक्दासम्म भौतिक संरचना निर्माणमा मात्रै एक अर्ब ७५ करोड खर्च हुने अस्पतालले जनाएको छ । त्यसबाहेक अस्पतालले एक अर्बको उपकरण खरिद गरेको छ । अस्पताल निर्माणमा सहयोग गर्न पाँच वर्षअघिदेखि नै कोइरालाले सरकार, विभिन्न संघसंस्था, दातृ निकाय र समुदायस्तरलाई आह्वान गरेका थिए । उनले अवधारणापत्र पाँच वर्षअघि नै स्वास्थ्य मन्त्रालय र मन्त्रिपरिषद्मा बुझाएका थिए । सो आधारमा सरकारले सामुदायिक अस्पतालका रूपमा खोल्न लागिएको भन्दै सहयोग थालेको थियो । चालू वर्ष मात्रै सरकारले सबै गरेर १० करोड छुट्याएको थियो । 

अस्पतालका प्रमुख सञ्चालन अधिकृत दीपेन्द्र खड्काका अनुसार कान्तिमा उपलब्ध नहुने उपचार सेवासमेत अस्पतालले प्रवाह गर्न थालेको छ । बाल मुटु, न्युरो तथा अन्य दुर्लभ बाल रोगहरूसँग सम्बन्धित विशेष चिकित्सकसहितको सेवा दिन थालिएको खड्काले बताए । ‘यो अस्पताल खोल्नुको मुख्य कारण सस्तोमा बहुविशिष्टीकृत उपचार सेवा दिनुपर्छ भन्ने हो । यहाँ र कान्तिमा शुल्कमा करिब–करिब उस्तै हुन्छ, अझ हामीकहाँ सस्तो होला भन्ने लाग्छ,’ उनले भने, ‘कान्तिमा हुने बिरामीको भिड घटाउँछौँ ।’ 

उपचारलाई बिमामा समेटिने 
झापाको दमकमा खोलिएको बाल अस्पतालमा बिमा कार्यक्रम लागू भइसकेको छ । यहाँ पनि बिमा कार्यक्रम लागू गरिनेछ । अस्पतालले स्वास्थ्य बिमा बोर्डसँग समन्वय थालेको छ । सबै प्रकारका बिरामी आउने भएकाले बिरामीको सहजताका लागि बिमा कार्यक्रम सुरु हुने अस्पतालका प्रमुख सञ्चालन अधिकृत दीपेन्द्र खड्काले बताए । 

See More On

सुझावित समाचार