जिल्ला न्यायाधीशको नतिजा प्रकाशित, पहिलो नम्बरमा अधिवक्ता यादव

सोमबार, १४ पुष, २०८२
डिजिटल संस्करण
जिल्ला न्यायाधीशको नतिजा प्रकाशित, पहिलो नम्बरमा अधिवक्ता यादव

पहिलो नम्बरमा नाम निकाल्ने शिशिरकुमार यादब

न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदको लागि लिएको परीक्षाको अन्तिम नतिजा सार्वजनिक गरेको छ। २१ पदका लागि भएको परीक्षामा २० जना उत्तीर्ण भएका छन्। 

पहिलो नम्बरमा अधिवक्ता शिशिरकुमार यादव सिफारिस भएका छन्। जिल्ला न्यायाधीशको परीक्षामा पहिलोपटक अधिवक्ताले नाम निकालेका हुन्। अमेरिकामा अध्ययन गरेर फर्किएका यादवले लिखिततर्फ खुला र मधेशी कोटा दुवैमा नाम निकालेका थिए। अन्तिम नतिजामा उनी खुलातर्फ सिफारिस भएका छन्। मधेशी कोटामा उनले मात्र उत्तीर्ण गरेका थिए। अन्तर्वार्तापछि उनी खुलाकै १ नम्बरमा सिफारिस भएपछि मधेशी कोटाको एक सिट खाली हुन गएको हो। जसकारण २१ मध्ये २० पदमा मात्र सिफारिस भएको छ। 

सिफारिसमध्ये न्याय सेवाकै धेरै उत्तीर्ण भएका छन्। कानुन समूहबाट डिल्लीप्रसाद आचार्य मात्र सिफारिस भएका छन्। सरकारी वकिल समूहबाट तीनजना सिफारिस भएका छन्। १५ जना न्याय समूहका छन्। 

विगतमा जिल्ला न्यायाधीशको परीक्षामा मागभन्दा न्यून मात्र उत्तीर्ण हुनेमा यसपटकदेखि उत्तीर्ण प्राप्तांकलाई ५० बाट ४० नम्बरमा घटाएपछि धेरै उत्तीर्ण भएका हुन्। 

२१ पदका लागि गरिएको विज्ञापनमा २७ जनाको नाम अन्तरवार्तापछि अन्तिम सूची तयार गरिएको हो । आन्तरिक खुलामा ११, खुलामा ६, महिला र आदिवासी जनजातिमा एक एक जनाको नाम समावेश छ । योग्यताक्रममा शिशिर कुमार यादव, शिवप्रसाद आचार्य, ताराप्रसाद डाँगी, हिरालाल भुसाल, डिल्लीप्रसाद आचार्य र गोपाल बहादुर भट्टराई छन् । अन्तिम सूचीमा सुमन पाण्डे, ठाकुरप्रसाद बस्ताकोटी, विकास बस्नेत, इन्दिरा कार्की, बाबुराम भट्टराई, टेकराज भुसाल र गोकुल पन्तको नाम समावेश छ । यसैगरी, विरेन्द्रप्रकाश खड्का, महेन्द्रप्रसाद पौड्याल, वासुदेव पाण्डे, ललित सापकोटा, खेमकुमारी बस्नेत, कर्णबहादुर राई र हिरामाया अवालको नाम रहनेगरी सिफारिस गरिएको हो ।

यस्तो छ अन्तिम नतिजाः 

सुझावित समाचार