अलपत्र कमला पुलको निर्माण अघि बढ्यो

आइतबार, १३ पुष, २०८२
डिजिटल संस्करण
  • पप्पुले अलपत्र पारेको पुल ठेक्का साझेदार लुम्बिनीले अघि बढायो, चैतभित्र सञ्चालनमा ल्याउने लक्ष्य

ठेक्का सम्झौता भएको १४ वर्ष बित्दासमेत निर्माण हुन नसकेको हुलाकी राजमार्गअन्तर्गत सिराहा र धनुषा सिमानामा पर्ने कमला नदीमा निर्माणाधीन कमला पुलको बाँकी काम सुरु भएको छ ।

आगामी चैतभित्र पुल निर्माण सम्पन्न गरी यातायात सञ्चालन गर्ने कार्यतालिकासाथ काम भइरहेको निर्माण व्यवसायीले बताएका छन् । निर्माण व्यवयासीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडेलमा ठेक्का सम्झौता भएको कमला पुलको लम्बाइ चार सय ६९ मिटर रहेको छ । पम्पु–लुम्बिनी जेभीले यसको काम गरिरहेको छ । 

तराई–मधेशको लाइफलाइन मानिएको कमला पुल निर्माणका लागि ०६८ को जेठमा २४ करोड ९१ लाख (भ्याटसहित)मा पप्पु–लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौताबमोजिम पुल निर्माण ०७१ को मंसिरमा सम्पन्न हुनुपर्ने थियो ।

तर, पटक–पटक म्याद थप गर्दा पनि काम भएको छैन । तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि सातौँपटक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो ।

निर्माण व्यवसायीबाट आगामी असारसम्मका लागि म्याद थपका लागि प्रस्ताव पेस भएको छ । हाल ठेक्काको म्याद थपको प्रक्रियामा रहेको छ । हालसम्म २० करोड ४३ लाख (भ्याट)सहित भुक्तानी भइसकेको छ । 
 

सुझावित समाचार