१७ वर्ष लामो निर्वासनपछि फर्किए बंगलादेशका भावी प्रधानमन्त्रीका रूपमा हेरिएका रहमान

शुक्रबार, ११ पुष, २०८२
डिजिटल संस्करण

१७ वर्ष लामो निर्वासनपछि अन्तत: ‘बंगलादेश नेसनालिस्ट पार्र्टी (बिएनपी)’का नेता तथा बंगलादेशका भावी प्रधानमन्त्रीका प्रबल दाबेदार तारिक रहमान बिहीबार ढाका फर्किए । रहमानलाई उनका पार्टीका हजारौँ समर्थकले भव्य स्वागत गरेका थिए । बिहीबार आफ्नी श्रीमती जुबैदा र छोरी जैमासँगै रहमान ढाकाको हजरत साहजलाल अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका थिए ।

सांकेतिक रूपमा भूमि टेकेको संकेत दिन रहमान विमानस्थलबाहिर खाली खुट्टा आएका थिए । उनको सुरक्षामा ठुलो संख्यामा सुरक्षाकर्मीको उपस्थिति देखिन्थ्यो । देश अहिले राजनीतिको एक संगीन मोडमा रहेको समयमा रहमान स्वदेश फर्किएका हुन् । यसले बिएनपी नेता कार्यकर्तालाई उत्साहित बनाउने आशा गरिएको छ । सुरक्षा चुनौतीका कारण देश फर्किन नपाएकाले रहमानले आफ्नी बिरामी आमालाई समेत भेट्न पाएका थिएनन् । उनकी आमा पूर्वप्रधानमन्त्री खालिदा जिया नोभेम्बर २३ देखि गम्भीर अवस्थामा अस्पतालमा भर्ना छिन् ।

बंगलादेशमा गत वर्ष विद्यार्थी नेतृत्वमा उठेको विद्रोहले तत्कालीन प्रधानमन्त्री सेख हसिना पदच्युत गरेदेखि नोबेल पुरस्कार विजेता मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकारले शासन गरिरहेको छ । युनुस सरकारले आगामी वर्ष फेब्रुअरी १२ मा आमनिर्वाचनको घोषणा गरेको छ । युनुसले पटक–पटक चुनावपछि शान्तिपूर्ण रूपमा निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताउँदै आएका छन् । अबामी लिगमाथि प्रतिबन्ध लागेको अवस्थामा हाल बंगलादेशको सबैभन्दा ठुलो राजनीतिक दल बिएनपीका नेताको रूपमा रहमानले चाँडै नै राष्ट्रको बागडोर सम्हाल्न सक्नेछन् । यस्तोमा धेरैले उनको विगत र व्यक्तित्वमाथि चासो राखिरहेका छन् । 

को हुन् रहमान ?
६० वर्षीय रहमान बंगलादेशका पूर्वराष्ट्रपति जियाउर रहमान र सन् १९९१ मा देशको पहिलो महिला प्रधानमन्त्री बनेकी खालिदा जियाका जेठा छोरा हुन् । रहमान सन् २००८ देखि निरन्तर लन्डनमा बस्दै आएका थिए । सन् २०१८ देखि बिएनपीका कार्यवाहक अध्यक्ष रहेका रहमानले प्रवासबाटै पार्टीको नेतृत्व गर्दै आएका छन् । आफ्नी बिरामी आमा जियालाई उनकी राजनीतिक प्रतिद्वन्द्वी तथा तत्कालीन प्रधानमन्त्री सेख हसिनाको शासनकालमा जेल हालिएको थियो ।

सन् २००१ देखि २००६ सम्म आफ्नी आमाको दोस्रो शासनकालमा भने रहमान एक प्रभावशाली व्यक्तित्व मानिन्थे । उनले आमाको शासनको आडमा पर्दापछाडि रहेर नातावाद, भ्रष्टाचार र राजनीतिक हिंसालाई प्रश्रय दिएको आरोप लाग्ने गर्छ । जिया पदच्युत भएपछि सन् २००६ र २००९ बिच कायम सैन्य समर्थित कामचलाउ सरकारले ती आरोपमाथि अनुसन्धानसमेत गरेको थियो । यसै आरोप सम्बन्धमा मार्च २००७ मा उनलाई सेनाका एकाइले पक्राउ गरेका थिए । महिनौँपछि उनी जमानतमा रिहा भए । त्यसपछि लगत्तै उनी उपचारका लागि भन्दै बेलायत उडे र १७ वर्षसम्म त्यहीँ रहे । बिएनपीले आफ्ना नेतामाथि लगाइएका सबै आरोप राजनीतिक पूर्वाग्राहबाट प्रेरित भएको भन्दै प्रतिरक्षा गर्ने गर्छ ।

तर, रहमानमाथि भ्रष्टाचारको आरोप लगाउनेमा उनका राजनीतिकविरोधी मात्रै सीमित छैनन् । जस्तो, सन् २०११ मा विकिलिक्सले लिक गरेको अमेरिकी कूटनीतिक केबलमा रहमानको पनि नाम देखा परेको थियो । एक केबलमा अमेरिकी कूटनीतिज्ञ जेम्स एफ. मोरियार्टीले प्रधानमन्त्रीका छोरा ‘अति–भ्रष्ट सरकार र हिंसात्मक राजनीति’को प्रतीक नै भएको बताएका छन् । बंगलादेशबाट बाहिरिएपछि संयुक्त राज्य अमेरिकामा उनको प्रवेश रोक्न सिफारिस गर्दै ढाकास्थित अमेरिकी दूतावासले लेखेको पत्रमा उनका बारेमा भनिएको छ, ‘छोटकरीमा, बंगलादेशमा धेरै गलत कामका लागि तारिक र उनका साथीलाई दोषी ठहर्याउन सकिन्छ ।’ 

अवामी लिगको सरकार बनेपछि उनलाई सम्पत्ति शुद्धीकरण, धोखाधडी र राजनीतिक हिंसाको आरोपमा दोषी ठहर गरियो । उनीमाथि लागेको आरोपमा सन् २००४ मा हसिनाको राजनीतिक र्यालीमा ग्रेनेड आक्रमणसमेत सामेल थियो, जुन घटनामा कम्तीमा २० जनाको मृत्यु भएको थियो । तर, अगस्ट २०२४ को विद्रोहपछि हसिना सत्ताच्युत भएसँगै रहमानविरुद्ध लागेका सबै आरोप र सजाय प्राय: उल्टिए वा उनी निर्दोष ठहरिए । यसैले उनको ढाका फिर्ती सहज बनाएको थियो । 

सन् २००९ मा आठ वर्ष विपक्षमा रहेर हसिना सत्तामा फर्किएपछि जियाको बिएनपीविरुद्ध राजनीतिक दमन सुरु भएको थियो । त्यसवेला धेरै बिएनपी नेता र कार्यकर्तालाई झुटा मुद्दा लगाइयो । कैयौँले कमजोर मुद्दामा जेल सजाय भोग्नुपर्यो । रहमान भने २००७–०८ को आपत्कालीन शासनकालमा लगभग १८ महिना हिरासतमा रहेर जमानतमा छुटेलगत्तै बेलायत उडेकाले कारबाहीबाट बच्न सफल भएका थिए ।

रहमानको फिर्तीले पार्ने असर 
रहमानको फिर्तीको पहिलो खुट्किलो हसिनाको बहिर्गमन रह्यो । सन् २००९ को जितपछि हसिनाले लगातार २०१४, २०१८ र २०२४ मा आम निर्वाचन जितिन् । बिएनपीलाई शत्रुसरह व्यवहार गर्ने, डेढ दशक कठोर शासन गरेकी हसिनाले गत वर्ष लोकप्रिय, विद्यार्थी नेतृत्वको विद्रोहको सामना गर्नुपर्यो । प्रदर्शनकारीमाथि सुरक्षा बलको क्रूर दमनले पनि उनको शासन जोगाउन सकेन । सेनाको समर्थन गुमाएपछि उनी अगस्ट ५, २०२४ मा हेलिकोप्टरबाट भारत भागिन् । संयुक्त राष्ट्र संघका अनुसार आन्दोलनमा भएको दमनमा एक हजार ४०० जनासम्म मारिएका थिए ।

हसिनापछि सरकारको नेतृत्व गरिरहेका अन्तरिम सरकार प्रमुख युनुसले जुनमा लन्डनको भ्रमणका क्रममा रहमानलाई भेटेका थिए । भेटमा युनुसले रहमानलाई देश फर्किन आग्रह गरेका थिए । 

केही विश्लेषकले रहमानको फिर्तीपछि बिएनपी थप आत्मविश्वासका साथ चुनावमा होमिने बताएका छन् । विशेषत: अवामी लिगमाथि प्रतिबन्ध लागेपछि बंगलादेशमा अहिले धर्मनिरपेक्ष, उदारवाद, मध्यमार्गलाई विचार राख्ने मतदातालाई प्रतिनिधित्व गर्ने बलियो दल छैन । विगतमा मध्य–दक्षिणपन्थी रहेको बिएनपीले यी मतादातालाई पनि समेट्न आफ्नो विचार फराकिलो बनाउने आशा गरिएको छ । विशेषत: देशका सबैभन्दा ठुला इस्लामवादी शक्ति जमात–ए–इस्लामीसँग बिएनपीको बढ्दो मतभिन्नताले पनि त्यस्तो आवश्यकता बढाएको छ ।

मतसर्वेक्षणले आगामी चुनावमा बिएनपीले बहुमत प्राप्त गर्ने देखाउँछ । त्यसो भए दुई दशकपछि सो सरकारमा फर्कनेछ । अमेरिकी गैरनाफामुखी संस्था ‘इन्टरनेसनल रिपब्लिकन इन्स्टिच्युट (आइआरआई)ले डिसेम्बरमा गरेको सर्वेक्षणले बिएनपीले ३० प्रतिशत समर्थन पाएर पहिलो हुने देखाएको थियो । त्यस्तै २६ प्रतिशत मतका साथ जमात–ए–इस्लामीले उसलाई पछ्याइरहेको थियो ।

विद्रोहपछि विद्यार्थी नेताको एउटा गुटले बनाएको ‘नेसनल सिटिजन पार्टी (एनसिपी)’ कमजोर संगठन र सीमित कोषका कारण चुनावी शक्ति बन्न संघर्ष गरिरहेको छ । आइआरआई पोलमा पार्टी ६ प्रतिशत मतसहित बिएनपीभन्दा धेरै पछाडि देखिन्छ । हसिनाको अवामी लिगलाई चुनावमा भाग लिनबाट प्रतिबन्ध लागेको अवस्थामा रहमानको बिएनपीलाई सहज अवस्था देखिन्छ । 

विश्लेषकका अनुसार विगत १७ वर्षको अवधिमा राज्य संयन्त्रबाट भएको दमनबिच बिएनपीले ठुलो लचिलोपन प्रदर्शन गर्यो । आफ्ना मताधार गुमाएन र नयाँ जनताको समर्थन प्राप्त गर्यो । अब भावी प्रधानमन्त्री ठानिएका रहमानले आफ्नै राजनीतिक विरासतको भार पनि सामना गर्नुपर्नेछ । रहमानको मुख्य चुनौती उनको निर्वासनकालभरि उनको साथ नछाडेका सानो कोर समूह र आफ्नी आमाले तयार पारेकी विशाल पार्टी संयन्त्रसँग जोड्नु देखिन्छ । 

स्वतन्त्र पत्रकार शर्मा मानव अधिकार, समाज र प्रविधिबारे कलम चलाउँछन् । 
– अलजजिराबाट

See More On

सुझावित समाचार