रास्वपाकी कोषाध्यक्षद्वारा चुनावी एजेन्डा सार्वजनिक

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण

२१ फागुनमा घोषित प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक उम्मेदवारकी दाबेदार रहेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की कोषाध्यक्ष लिमा अधिकारीले चुनावी एजेन्डा सार्वजनिक गरेकी छिन् । रास्वपाको खस–आर्य समूहबाट समानुपातिक उम्मेदवारकी आकांक्षी उनले आफ्ना मुख्य एजेन्डा र योजना सार्वजनिक गरेकी हुन्। 

सामाजिक न्याय, युवा स्वरोजगार र महिला सशक्तीकरणका एजेन्डालाई लिमाले आफ्नो प्रतिबद्धतापत्रमा प्राथमिकतामा राखेकी छिन् । ‘वैकल्पिक राजनीतिमार्फत जनप्रतिनिधित्व, जनताका समस्या र आवश्यकतालाई सदनसम्म पुर्याउने र समाजका आवाजविहीन वर्गको आवाज बुलन्द गर्ने मेराे पहिलो ध्येय हुनेछ,’ उनले भनिन्, ‘समावेशी समाज निर्माणमा एक न्यायपूर्ण र समावेशी समाज निर्माणका लागि नीतिगत तहमा रहेर प्रभावकारी भूमिका खेल्ने प्रतिबद्धता मेरो छ ।’ 

लोककल्याणकारी राज्य निर्माण तथा राज्यलाई नागरिकको हितमा केन्द्रित गराउन र लोककल्याणकारी अवधारणा कार्यान्वयन गर्न सक्रिय भूमिका खेल्ने पनि उनको प्रतिबद्धता छ । अधिकारीले ‘युवालाई मन परेको काम, गोजीमा दाम, गाउँ–ठाउँमा नाम’ भन्ने मूल नारासहित युवाहरूलाई स्वदेशमै अवसर सिर्जना गर्ने विषयलाई पनि एजेन्डामा समावेश गरेकी छिन् । यस्तै, सामाजिक र आर्थिक उत्थानमार्फत महिला सशक्तीकरण विशेष अभियान सञ्चालन गर्ने उनको लक्ष्य छ । 

रास्वपाले आफ्ना ठुलोबुबा पूर्वप्रधानमन्त्री मनमोहन अधिकारी र बुबा पूर्वअर्थमन्त्री भरतमोहन अधिकारीको सामाजिक उत्तरदायित्वसहितको राजनीतिक एजेन्डा अघि सारेको भन्दै उनले पार्टीमार्फत बाँकी कार्यभार पूरा गर्न चाहेको बताइन् । ०५१ सालको मध्यावधि निर्वाचनपछि मनमोहन नेपालका पहिलो कम्युनिस्ट प्रधानमन्त्री बनेका थिए । सोही सरकारमा अर्थमन्त्री थिए भरतमोहन । नाैमहिने अल्पमतको सरकारले ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ भन्ने नाराअन्तर्गत पहिलोपटक स्थानीय तहमा विकासका लागि अनुदान रकम पठाउन सुरु गरेको थियो । यस्तै, सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत वृद्धभत्ता र एकल महिलाका लागि भत्ताको सुरुवात पनि त्यतिवेलै गरिएको थियो । सोही कारण मनमोहन र भरतमोहन ज्येष्ठ नागरिकका बिचमा अहिले पनि लोकप्रिय छन् । ‘म कुनै व्यक्तिगत आकांक्षा र शासकीय महत्त्वाकांक्षाले राजनीतिमा आएको होइन । राज्य लोककल्याणकारी हुनुपर्छ र राज्यको स्राेत सबै नागरिकका बिचमा समान रूपमा वितरण गरिनुपर्छ भन्ने मान्यता बोकेको मात्र होइन, व्यवहारतः कार्यान्वयन गर्नमा योगदान गरेको परिवारको पछिल्लो पुस्ताबाट केही योगदान गरौँ भन्ने उद्देश्यले यो बाटो रोजेकी हुँ,’ लिमा भन्छिन् । 

कुनै समय एमाले राजनीतिको केन्द्र रहेको र सरकारमा हुँदा लोकप्रिय काम गरेका मनमोहन र भरतमोहनको परिवारकी सदस्य लिमालाई एमालेमै रहेर राजनीति गर्ने विकल्प खुलै हुँदा पनि आफूले वैकल्पिक राजनीतिको झन्डा उठाएको उनी बताउँछिन् । ‘एमाले निर्माणमा धेरै लगानी गरेको र सरकारमा बसेर लोकप्रिय काम गरेका नेताहरूको परिवारको सदस्य हुनुको नाताले मलाई उतैबाट अवसर लिन कुनै कठिनाइ थिएन । धेरै एमालेजनले विरासतको राजनीतिक बाटो रोज्न नसुझाउनुभएको पनि होइन,’ अधिकारी भन्छिन्, ‘तर, मनमोहन र भरतमोहनको समयको जस्तो जनतालाई र मुलुकलाई केन्द्रमा राखेर काम गर्ने एमाले रहेन भन्ने निष्कर्षसहित वैकल्पिक राजनीतिमा लागेकी हुँ ।’

चीनको वुहान ह्वाचोङ विश्वविद्यालयबाट व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन गरेकी अधिकारीले रास्वपाको सक्रिय राजनीतिमा प्रवेश गर्नुअघि नेपाल महिला चेम्बरको वरिष्ठ उपाध्यक्ष भएर काम गरेकी थिइन्। 
 

सुझावित समाचार