- मन्त्री प्रकाश केसीले जग्गा बैना गरेर रकम लिएपछि घडेरी बनाउन बिचौलिया लगाएर पुरे सिमसार क्षेत्र, एकजना पक्राउ
फेवातालको सिमसार क्षेत्र पुर्ने काममा गण्डकीका भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश केसीको संलग्नता देखिएको छ । सर्वोच्च अदालतको आदेशमा तालको ६५ मिटरसँगै सिमसार क्षेत्रको संरक्षणसमेत गर्न भनेकोमा संरक्षणको जिम्मा पाएको प्रदेश सरकारका मन्त्रीकै संलग्नता देखिएको हो । उनले बिचौलिया लगाएर पोखरा– २४ पामेफाँटमा रहेको सिमसार पुरेर घडेरी बनाउन लगाएको पाइएको छ ।
केसी एमालेका प्रदेश सांसद हुन् । सिमसार क्षेत्रमा पर्ने मन्त्री केसीको जग्गा पुर्न अनुमतिबेगर जथाभावी डोजर चलाइरहेको अवस्थामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । केसीले जग्गा बैना गरेर कबुल गरेको रकम जग्गा खरिद गर्नेसँग लिएपछि बिचौलिया प्रयोग गरी घडेरी बनाउँदै गरेको अवस्थामा प्रहरीले पामेबाट युवराज खतिवडालाई पक्राउ गरेको छ । उनले लामो समयदेखि अनुमति नलिई ताल पुर्दै आएका छन् ।
फेवातालको सिरानमा पर्ने सिमसार क्षेत्रमा माटो र गिटी हालेर मन्त्री केसीको जग्गा पुरिरहेको अवस्थामा सोमबार रोक्न गएको प्रहरीलाई उनले दुव्र्यवहार गरेका थिए । धादिङको नीलकण्ठ नगरपालिका– ५ खाल्टे घर भई हाल पोखरा– ५ मालेपाटन बस्ने ३७ वर्षीय खतिवडाले जबर्जस्ती गर्दै पुन: टिपर चलाउन खोज्दै दुव्र्यवहार गरेपछि टिपरसहित उनलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता हरिबहादुर बस्नेतले जानकारी दिए । सिमसार क्षेत्र पुरिँदा तालको अस्तित्वसँगै जलचरको वासस्थान नष्ट हुने र त्यसले तालको पारिस्थितिक प्रणालीमा असर गर्ने संरक्षणविद् अनिल थापा बताउँछन् ।
मन्त्री केसीले भने आफूले सिमसार पुर्न नलगाएको दाबी गरे । ‘बाटोमाथिको जग्गा मैले बिक्री गरिसकेको हो । जग्गाको बैना लिए पनि मालपोतमा गएर पास भने गरेको छैन । मैले बिक्री गरेपछि खरिद गर्नेले के गरेको छ, गएर हेरेको छैन, त्यो मसँग सम्बन्धित पनि छैन,’ उनले भने ।
फेवातालको अधिकांश सिमसार क्षेत्र पोखरा महानगरपालिका– २४ मा पर्छ । त्यस क्षेत्रको सिमसारमा पर्ने स्थानमा सडकका भित्ता, पहरा, डाँडा, सानो खोँच, माटो जमेको स्थानमा डोजर चलाउँदा पोखरा महानगरले अनदेखा गरेको छ । पोखरा– २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले त्यस क्षेत्रमा डोजर चलाउने र जग्गा पुर्न कसैले अनुमति नलिएको र अनुमति माग्न आएमा दिन पनि नमिल्ने भएकाले त्यसै फर्काउने गरेको बताए ।
हाल तालको मुहान, हर्पन खोलाआसपासका क्षेत्रका जग्गाधनीहरू केहीले आफैँ र केहीले खतिवडा र अन्यमार्फत जग्गा पुर्ने काम गर्दै आएका छन् । जग्गा पुरेको देखेपछि अन्यले समेत विभिन्न माध्यमबाट जग्गा पुर्दै घडेरी बनाउने गरेका छन् । सिमसार क्षेत्रमा पर्ने जग्गा पुर्न बिचौलियाले एक रोपनीको पाँच लाख रुपैयाँसम्म रकम लिने गरेको स्थानीयको भनाइ छ । मानवीयसँगै प्राकृतिक अतिक्रमणको चपेटामा परेको फेवाताल रामसार सूचीमा समेत सूचीकृत भइसकेको छ ।