बुहारीलाई भान्सामा थुनेपछि पेट्रोल छर्केर आगो लगाई हत्या

बुधबार, ९ पुष, २०८२
डिजिटल संस्करण
  • हत्या गरेपछि ‘आत्मदाह गरेको’ भन्दै परिवारका सदस्यले नै गरेका थिए प्रचार, सुशीलाको हत्या हुँदा ट्युसन गएका थिए छोराछोरी

सिन्धुलीको कमलामाई नगरपालिका– ४, धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बम्जनले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाह गरेको भनिएको घटनामा प्रहरीले जघन्य हिंसाको प्रमाण भेटाएको छ । उनलाई परिवारका सदस्यले नै घरभित्र भान्सामा थुनेर शरीरमा पेट्रोल छर्की आगो लगाएर हत्या गरेको अनुसन्धानमा खुलेको हो ।

घटना गत आइतबार अपराह्न साढे ४ बजेको हो । लामो समयदेखि पारिवारिक झैझगडा हुने गरेकामा सासू, ससुरा र नन्दले पेट्रोल छर्केर आगो लगाई हत्या गरेको खुलेको हो । पक्राउ परेकी नन्द ३५ वर्षीया मीना बम्जनले सुशीलाको शरीरमा पेट्रोल छर्केर आगो लगाएको प्रारम्भिक बयान दिएको सिन्धुली प्रहरी प्रमुख एसपी लालध्वज सुवेदीले बताए । सासू ६० वर्षीया मायाँरानी बम्जनलाई पनि प्रहरीले पक्राउ गरेको छ । आगो लगाउने क्रममा आफैँ घाइते भएका ससुरा ६५ वर्षीय दुर्गामान बम्जन अस्पतालमा उपचार गराइरहेकाले प्रहरी निगरानीमा छन् । 

‘लामो समयदेखि पारिवारिक झगडा रहेछ । झगडाबारे सुशीलाको माइती पक्षलाई पनि जानकारी रहेछ,’ एसपी सुवेदीले भने, ‘अन्य धेरै विषय जोडिएका छन् । ती सबै खुलाउँदा अनुसन्धानमा प्रभाव पर्ने भएकाले अहिले सबै विषय भन्न सकिने अवस्था छैन । पक्राउ परेकी मृतककी नन्दले दिएको प्रारम्भिक बयानअनुसार पेट्रोल छर्केर हत्या गरेको देखिन्छ ।’ सुशीलाका पति सूर्यबहादुर बम्जन वैदेशिक रोजगारीको सिलसिलामा कोरियामा छन् । कोरियामा रहे पनि श्रीमतीको हत्या योजनामा उनको पनि संलग्नता हुन सक्ने एसपी सुवेदी बताउँछन् । 

प्रहरीले प्रेस नोट नै सार्वजनिक गरेर सुशीलाको हत्या भएको जनाएको छ । ‘साढे दुईतले घरको बिच तलाको पूर्वतर्फको भान्सा कोठाभित्र मट्टीतेल/पेट्रोल छर्की आगो लगाई सुशीलाको घटनास्थलमै मृत्यु भएको...,’ प्रहरीले प्रेस नोटमा भनेको छ, ‘घटनास्थलबाट दुई बोतल पेट्रोल, लाइटर, बाँसको भाटामा सल बेरी राखेको अवस्थामा राँको (पुल्ठो)समेत फेला पारी शव जाँच मुचुल्का तयारी गरी पोस्टमार्टमका लागि सिन्धुली अस्पताल पठाइएको...।’

सुशीलाका बुवा सिन्धुलीकै हरिहरपुरगढी गाउँपालिका– ४ का प्रेमबहादुर घिसिङले सोमबार प्रहरीमा किटानी जाहेरी दिएपछि मीना र मायाँरानी पक्राउ परेका थिए । छोरीमाथि पटक–पटक घरेलु हिंसा गरेको, यातना दिँदै आएको र छोरीको हत्या गरेको भन्दै घिसिङले किटानी जाहेरी दिएका थिए । उक्त जाहेरी कर्तव्य ज्यान मुद्दा शीर्षकमा दर्ता गरिएको तथा मीना र मायाँरानीलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको एसपी सुवेदीले बताए । 

बुहारीलाई आगो लगाउँदा आगोको लप्काले भेटेर घाइते भएका ससुरा दुर्गामानको सिन्धुली अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार उनको दाहिने हात, दाहिने खुट्टा र ढाड जलेको छ ।

हत्या गर्नुअघि घरको गेटमा भित्रबाट लगाएका थिए ताला 

सिन्धुलीको कमलामाई नगरपालिका– ४, धुराफाँटकी ३२ वर्षीया सुशीला घिसिङ बम्जन

सुशीलाको हत्या गर्नुअघि परिवारका सदस्यले घरको गेटमा भित्रबाट ताला लगाएको स्थानीयले बताएका छन् । सुशीलाले हारगुहार गरेपछि स्थानीय पुगेका थिए । तर, गेटमा भित्रबाट ताला लगाइएकाले भित्र जान पाएनन् । ‘भित्र आगो दन्किएको देखिन्थ्यो, कोठामा आगो लगाई नन्द मीना घरको ग्यालरीमा उभिरहेकी थिइन्,’ एक स्थानीयले भने ।

माथिल्लो तलामा रहेकी मायाँरानीले साँचो झारिदिएपछि मीनाले मूलगेट खोलेकी थिइन् । त्यसपछि स्थानीय भित्र छिरेर घटना भएको कोठामा पुग्दा सुशीलाको मृत्यु भइसकेको थियो । गेटमा ताल्चा लगाएर शरीरमा आगो लगाई सुशीलाको हत्या भएको र छिमेकीले आगो निभाएको पीडितकी आफन्त सरिता स्याङ्तानले बताइन् । सुशीलालाई ६–७ वर्षदेखि नै सासू, ससुरा र नन्दले निरन्तर मानसिक तथा शारीरिक यातना दिँदै आएको, खान, लगाउन नदिएको, मोबाइल प्रयोग गर्न नदिएको आफन्तहरू बताउँछन् ।

करिब दुई महिनादेखि नन्द मीनाले सुशीलालाई मार्ने धम्की दिएको र सुशीलाले बहिनी सन्धी, बुवा र भाउजु निर्मलालाई यो विषयमा जानकारी गराउँदै आएको आफन्तले बताएका छन् । उनीहरूका अनुसार परिवारका सदस्यले सुशीलालाई घर छाडेर जान दबाब दिँदै, नभए मार्ने धम्की दिएका थिए । नन्दले आफूलाई आजै मार्ने भनेको भनेर घटना हुनुभन्दा एक घण्टाअगाडि मात्रै पनि बहिनी सन्धीलाई फोन गरेर सुनाएको पनि खुलेको छ । घटनास्थल पुगेका मृतकका काका सुकबहादुर घिसिङ र भाउजु निर्मला स्याङ्तानले पनि सुशीलाको हत्या भएको बताए ।

हरिहरपुरगढी गाउँपालिका– ४ का वडाध्यक्ष कमलकुमार राईका अनुसार सुशीलाका बुबा र सासू एउटै आमाबाट जन्मिएका दाजुबहिनी हुन् । तामाङ समुदायको रीतिरिवाजअनुसार मामा चेला सूर्यबहादुर र फुपू चेली सुशीलाबिच मागीविवाह भएको राईले बताए । ‘सुशीलाको घरपरिवारसँग ६–७ वर्षअगाडि नै घरायसी विवाद भएको र परिवारका सदस्य नै बसेर मेलमिलाप गरेको बुझिन्छ,’ वडाध्यक्ष राईले भने, ‘सुशीलाका पति विदेश जानुअघि नै परिवारमा केही खटपट भएको थियो ।’

सुशीलाको हत्या हुँदा ट्युसन गएका थिए छोराछोरी
सात वर्षअघि तिम्ल्याहा सन्तान जन्म दिएकी सुशीलाका तीनवटै सन्तान स्कुलबाट आएर खाजा खाएपछि ट्युसन पढ्न गएका थिए । सुशीलाले नै ट्युसन पुर्‍याएर घर फर्किएकी थिइन् । त्यसपछि परिवारका सदस्यले मिलेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ । घरको भान्साभरि सेलरोटी छरिएको अवस्थामा भेटिएको छ, बालबालिका मामाघरमा छन् ।

दोषीलाई कारबाहीको माग गर्दै प्रशासनमा ज्ञापनपत्र
पेट्रोल छर्की आगो लगाएर सुशीला घिसिङ बम्जनको हत्या घटनामा संलग्नमाथि कारबाहीको माग गर्दै सिन्धुलीका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ । नेपाल महिला संघका जिल्ला अध्यक्ष गंगा दाहाल, अखिल नेपाल महिला संघका जिल्ला उपाध्यक्ष तुलसा कार्की (देवकोटा) र अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का जिल्ला उपाध्यक्ष बबिता गौतमले मंगलबार ज्ञापनपत्र बुझाएर हत्यामा संलग्न नन्द मीना, सासु मायाँरानी, ससुरा दुर्गामान र मतियार पति सूर्यबहादुरलगायतलाई कडा कानुनी दायरमा ल्याउन माग गरेका हुन् । 

‘कुनै पनि प्रभाव र दबाबविना सत्य–तथ्य अनुसन्धान गरी घटनामा संलग्न सबैलाई कानुनी दायरामा ल्याउन माग गर्दछौँ । पीडित पक्षलाई न्याय दिलाउन र घटनामा मतियारी गर्ने संलग्न पारिवारिक र अन्य व्यक्तिलाई समेत अनुसन्धानमा तानी कारबाहीको दायरामा ल्याउन जोडदार माग गर्दछौँ,’ ज्ञापनपत्रमा भनिएको छ, ‘महिला तथा बालबालिकाको न्याय र सुरक्षाको सवाल गम्भीर सामाजिक विषय हो । लैंगिक हिंसाका घटनामा उचित अनुसन्धान, न्याय सम्पादनमा सबै सरोकारवाला गम्भीर बन्नुपर्ने अवस्था छ ।’

सुशीलाका दाइ भीमबहादुर घिसिङ भन्छन्– बहिनीलाई छोडपत्र गर्न दबाब दिँदै आएका थिए परिवारले 

७ वैशाख ०६७ मा बहिनी (सुशीला) र मामाको छोरा अर्थात् ज्वाइँ (सूर्यबहादुर बम्जन)सँग मागीविवाह भएको हो । विवाहको ५–६ वर्षसम्म बालबच्चा नभएपछि परिवारले छोडपत्र गर्न दबाब दिँदै आएका थिए । डिभोर्स गर्ने र अर्को विवाह गर्न भन्दै बहिनी लैजान भनेर दबाब दिने गरेका थिए । त्यसपछि बहिनीलाई माइतमा ल्याएर राखी चिकित्सकको सल्लाहबमोजिम उपचार गरेर फेरि घर पठाएको करिब दुई वर्षमा एकैपटक तीन बच्चा जन्मिए । त्यसको दुई–तीन वर्षसम्म कुनै पनि घरायसी झगडा थिएन, सामान्य थियो । 

जब ज्वाइँ कोरिया जाने कुरा भयो । तर, कोरिया जान डिभोर्स गर्नुपर्ने बताएपछि पुन: विवाद सुरु भएको थियो । हामीले डिभोर्स गर्नैपर्ने भए सबै जायजेथा बहिनीको नाममा गरिनुपर्ने भनेपछि डिभोर्स भएन । त्यस समयमा पनि घरपरिवारले घरको चेनगेट लगाई बाँसको भाटाले कुटपिट गर्न थालेपछि बहिनीले घरबाट भागेर ज्यान जोगाउन सफल भएकी थिइन् । स्थानीयसँग हारगुहार गरी राति छिमेकीको घरमा बसेको र पछि छलफलबाट समझदारी गरिएको थियो । त्यसको सम्पूर्ण भिडियोदेखि सबै प्रमाण हामीसँग सुरक्षित छ । तैपनि सासू, ससुराले बारम्बार ज्यान मार्ने धम्की दिने र कुटपिट गर्ने गरेको बहिनीले सुनाउने गरेकी थिइन् । हामीले छलफल गरी समाधान गर्ने गरेका थियौँ । पछिल्लो समय उनीहरूले समुदायका नागरिकसँग बोल्न नहुने, फोनमा कुरा गर्न नहुनेजस्ता यातना बहिनीलाई दिने गरेका थिए । यसबिचमा आगो लगाएर हत्या गरेछन् । हत्या गर्नेमाथि कारबाहीको माग गरेर किटानी जाहेरी दिइसकेका छौँ ।

See More On

सुझावित समाचार