नियमित संवादका लागि देउवा, ओली र प्रचण्डलाई बालुवाटारमा प्रधानमन्त्रीको निम्तो

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

प्रमुख तीन राजनीतिक दलका अध्यक्षसँग मंगलबार शीतलनिवासमा भएको छलफलले निर्वाचनका लागि सकारात्मक बातावरण बनेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री सुशीला कार्की, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सामूहिक छलफल गरेका हुन्। जेन–जी आन्दोलनपछि भएको यो यो तहको पहिलो भेटघाट हो। भेटघाटमा निर्वाचनको वातावरण बनाउन समझदारी जुटेको बताइएको छ। 

सरकार र प्रमुख दलका शीर्ष नेताबिच यसअघि संवाद भएको थिएन। मंगलबारको छलफलमा प्रधानमन्त्री सुशीला कार्कीले नियमित संवादका लागि बालुवाटार आउन तीनै नेतालाई निम्तो दिएकी छिन्। राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार चुनावको विषयमा थप छलफलका लागि प्रधानमन्त्रीको सरकारीनिवास बालुवाटारमा विस्तृत छलफल गर्ने समझदारी पनि बनेको छ। 

छलफलमा ओलीले सरकारले चुनावको वातावरण सरकारको नबनाएको आरोप लगाए। शान्तिसुरक्षाको अवस्था चुनावका लागि तयार नभएको र आफ्नो स्थानहदको विषयमा प्रश्न उठाएका थिए। त्यस्तै, देउवाले पनि सुरक्षा अवस्थाबारे प्रश्न उठाए। आफूहरूको सुरक्षामा खटिएका सुरक्षाकर्मी फिर्ता गरेपछि बाहिर निस्कन सहज अवस्था नभएको भन्दै सुरक्षाकर्मी फिर्ता गर्नुपर्ने देउवाको भनाइ थियो। प्रचण्डले भने अब निर्वाचनको विकल्प नभएको धारणा राखेका थिए। 

प्रधानमन्त्री कार्कीले यसअघि दलका दोस्रो तहका नेताहरूसँग छलफल गरेकी थिइन्। २१ फागुनमा घोषणा गरिएको निर्वाचनका लागि सरकारले दलहरूलाई विश्वासमा लिने प्रयास गरिरहेको छ। 

सुझावित समाचार