महाधिवेशन र आमनिर्वाचन तोकिएकै समयमा गर्नु अपरिहार्य : नैनसिंह महर

मंगलबार, ८ पुष, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं १५औँ महाधिवेशनका लागि महामन्त्रीका दाबेदार नैनसिंह महरले पार्टीको महाधिवेशन र मुलुकको आमनिर्वाचन तोकिएकै समयमा सम्पन्न गर्नु अपरिहार्य रहेको बताएका छन्।

काठमाडौंको नयाँ बानेश्वरमा आयोजित अगुवा नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले लोकतन्त्रको सुदृढीकरण र संविधानको रक्षाका लागि आवधिक निर्वाचनको विकल्प नरहेको जिकिर गरे।

‘लोकतान्त्रिक व्यवस्थामा आमनिर्वाचन भनेको जनताको अभिमत नवीकरण गर्ने महत्त्वपूर्ण अवसर हो,’ महरले भने, ‘त्यस्तै, पार्टीभित्रको आन्तरिक जीवनलाई चलायमान बनाउन र नेतृत्वमा नयाँ ऊर्जा भर्न महाधिवेशन समयमै हुनुपर्छ। यसमा कुनै पनि प्रकारको विलम्ब स्वीकार्य हुँदैन।’

उनले वर्तमान राजनीतिक सन्दर्भमा निर्वाचन र महाधिवेशनलाई पर धकेल्ने वा बिथोल्ने खालका कुनै पनि गतिविधि भए त्यो कांग्रेस, संविधान र समग्र राष्ट्रकै हितविपरीत हुने चेतावनी दिए।

‘संविधानले कोरेको लिकभन्दा बाहिर जाने छुट कसैलाई छैन। समयमै निर्वाचन र महाधिवेशन सुनिश्चित गर्नु नै अहिलेको मुख्य दायित्व हो,’ उनले भने।

सुझावित समाचार