तीन वर्षको कार्यकाल पूरा गरेर नेपालका लागि चिनियाँ राजदूत चेन सङ बुधवार बेइजिङ फर्किँदै छन् भने यहीवेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फिर्ता बोलाएका राजदूतहरूको सूचीमा नेपालका राजदूत डिन आर थम्पसन पनि परेका छन् । नयाँ राजदूतबारे चीन र अमेरिका दुवैले केही बताएका छैनन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पूर्वराष्ट्रपति जो बाइडेनका पालामा विभिन्न २९ देशमा नियुक्त भएका राजदूतलाई एकैसाथ फिर्ता बोलाएका हुन् । अमेरिकी पत्रिका पोलिटिकोले फिर्ता हुने सूचीमा नेपालका लागि राजदूत थम्पसनसमेत परेको समाचार सोमवार यससम्बन्धी प्रकाशित गरेको छ । यसलाई ट्रम्प प्रशासनले कूटनीतिक संरचनामा गरेको यो ठुलो फेरबदलका रूपमा हेरिएको छ ।
नेपालका लागि राजदूत थम्पसन ४ कात्तिक ०७९ देखि कार्यरत छन् । ट्रम्प प्रशासनले फिर्ता गरेका राजदूतहरू अधिकांश अमेरिकी विदेश मन्त्रालयका कर्मचारी (करिअर डिप्लोम्याट) हुन् । अमेरिकन फरेन सर्भिस एसोसिएसनका अध्यक्ष जोन डिन्केलम्यानले विनाकारण १६ जनवरीभित्र ती राजदूतलाई फिर्ता हुन ट्रम्प प्रशासनले निर्देशन दिएको पोलिटिकोलाई बताएका छन् । पोलिटिकोका अनुसार दक्षिण एसियाका दुई नेपाल र श्रीलंकाबाट राजदूत फिर्ता गरिएका छन् । नेपालका लागि राजदूत थम्पसन र श्रीलंकाका लागि राजदूत जुली चङ फिर्ता हुने सूचीमा छन् ।
यस्तै, अफ्रिकाबाट १३ राजदूत फिर्ता हुने भएका छन्, जसमा बुरुन्डी, क्यामरुन, केप भर्डे, गाबोन, आइभरी कोस्ट, मडागास्कर, मौरीसस, नाइजर, नाइजेरिया, रुवान्डा, सेनेगल, सोमालिया र युगान्डाका राजदूत छन् । एसियाली ६ देश फिजी, लाओस, मार्सल आइल्यान्ड्स, पापुआ न्युगिनी, फिलिपिन्स र भियतनामबाट राजदूत फिर्ता भएका छन् ।
यस्तै, युरोपका चार देश (आर्मेनिया, म्यासेडोनिया, मोन्टेनेग्रो र स्लोभाकिया), मध्यपूर्वका दुई (अल्जेरिया र इजिप्ट) का राजदूत पनि फिर्ता भएका छन् । पश्चिमी गोलार्धका दुई (ग्वाटेमाला र सुरिनाम) देशबाट पनि राजदूत फिर्ता बोलाइएको एएफपीले जनाएको छ ।