नेकपा एमाले केन्द्रीय कमिटीको निर्वाचनमा पर्सा जिल्लाबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका नाैजना पराजित भएका छन्। बिहीबार केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम नतिजाअनुसार केन्द्रीय कमिटी सदस्यमा जिल्लाबाट एक दर्जन उम्मेदवार बनेकाहरूमध्ये नाैजना पराजित भएका हुन्।
केन्द्रीय निर्वाचन आयोगका अनुसार पर्साबाट केन्द्रीय कमिटी सदस्यको उम्मेदवार बनेका ईश्वर पोखरेल समूहका अरविन्द सिंह ८४१, रन्जु फुयाँल दाहाल १०३८ र नवराज शर्मा ५७१ मत ल्याएर पराजित भएका छन्।यस्तै बसरुद्दिन अन्सारी ६९९, मेघराज हजारा ४६१, राजकुमार गुप्ता ८५९, प्रह्लाद गिरी ५०१, प्रदुमन चौहान ६७१, उसमान मियाँ अन्सारी ४७९ मत पाएर पराजित भएका हुन्।
निवर्तमान प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री राजकुमार कुनै समूहमा नपरेपछि पराजित भएको उनका समर्थकहरू बताएका छन् । यस्तै, पोखरीया नगरपालिकाका नगरप्रमुख प्रदुमनले यही कारणले पराजित भएको जनाएका छन्। पर्साबाट केपी ओली समुहका प्रभु हजारा १४६५, निर्मला देवकोटा १४३४ र विजय सरावगी १४९० मतका साथ विजय भएका छन्।
हजारा र देवकोटा निवर्तमान प्रतिनिधिभा सदस्य र केन्द्रीय सदस्य पनि थिए। एमालेको ११औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि बुधबार बिहान ९ बजेबाट विद्युतीय प्रणालीबाट मतदान भएको थियो ।