पुँजी बजारबाट सरकारले पाउने आम्दानी ६२ प्रतिशत घट्यो
सेयर कारोबारबाट सरकारले प्राप्त गर्ने पुँजीगत लाभकर साढे ६२ प्रतिशतले घटेको छ । चालू आर्थिक वर्षको पाँच महिनामा सरकारले सेयर कारोबारबाट तीन अर्ब ४४ करोड ६३ लाख रुपैयाँ पुँजीगत लाभकर प्राप्त गरेको हो । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ६२.५५ प्रतिशत अर्थात् पाँच अर्ब ७५ करोड ६९ लाख रुपैयाँले न्यून हो ।
सेयर कारोबारमा आएको उतारचढावले पुँजीगत लाभकरलाई समेत प्रभावित गरेको देखिन्छ । गत असार मसान्तसम्म नेप्से परिसूचक २७९४.७८ विन्दुमा थियो । मंसिर मसान्तसम्म आउँदा त्यो २६०१ अंकमा सीमित भयो । लगानीकर्ताको मनोबल अझ बढ्न नसक्दा बजार अपेक्षाकृत रूपमा बढ्न सकेको छैन । यसले गर्दा पुँजीगत लाभकरसमेत घटेको जानकारहरू बताउँछन् ।
जेन–जी आन्दोलनपछि सेयर बजारमा देखिएको अनिश्चितताले त्यसबाट उठ्ने कर पनि प्रभावित भएको देखिन्छ । गत वर्षको पाँच महिनामा नौ अर्ब २० करोड पुँजीगत लाभकर प्राप्त भएकोमा यस वर्षको घटेर साढे तीन अर्बमा झरेको सिडिएस एन्ड क्लियरिङ लिमिटेड (सिडिएससी)बाट प्राप्त तथ्याकले देखाउँछ । सिडिएससीका प्रवक्ता सुरेश न्यौपानेले सेयर कारोबारमा हुने नाफाकै आधारमा कर उठ्ने बताए ।
गत आर्थिक वर्ष ०८१/८२ मा कुल १६ अर्ब ५४ करोड ३७ लाख रुपैयाँ पुँजीगत लाभकर उठेको थियो । गत आवको साउनमा चार अर्ब २३ करोड ७८ लाख ६१ हजार रुपैयाँ, भदौमा दुई अर्ब ५७ करोड ९४ लाख ८० हजार रुपैयाँ, असोजमा ५८ करोड ६५ लाख ४० हजार रुपैयाँ र कात्तिकमा ७५ करोड ८७ लाख ८१ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको थियो । गत आवको मंसिरमा भने एक अर्ब चार करोड ६ लाख २३ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको थियो ।
मंसिरमा मात्रै लगानीकर्ताले तिरे ६२ करोड पुँजीगत लाभकर
- व्यक्तिगततर्फ १७ करोड एक लाख, अल्पकालीनतर्फ ४१ करोड ४३ लाख र संस्थागततर्फबाट चार करोड ५३ लाख संकलन
मंसिर महिनामा सेयर कारोबारबाट लगानीकर्ताले सरकारलाई ६२ करोड ९८ लाख २१ हजार पुँजीगत लाभकर कर तिरेका छन् । सेयर कारोबारमा भएको नाफाबाट लगानीकर्ताले मंसिरमा सरकारलाई सोबराबरको पुँजीगत कर तिरेका हुन् ।
मंसिरमा व्यक्तिगततर्फ दीर्घकालीन सेयर कारोबारबाट १७ करोड एक लाख ९० हजार रुपैयाँ र अल्पकालीन सेयर कारोबारबाट ४१ करोड ४३ लाख दुई हजार रुपैयाँ राजस्व उठेको छ । संस्थागततर्फबाट चार करोड ५३ लाख २७ हजार रुपैयाँ पुँजीगत लाभकर उठेको छ । सेयर कारोबारमा हुने खुद नाफामा दीर्घकालीनतर्फ पाँच प्रतिशत र अल्पकालीनतर्फ ७.५ प्रतिशत पुँजीगत लाभकर तिर्नुपर्छ । कुनै लगानीकर्ताले सेयर किनेर एक वर्षपछि बिक्री गर्दा हुने नाफामा पाँच प्रतिशत कर तिर्नुपर्छ । यसैगरी, लगानीकर्ताले सेयर किनेको एक वर्षभित्र बिक्री गर्दा हुने नाफामा भने ७.५ प्रतिशत पुँजीगत लाभकर लाग्नेछ । संस्थागत रूपमा सेयर कारोबार गर्नेले खुद नाफाको १० प्रतिशत कर तिर्नुपर्छ ।
यसबिचमा सेयर बजारमा उतारचढाव आयो । त्यसले सेयर कारोबारबाट उठ्ने कर पनि प्रभावित भएको देखिन्छ । गत असार मसान्तसम्म नेप्से परिसूचक २७९४.७८ विन्दुमा थियो । मंसिर मसान्तसम्म आउँदा त्यो २६०१ अंकमा सीमित भयो । यसबिचमा बजार घट्ने र बढ्ने भयो । यद्यपि, मंसिरमा भने यो ६१ अंकले बढ्यो । कात्तिकको अन्तिम कारोबार दिनमा नेप्से २५४०.५७ विन्दुमा थियो ।
सुरेश न्यौपाने, प्रवक्ता, सिडिएससी
लगानीकर्ताले कमाउने नाफामा कमी आएपछि त्यसको असर पुँजीगत लाभकर संकलनमा देखिएको छ । गत वर्षको तथ्यांकसँग विस्तृत रूपमा अध्ययन गरिएको छैन । तर, पछिल्लो समय बजारमा उत्साह देखिएको छैन । कारोबार रकम पनि कम छ । लगानीकर्ताले पनि धेरै नाफा कमाउन सकेका छैनन् होला । त्यसले गर्दा पुँजीगत लाभकर संकलनमा कमी आएको हो । लगानीकर्ताले कमाएको नाफाअनुसार नै योअनुसारको पुँजीगत लाभकर संकलन भएको हो ।