४१ वर्षको उमेरमा अपराध, फैसलाको ३१ वर्षपछि कञ्चनपुरका ७२ वर्षीय वृद्ध पक्राउ

बिहिबार, ३ पुष, २०८२
डिजिटल संस्करण

कञ्चनपुर वन चोरी तस्करी मुद्दाका फरार एक अभियुक्त तीन दशकपछि कानुनको फन्दामा परेका छन्। कृष्णपुर नगरपालिका– ४ गुलरियाका कर्णदेव धित्त ३१ वर्षपछि कानुनको फन्दाना परेका हुन्। धित्तविरुद्ध वन मुद्दामा अदालतले कैद र जरिवाना तोकेको थियो । तर, धित्तले कैद र जरिवाना भुक्तान नगरेपछि प्रहरीले उनलाई पक्राउ गरेर अदालत पेस गरेको छ। 

कञ्चनपुर जिल्ला अदालतले ३१ वर्षअघि ५ पुस ०५१ सालमा धित्तको वन मुद्दामा तीन महिना कैद सजाय र पाँच हजार १४४ रुपैयाँ जरिवाना तोकेको थियो । तर, धित्तले अदालतले तोकेको कैद भुक्तान र जरिवाना नतिरेपछि पक्राउ गरेको प्रहरीले जनाएको छ । धित्तले वन चोरी तस्करी गर्दा उनी  ४१ वर्षका थिए, तर उक्त अपराधमा संलग्न भएको तीन दशकपछि ७२ वर्षीय ज्येष्ठ नागरिक उमेरमा कानुनी फन्दामा परेका हुन् । धित्तलाई इलाका प्रहरी कार्यालय गुलरिया जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको टोलीले गत २५ मंसिर ०८२ मा पक्राउ गरेर अदालत पेस गरेको जनाइएको छ । 

कञ्चनपुर प्रहरीका प्रवक्ता सागर बोहराले अदालतबाट फैसला भएर कैद र जरिवाना नबुझाएका फरारहरूलाई पक्राउ गर्दै कानुनी दायरमा ल्याउन लागेको बताए । यो घटनाले अपराध गरेपछि बाँचुन्जेलसम्म कुनै पनि दिन सजाय भोग्नुपर्ने पाठ सिकाएको छ। यसैबिच, कञ्चनपुरमा विभिन्न आपराधिक गतिविधि घटनामा किशोर, किशोरी, युवक तथा महिला मात्रै नभई बुढापाका पनि संलग्न भएको देखाएको छ।

जिल्लामा केही वृद्धहरू आफैँ अपराध कर्ममा संलग्न भएको देखिएका छन् । सुदूरपश्चिम प्रदेश र कञ्चनपुर  प्रहरीको तथ्यांकले समेत पछिल्ला अपराध तथा आपराधिक गैरकानुनी गतिविधिमा ज्येष्ठ नागरिकसमेत संलग्न भएको तथ्य सार्वजनिक भएको छ ।  प्रहरीको तथ्यांकअनुसार दुई साताभित्रै वन चोरी तस्करी मुद्दामा शुक्लाफाँटा नगरपालिका– ५ खजुवाका ७२ वर्षीय विष्णुदत्त जोशी, बहुविवाह मुद्दामा कृष्णपुर नगरपालिका– १ पहरियाका वर्षीय गग सिंह बुढा, वनचोरी तस्करी मुद्दामा कृष्णपुर– ४ गुलरियाकै कर्णदेव धित्त, र चोरी मुद्दामा पुनर्वास– २ का ६० वर्षीय सिंहलाल तामाङ पक्राउ परेका छन् । 

जोशीलाई वन मुद्दामा तीन महिना कैद तोकिएको र बुढालाई बहुविवाह मुद्दामा १६ दिन कैद र एक हजार रुपैयाँ जरिवाना, तामाङलाई चोरी मुद्दामा ६ दिन कैद, वन मुद्दामा  धित्तलाई तीन महिना कैद सजाय र पाँच हजार १४४ रुपैयाँ जरिवाना तोकिएको थियो । कञ्चनपुर प्रहरी प्रवक्ता सागर बोहराले मुलुकी अपराध संहिताको दफा १५५ अनुसार कैदबराबरको दैनिक तीन सयका दरले जरिवाना तिरेर जोशी, धित्त रिहा भएको बताए । 

सुझावित समाचार