एमालेका तीन नेता जसले देखाए नैतिकता

उपाध्यक्षद्वय ज्ञवाली र शाक्य तथा अनुशासन आयोगका अध्यक्ष बडालले युवालाई अवसर दिने भन्दै सक्रिय राजनीतिबाट लिए बिदा

सोमबार, ३० मंसिर, २०८२
डिजिटल संस्करण

एमाले अध्यक्ष केपी ओलीले नवौँ महाधिवेशनबाट सर्वसम्मत पारित ७० वर्षे उमेरहद र दुईवर्षे कार्यकालको व्यवस्था तोड्दा उपाध्यक्षद्वय युवराज ज्ञवाली र अष्टलक्ष्मी शाक्य तथा पार्टी केन्द्रीय अनुसन्धान आयोगका अध्यक्ष केशव बडालले भने आफूलाई नैतिक धरातलमा उभ्याएका छन् । ओलीले विधानबाटै ७० वर्षे उमेरहद हटाएर तेस्रोपटक अध्यक्ष बन्ने तयारी गर्दा ज्ञवाली, शाक्य र बडालले ७० वर्ष पुगेको भन्दै चालू ११औँ महाधिवेशनमा कुनै पनि पदमा उम्मेदवार नहुने घोषणा गर्दै नैतिकता देखाएका हुन् ।

१०औँ महाधिवेशनबाट निर्वाचित एमाले केन्द्रीय कमिटीको अन्तिम बैठक आइतबार बसेको थियो । उक्त बैठकमा ज्ञवाली, शाक्य र बडालले उम्मेदवार नबन्ने घोषणा गरे । तीनैजनाले ७० वर्षे उमेरहद कार्यान्वयन हुनुपर्ने वकालत गर्दै आएका छन् । ज्ञवाली, शाक्य र बडाल भूमिगतकालको कठिन समयमा ज्यानको बाजी थापेर पार्टीको संगठन निर्माण गर्ने नेतामा पर्छन् ।

‘म ७० वर्ष पुगेँ, दुई कार्यकाल उपाध्यक्ष पनि भएँ, अब फेरि चुनाव उठ्दिनँ,’ ज्ञवालीले भने, ‘विगतमा सोचविचार गरेरै ७० वर्षे उमेरहद र दुईवर्षे कार्यकालको व्यवस्था गरेका हौँ । हामीले निष्ठाको राजनीति गर्नुपर्छ भन्दै आयौँ, विगतमा सर्वसम्मत निर्णय गरिएको विषय व्यवहारमा लागू गर्न खुसी साथ नै उम्मेदवार नहुने निर्णय गरेको हुँ,’ उनले भने । 

लोकतन्त्रमा कुनै पनि नेता निरन्तर कार्यकारी पदमा बस्दा नोक्सान हुने ज्ञवालीको भनाइ छ । ‘नवौँ र दसौँ महाधिवेशनमा दुई कार्यकालको व्यवस्था गरेका थियौँ । उमेरहदको व्यवस्था पनि हामीले गर्यौँ । त्यो सर्वसम्मत भएको हो,’ उनले भने, ‘लोकतन्त्रमा कुनै पनि नेता एउटै कार्यकारी पदमा बस्नु नोक्सानदायी हुन्छ । शक्तिको दुरुपयोग, आर्थिकदेखि अनेक कुरा हुन्छन् । लोकतन्त्रमा उमेरहद र अवधिको विषयलाई सिस्टमको रूपमा विकास गर्नुपर्छ भन्ने मान्यता हो । साँच्चै लोकतन्त्र भएको ठाउँमा यो कुरा आवश्यक छ । पार्टीमा त्यो लागू हुनुपर्छ ।’

कुर्सीमोह गलत भएको भन्दै ज्ञवालीले 
सधैँभरि आकांक्षा राख्न नहुने पनि बताए । ‘सधैँभरि आकांक्षा राखिराख्नुहुँदैन । कुर्सीमोह गलत कुरा हो । यसले लोकतन्त्रलाई कमजोर बनाउँछ । कुर्सीका लागि पार्टीभित्र मारामार गर्ने प्रवृत्तिको म घोर विरोधी हुँ । त्यसका लागि मैले आफ्नो आचरण देखाएको हुँ । म आफू अडिनुपर्छ, व्यवहारमा देखाउनुपर्छ भनेर उम्मेदवार नहुने निर्णय विश्लेषण गरेरै खुसीसाथ गरेको छु,’ उनले भने । पार्टीलाई लोकतान्त्रिक बनाउन नेतृत्व हस्तान्तरण गर्दै जानुपर्नेमा उनले जोड दिए । 

शाक्यले पनि अघिल्लो महाधिवेशनबाट गरिएको व्यवस्था नैतिक रूपमा पालना गरेर उम्मेदवारी नदिने निर्णयमा पुगेको बताइन् । ‘हामीले विगतमा ७० वर्षे उमेरहदको व्यवस्था गर्यौँ । अहिले पनि त्यो व्यवस्था हुनुपर्छ भनेर लाग्यौँ । विधान संशोधन हुँदा उक्त प्रस्तावको पक्षमा उभियौँ । विधानमै ७० वर्षे उमेरहदको व्यवस्था हटाएपछि नैतिकताले उम्मेदवार बन्न दिएन,’ उनले भनिन् । उनले नयाँ पुस्तालाई स्थान दिन सक्रिय राजनीतिमा नरहने निर्णयमा पुगेको पनि बताइन् । ‘हामी मात्रै कति हुनु, युवापुस्तालाई पनि स्थान दिनुपर्यो नि,’ शाक्यले भनिन् । 

बडालले पनि आइतबार महाधिवेशनको बन्दसत्रमा पार्टीको कुनै पनि पदमा नबस्ने घोषणा गरे । उनले पदबाहिर रहेर पार्टी र जनताको हितमा समर्पित हुने बताएका थिए । ०१० मा जन्मिएका ज्ञवाली ०२६ देखि विद्यार्थी राजनीति हुँदै कम्युनिस्ट आन्दोलनमा लागेका थिए । ०३७ मा भूमिगत भएका उनी ०३८ मा पार्टीको गुल्मी जिल्ला सचिव भएका थिए । त्यसपछि पार्टीले खटाएको जिल्ला र अञ्चलमा उनी सक्रिय भए । गुल्मी, रूपन्देही, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेतलगायत जिल्लामा पार्टी निर्माण गर्दै हिँडे । लुम्बिनी, सेती, महाकाली अञ्चलसम्म भूमिगत रूपमा संगठन विस्तार गरे । 

०४६ को चौथो महाधिवेशनदेखि ज्ञवाली लगातार केन्द्रीय कमिटीमा छन् । ०५५ देखि स्थायी कमिटीमा र ०६५ को आठौँ महाधिवेशनदेखि लगातार पदाधिकारी छन् । आठौँ महाधिवेशनमा सचिव निर्वाचित भएका उनी नवौँ र दसौँ महाधिवेशनमा उपाध्यक्षमा निर्वाचित भएका थिए । पार्टी केन्द्रको स्कुल र संगठन विभागसमेत युवराजले चलाए । ०५४ मा राष्ट्रिय सभाको सांसद भए भने ०५६ मा विपक्षी दलको नेता बने । ०६० मा स्थानीय विकासमन्त्री भएका ज्ञवाली ०७० मा संविधानसभा सदस्य बने । ज्ञवाली शाही शासनकालमा एक महिना जेल परे । प्रतिगमनविरोधी आन्दोलनमा दर्जनौँपटक हिरासत पुगे । 

शाक्य पनि नेपाली राजनीतिमा अग्रणी नेतृ हुन् । ०१० मै जन्मिएकी उनी ०३६ मा भूमिगत राजनीतिमा होमिएकी थिइन् । शाक्यले कठिन समयमा पार्टीको काम गरेकी छिन् । आर्थिक रूपमा सम्पन्न परिवारमा जन्मिएकी उनले सहजसँग शिक्षादीक्षा र विलासी जीवन बिताएकी थिइन् । किशोरावस्थामै राजनीतिक चेतना जागेको उनले स्मरण गरिन् । चिनियाँ भाषा सिकेपछि चिनियाँ नेताहरूको किताब पढ्ने क्रममा नेपालमा पनि परिवर्तन गर्नुपर्छ भन्ने लागेर राजनीतिमा होमिएको उनी बताउँछिन् । 

लुकिछिपी राजनीति गर्दा शाक्यलाई घरमा कडाइ गरिएको थियो । घरबाहिरको हिँडडुलमा कडाइ गर्न थालेपछि उनी भूमिगत राजनीतिमा लागेकी थिइन् । ०३६ देखि ०४६ सम्म सिन्धुपाल्चोकदेखि झापासम्मका गाउँबस्तीमा राजनीतिक चेतना फैलाइन् । उनले तत्कालीन समयमा मेची अञ्चलको महिला संघको नेतृत्वसमेत गरेकी थिइन् । 

शाक्यले महिला संघको कार्यक्रम गर्दा इलाममा जेल परिन् । ०४६ मा झापामा पार्टी कमिटीको बैठक भइरहेका वेला शाक्यसहितका नेताहरू पक्राउ परेका थिए । प्रहरीले दैनिक यातना दिँदा पनि उनले हिम्मत हारिनन् । ०४६ मा बहुदल स्थापनापछि जेलमुक्त भएकी थिइन् ।

पार्टीको पाँचौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएकी शाक्य नवौँ अधिवेशनबाट एमाले उपाध्यक्ष बनिन् । दुईपटक संघीय सरकारको मन्त्री बनेकी उनी पहिलो महिला मुख्यमन्त्रीसमेत हुन् । अघिल्लो कार्यकालमा उनी बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् ।

एमाले पूर्वसांसद नारायण ढकाल ज्ञवाली र शाक्यको निर्णय प्रगतिशिल र सकारात्मक भएको बताउँदै अध्यक्ष ओलीले भने समयको माग र जेन जी आन्दोलनको स्पिरिट नबुझेको बताउँछन् । ‘ज्ञवाली र शाक्यको निर्णय प्रगतिशील र सकारात्मक हो । एमालेको परिमार्जित विधानले उहाँँहरूलाई रोक्दैन थियो । तर, मुल्य मान्यता र नैतिकताको आधारमा उहाँहरूले छोड्ने निर्णय लिनुभयो, यो राम्रो कुरा भयो । अरु नेताले पनि  ज्ञवाली र शाक्यबाट नैतिक शिक्षा लिदा राम्रो हुन्थ्यो,’ उनले भने, ‘तर, मुल नेतृत्व (केपी ओली) को छोड्ने छाँट देखिँदैन । उहाँ त आफू अनुकुल विधान नै संशोधन गरेर तेस्रोपटक अध्यक्ष बन्न खोज्दै हुनुहुन्छ । समयको माग र जेनजी आन्दोलनको स्पिरिट पनि उहाँले बुझ्न सक्नुभएन ।’ 

ज्ञवाली र शाक्यले देखाएको नैतिकताप्रति एमाले नेता काशीनाथ अधिकारीले सम्मान जनाए । ज्ञवाली र शाक्यले जस्तै अब पुराना नेताहरूले नयाँ पुस्तालाई उत्प्रेरित गर्नुपर्ने बताए । ‘उहाँहरू लामो राजनीतिक इतिहास भएको नेता हुनुहुन्छ । उमेरलगायत आफ्नो मनस्थितिका कारणले अब पार्टीको थप जिम्मेवारी नलिने घोषणा गर्नुभयो । उहाँहरूले स्वाभाविक रूपमा नेतृत्वको दाबी छाड्नुभयो,’ नेता अधिकारीले भने, ‘नयाँ पुस्तालाई अगाडि बढाउनुपर्छ भन्ने उहाँहरूको सोचलाई सकारात्मक रूपमा लिनुपर्छ । हामीले नयाँ पुस्तालाई उत्प्रेरित गर्दै लानुपर्छ ।’

स्थायी कमिटी सदस्य केशव बडाल, पोलिटब्युरो सदस्य चुडामणि जंगली र दलबहादुर रानाले पनि एमालेको सक्रिय राजनीति नगर्ने घोषणा गरेका छन् । उमेरहदकै कारण विगतमा पनि एमाले नेताहरूले सक्रिय राजनीति छाडेका थिए । नवौँ महाधिवेशनमा उमेरहदका कारण भरतमोहन अधिकारी र सिद्धिलाल श्रेष्ठले सक्रिय राजनीति छाडेका थिए ।

सुझावित समाचार