जेन-जी घटनामा भएको मानवीय तथा भौतिक क्षतिबारे छानबिन गर्न गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रहरी प्रमुखसँग सोधपुछ थालेको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखसँग सोधपुछ थालिएको हो।
आयोगले तीनै निकायका प्रमुखलाई बोलाइसकेको छ। मंगलबार सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालसँग सोधपुछ गरेको छ। आन्दोलनको समयमा सशस्त्र प्रहरीले निभाएको भूमिकाबारे उनीसँग सोधपुछ गरिएको आयोगका एक अधिकारीले बताए।
नेपाल प्रहरीका तत्कालीन आइजिपी चन्द्रकुबेर खापुङ तथा वर्तमान आइजिपी दानबहादुर कार्कीलाई पनि बोलाइसकेको छ।
राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख हुतराज थापासँग भने आयोगले दुई साताअघि नै सोधपुछ गरिसकेको छ।
आइजिपीपछि तत्कालीन गृहसचिव गोकर्णमणि दुवाडी, गृहमन्त्री रमेश लेखक तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग बयान लिने आयोगको तयारी छ।