- १८ देखि ३४ वर्ष उमेर समूहका क्यानेडियनहरूले अन्य उमेर समूहका व्यक्तिहरूको तुलनामा मतदान गर्ने सम्भावना कम छ । सन् २०१५ देखि २०२१ सम्म क्यानडाको मतदानमा सबैभन्दा ठुलो गिरावट आएको थियो । त्यतिवेला मतदानका लागि योग्य युवाहरूमध्ये आधाभन्दा कम मात्र मतदानमा सहभागी भए ।
अहिले विश्वभरि राजनीतिक संस्थाहरू निकै नै जोखिममा छन् र लोकतन्त्र अनिश्चितताको भुमरीमा परेको छ । राजनीतिक विभाजनको गहिराइ, राजनीतिक उदासीनता र अवसरवादी नेताहरूको उदयले लोकतन्त्रलाई अस्वाभाविक धक्का लागेको छ भने देशहरूलाई बढ्दो अधिनायकवादतर्फ उन्मुख गरेको छ । यी चुनौतीको सामना गर्न सक्रिय र छलफलमा संलग्न सचेत नागरिकको आवश्यकता छ । क्यानडामा विशेष गरी युवाहरूमा नागरिक संलग्नता घट्दै गएको भावना बलियो हुन थालेको छ । क्यानडेलीका लागि शैक्षिक, स्वास्थ्य र वातावरणीय क्षेत्रमा काम गर्ने परोपकारी संस्था म्याक्स बेल फाउन्डेसनले हालै गरेको अनुसन्धानले वास्तविक अवस्था र परिस्थिति अझ जटिल हुन सक्ने सुझाव दिन्छ । राजनीतिक संलग्नतासम्बन्धी हाम्रो अनुसन्धानले पत्ता लगाएको छ कि आजका युवा क्यानेडियनहरू परम्परागत राजनीतिक गतिविधिमा निकै थोरै मात्रामा सहभागी भइरहेका छन्, तर तिनीहरू अन्य तरिकाहरूमा (कम परम्परागत) बढ्दो रूपमा सक्रिय छन् । हामी युवाहरूलाई नागरिक जीवनका सबै रूपमा संलग्न हुन कसरी प्रोत्साहित गर्छौंँ ? यो कुरा राज्यले लिने नीति र युवाको इच्छाशक्तिमा निर्भर छ ।
मतपत्र भर्सेज बहिष्कार
यहाँ क्यानडा इलेक्सन स्टडी एन्ड डेमोक्रेसी जाँच परियोजनामार्फत संकलन गरिएको इलेक्सन क्यानडा भोटिङ डेटा र सर्भे डेटाको हाम्रो विश्लेषणको निष्कर्ष व्याख्या गर्नु उपयुक्त हुन्छ । विश्लेषणले यो स्पष्ट रूपमा देखाउँछ कि युवाहरू नागरिक र राजनीतिक जीवनमा वयस्क वृद्ध क्यानेडियनभन्दा फरक रूपमा सहभागी हुन्छन् । १८ देखि ३४ वर्ष उमेर समूहका क्यानेडियनहरूले अन्य उमेर समूहका व्यक्तिहरूको तुलनामा मतदान गर्ने सम्भावना कम छ । सन् २०१५ देखि २०२१ सम्म क्यानडाको मतदानमा सबैभन्दा ठुलो गिरावट आएको थियो । त्यतिवेला मतदानका लागि योग्य युवाहरूमध्ये आधाभन्दा कम मात्र मतदानमा सहभागी भए । युवाहरू सामान्यतया वयस्क र वृद्धभन्दा राजनीतिक रूपमा कम जानकार र थोरै मात्रामा सुसूचित हुने गरेको हाम्रो अध्ययनको निष्कर्ष हो ।
तर, युवा क्यानेडियनहरू अनलाइन राजनीतिको बारेमा छलफल गर्ने मामलामा, सामाजिक सञ्जालमा राजनीतिज्ञहरूलाई पछ्याउने र डिजिटल प्लेटफर्ममार्फत आफ्ना साथीहरूलाई परिचालन गर्ने कुरामा भने अग्रपंक्तिमा छन् । उनीहरूले विरोध प्रदर्शन, याचिका र राजनीतिक उपभोक्तावादमा भाग लिने सम्भावना पनि बढी हुन्छ (प्रतिबन्धदेखि बहिष्कारसम्म) र अन्य उमेर समूहभन्दा उच्चदरमा सामुदायिक संस्था र राजनीतिक अभियानसँग मिलेर स्वयंसेवामूलक कार्य गर्ने सम्भावना पनि उत्तिकै बढी हुन्छ । त्यसमा उनीहरूको गहन चासो हुने गर्छ । वास्तविक कथा यो होइन कि युवाहरूले विद्यमान राजनीतिक तथा सामाजिक गतिविधिलाई वास्ता गर्दैनन् । उनीहरूमा राजनीतिक चेत छैन भन्ने कुरा सरासर गलत हो । बरु यो हो कि तिनीहरू आफ्ना विचारहरू साझा गर्ने वा व्यक्त गर्ने वैकल्पिक तरिकामा अभ्यस्त छन् । फरक यो हो कि उनीहरू परम्परागत र औपचारिक सहभागिताबाट भने टाढै बस्न रुचाउँछन् ।
प्रमुख विषयमा फरक धारणा राख्छन् युवा
हाम्रो विश्लेषणले सुझाव दिन्छ कि युवा क्यानेडियनहरू उनीहरूका पुराना समकक्षीभन्दा प्रमुख विषयमा फरक छन् । धेरै युवा क्यानेडियनहरूले समय अभावका कारण छलफलमा बाधा आएको गुनासो गर्छन् । त्यसो त कतिपय युवामा राजनीतिक ज्ञानको स्तर अपरिपक्व हुन्छ, केही युवाको राजनीतिमा रुचिको स्तर पनि न्युन हुन्छ । तै पनि युवाहरू राजनीति र उनीहरूले चासो राख्ने मुद्दाबिच सम्बन्ध कायम राख्न संघर्षरत छन् । हाम्रो अनुसन्धानले यो पनि सुझाव दिन्छ कि युवाले मतदानजस्ता नागरिक सहभागितालाई कर्तव्यको रूपमा हेर्ने सम्भावना कम हुन्छ । यसले एक विशेष चुनौती प्रस्तुत गर्दछ, किनभने युवाहरूले आफ्नो सहभागिताको महत्व छ भन्ने कुरामा उच्चस्तरको शंका व्यक्त गर्छन् । एउटा अन्तिम आश्चर्यजनक खोज यो हो कि राजनीतिक ध्रुवीकरणले युवालाई कसरी असर गर्छ भनेर बुझ्नका लागि उनीहरूलाई ध्यान दिन र उनीहरूका आवश्यकता बुझ्नु अपरिहार्य छ । युवाहरू उनीहरूले बेवास्ता गर्न चाहने शत्रुता र द्वन्द्वले राजनीतिबाट बढ्दो रूपमा टाढा हुन सक्छन् भन्ने विषयलाई नकार्न सकिँदैन ।
अप्रत्यक्ष रूपमा चासो दिन्छन् युवा
युवाहरू आफ्नो वरपर के भइरहेको छ भनेर ध्यान दिन छोडेको देखिँदैन, तर संलग्न हुने फरक तरिका छन् । औपचारिक संस्थामार्फत राजनीतिक संलग्नतामा घट्दो चासो क्यानडामा लोकतन्त्रका लागि वास्तविक चिन्ताको विषय हो । त्यसोभए युवाहरू पहिले नै संलग्न भइरहेका क्षेत्रहरूमा कसरी सहभागी गराउने र युवाहरूलाई मतदानजस्ता परम्परागत नागरिक संलग्नतामा कसरी फिर्ता ल्याउने ? नागरिक समाज संस्थाहरूसँगको हाम्रो कुराकानीले सुझाव दिन्छ कि नागरिक संलग्नता विद्यालयहरूमा प्रभावकारी नागरिक शिक्षा कार्यक्रमबाट सुरु हुन्छ । यी कार्यक्रमले शिक्षक प्रशिक्षणदेखि पाठ्यक्रम डिजाइन र दिगोपनसम्म मानिसले सामना गरेका चुनौतीलाई प्रकाश पार्छ । अनुसन्धानका क्रममा हाम्रा अन्तर्वार्ताकारहरूले आफ्ना सफल रणनीति साझा गरे र युवाहरू जहाँ छन् त्यहाँ पुग्नुको महत्वमा जोड दिए ।
विश्वभरका लोकतन्त्र दबाबमा
विश्वभरका लोकतन्त्रहरू दबाबमा छन् र क्यानडा पनि यसको अपवाद छैन । अहिलेको अवस्थामा युवाहरूको ठूलो संख्यालाई नागरिक छलफल र विभिन्न विषयमा हुने बहसमा केन्द्रित गर्नु पहिलेभन्दा बढी महत्वपूर्ण छ । नागरिक शिक्षामा लगानी र जीवनको सुरुवातमै नागरिक सहभागितालाई प्रोत्साहित गर्नाले युवाहरूको राजनीतिमा आवाज सुनिश्चित गर्न सहयोग गर्छ । तर, सायद अझ महत्वपूर्ण कुरा यसले नागरिक संलग्नताले कसरी परिवर्तन ल्याउन सक्छ र शक्तिहीनताको भावनालाई चुनौती दिन सक्छ भनेर पनि देखाउन सक्छ । युवा सहभागिताले जीवनभरलाई काम लाग्ने बानी विकास गर्न मद्दत गर्दछ र आगामी पुस्ताका लागि लोकतन्त्रलाई दिगो बनाउन आवश्यक छ । क्यानेडियन लोकतन्त्रको भविष्य हाम्रा युवाहरूको हातमा छ । देशको भविष्यलाई राम्रो आका दिन उनीहरूलाई ज्ञान र सीपहरूले सुसज्जित गर्नुपर्छ । ज्ञान, शिक्षा र सीप प्रदान गर्न कोही पनि चुक्नु हुँदैन र राज्यले पनि यस विषयमा उनीहरूलाई उत्प्रेरणा दिनुपर्छ ।
(कन्भर्सेसनका लागि क्रिस्टोफर अल्कान्ट्रा, क्रेग मटर र लाउरा स्टेफेन्सनको आलेख)