सिराहा प्रहरीले जिल्लाको नरहा र गोलबजारबाट कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थसहित ६ जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार बिहीबार मध्यरातमा पूर्व पश्चिम लोकमार्गअन्तर्गत नरहा गाउँपालिका ३ चोहर्चा चोकबाट उदयपुर र सर्लाहीका चारजना युवकहरुलाई पक्राउ गरिएको हो ।
गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलीले शंकास्पद अवस्थामा भेटिएका चार जनालाई नियन्त्रणमा लिई चेकजाँच गर्दा ब्राउनसुगरजस्तो देखिने प्लाष्टिक बाहेक ६ ग्राम ५ मिलिग्राम खैरो पदार्थ, चार थान स्मार्ट फोन र एक थान डिजिटल तराजु बरामद भएको सिरहा प्रहरीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए।
उनका अनुसार पक्राउ पर्नेहरुमा उदयपुर जिल्लाको कटारी नगरपालिका २ बस्ने करिब २३ वर्षीय केदारकुमार मगर, करिब १९ वर्षीय अर्थमान थापा र ३३ वर्षीय देवप्रसाद प्रसाई तथा सर्लाहीको हरिवन नगरपालिका १० का करिब ३२ वर्षीय कृष्ण रिजाल रहेका छन्। रिजालले लगाएको ज्याकेटको गोजीमा कालो रङको प्लाष्टिकमा पोका बनाएर लुकाएको ब्राउनसुगर जस्तो देखिने गिलो पदार्थ बरामद भएपछि चार जनालाई पक्राउ गरी मिर्चैया प्रहरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
त्यस्तै, गोलबजार नगरपालिका ६ स्थित हटिया बजारमा लागूऔषध बिक्री वितरण भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार शंकास्पद अवस्थामा भेटिएका नरहा ३ खोरिया टोल बस्ने करिब २१ वर्षीय समिर लहेरी र गोलबजार ६ बस्ने करिब २६ वर्षीय राजन विश्वकर्मालाई ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थसहित पक्राउ गरिएको हो ।
प्रहरीले लहेरीको साथबाट १० रुपैयाँको नोटमा दुईवटा स–सानो पोका बनाएर लुकाएको प्लास्टिकबाहेक १३० मिलिग्राम खैरो पदार्थ र विश्वकर्माको साथबाट नगद १० हजार पाँच सय रुपैयाँ बरामद भएको जनाएको छ। पक्राउ परेका दुवैजनालाई गोलबजार इलाका प्रहरीमा राखेर अनुसन्धान गरिरहेको जनाइएको छ ।