वैकल्पिक राजनीतिको अग्रणी दल विवेकशील साझा पार्टीले राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरण गर्ने निर्णय गरेको छ । पार्टीको बुधबार बसेको केन्द्रीय समिति बैठकले पार्टी उपाध्यक्ष एवं संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारको वैकल्पिक राजनीतिक दलबिचको ‘बृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्ताव’ लाई सर्वसम्मत अनुमोदन गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णयलाई पारित गरेको हो । ‘वैकल्पिक राजनीतिक शक्तिको अपरिहार्यताको महसुस भइरहेका वेला नवयुवाहरूको आन्दोलन ‘जेन–जी विद्रोह’ले विवेकशील साझा पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबिचको एकीकरणलाई तीव्रत्तर बनाइदियो, निर्वाचनमा पहिलो शक्ति भएर नेपाली जनताको विकास, समृद्धि र सुशासनको उत्कट चाहनालाई परिणाममुखी बनाउने राजकीय दायित्वलाई सफल बनाउने प्रतिबद्धताका साथ एकीकरण गरिएको हो, यसले राष्ट्रिय सन्देश दिन्छ,’ उपाध्यक्ष परियारले भने ।
प्रवक्ता आशुतोष प्रधानका अनुसार पार्टी एकीकरणका अन्य प्राविधिक सवालहरू दुवै दलका नेतृत्वहरूको उच्च समझदारीको जगमा चाँडै सहमतिमा टुंग्याइनेछ । आगामी आइतबार राष्ट्रिय सभागृहमा घोषणा कार्यक्रम हुनेछ । वैकल्पिक राजनीतिका प्रणेता पार्टीका संस्थापक स्व. उज्ज्वल थापाको योगदान र ‘विवेकशील आन्दोलन’लाई लिपिबद्ध गर्ने र प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउने मुख्य बुँदामा दुई दलबिच एकीकरण भएको प्रधानले बताए ।
कांग्रेस नेता शर्माले भेटे रवि
कांग्रेस नेता एवं निवर्तमान सांसद डा. सुनील शर्माले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेट गरेका छन् । बुधबार नक्खु कारागार पुगेर लामिछानेलाई भेटेका शर्माले तत्काल रिहा गर्न सरकार र न्यायालयको ध्यानाकर्षण गराएका छन् । ‘हाम्रो संसद्भित्र सँगै बसेको मेरो मित्र रवि लामिछाने लामो समयसम्म जेलमा बसेको अवस्थामा मानवीयता र मित्रताको कर्तव्यले भेट्न गएको हुँ । रविजीलाई जेलमा हाल्ने सबै पोलिटिकल फन्डा हो । नेपालमा १५ वटा संसदीय छानबिन समिति बने । तर, एउटा मात्र रिपोर्ट क्याबिनेटमा लगियो र फर्वाड गर्ने काम गरियो, कांग्रेससहितको अघिल्लो गठबन्धन सरकारका वेला । तर, के भयो धेरै अपराध गरेपछि जेन–जी आन्दोलन देखिहाल्नुभएको छ,’ उनले भने ।
चार दल/समूह नेकपामा समाहित हुँदै
नेपाली कम्युनिस्ट पार्टीमा जनता समाजवादी पार्टी एकीकरण पक्षधर समूह, जनजागरण पार्टी नेपाल, नेकपा बहुमत विद्रोही समूह र नेकपा माओवादी विद्रोही समूह समायोजन हुँदै छन् । जसपा एकता पक्षधर राजेन्द्र श्रेष्ठको नेतृत्वमा, जनजागरण पार्टी बिपी खनालको नेतृत्वमा, माओवादी विद्रोह गोपाल सीको नेतृत्वमा र नेकपा बहुमतको विद्रोही समूह शरद रसाइलीको नेतृत्वमा नेकपामा समाहित हुँदै छन् । राष्ट्रिय सभागृहमा बिहीबार दिउँसो १ बजे पार्टी समायोजन कार्यक्रम राखिएको छ । कार्यक्रमलाई संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपालसहित समायोजन प्रक्रियामा सहभागी पार्टी र समूहका शीर्ष नेताले सम्बोधन गर्ने तयारी छ । जसपा एकीकरण पक्षधरबाट श्रेष्ठसहित केन्द्रीय समिति उपाध्यक्षहरू रणध्वज लिम्बू (कन्दङ्वा) र परशुराम बस्नेत, केन्द्रीय सल्लाहकार समिति अध्यक्ष दुर्गामणि देवान, केन्द्रीय विज्ञ परिषद् अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र केन्द्रीय अनुशासन आयोग अध्यक्ष कृष्णबहादुर घजूलगयत नेता तथा कार्यकर्ता नेकपामा समाहित हुँदै छन् ।
एकीकृत समाजवादी पुनर्गठन अभियान र नेकपा संयुक्तबिच एकता
घनश्याम भुसाल नेतृत्वको एकीकृत समाजवादी पुनर्गठन अभियान र चन्द्रदेव जोशी नेतृत्वको नेकपा संयुक्तबिच एकता हुँदै छ । भुसालको नेतृत्व कायम रहने गरी एकता हुने पुनर्गठन अभियानका प्रचार विभाग प्रमुख दामोदर अर्यालले बताए । ‘बिहीबार एकताको घोषणा हुन्छ । चन्द्रदेव जोशीको सम्मान यथावत् रहने गरी कार्यकारी भूमिकामा घनश्याम भुसाल रहनुहुन्छ,’ उनले भने ।
खगेन्द्र सुनारको हाम्रो पार्टीले उज्यालो नेपाल पार्टीको चिह्नबाट चुनाव लड्ने
खगेन्द्र सुनारको हाम्रो पार्टी नेपालले कुलमान घिसिङको उज्यालो नेपाल पार्टीकै चुनाव चिह्नबाट निर्वाचनमा भाग लिने भएको छ । बानेश्वरमा बुधबार आयोजित कार्यक्रममा सुनारको पार्टी उज्यालो नेपालको ‘बलिरहेको चिम’ चिह्नबाट चुनाव लड्ने घोषणा गरिएको हो । सुनारले बुधबार नै निर्वाचन आयोगमा ‘बलिरहेको चिम’ चिह्नमा निर्वाचन लड्न निवेदन दिएका छन् । सुनार नेतृत्वको हाम्रो नेपाल पार्टीको चुनाव चिह्न ‘लाइक’ छ । उक्त पार्टी गत सोमबार मात्रै निर्वाचन आयोगमा दर्ता भएको थियो ।