पूर्वगुप्तचर प्रमुख थापा र डिआइजी रानासँग आयोगले लियो बयान

मंगलबार, १० मंसिर, २०८२
डिजिटल संस्करण

जेन–जी आन्दोलनमा भएको मानवीय तथा भौतिक क्षतिको विषयमा छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन राष्ट्रिय अनुसन्धान विभागका  प्रमुख हुतराज थापासँग बयान लिएको छ। सिंहदरबारस्थित कार्यालयमा बोलाएर आयोगले मंगलबार उनको बयान लिएको हो। 

आयोगले यसअघि उनलाई विदेश जान रोक लगाई अनुमतिबेगर उपत्यका छाड्न पनि रोक लगाएको थियो । जेन–जी आन्दोलनको समयमा गुप्तचर पनि असफल भएको भनेर आलोचना भएपछि विभागका प्रमुखसहितका अधिकारीलाई पनि आयोगले छानबिनको दायरामा ल्याएको हो । मंगलबार उनको बयान नसकिएको स्रोत बताउँछ । 

त्यस्तै, आयोगले नेपाल प्रहरीका डिआइजी ओम रानासँग पनि बयान लिएको छ। राना हाल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत छन्। २३ भदौमा उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयको निमित्त प्रमुख थिए । २४ भदौमा पनि उपत्यकामै थिए। खासगरी २३ भदौको आन्दोलनमा विद्यार्थीमाथि गोली प्रहारको घटनामा केन्द्रित भएर उनीसँग आयोगले बयान लिएको छ । 

आयोगले तत्कालीन प्रधामन्त्री केपी ओली, गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी, तत्कालीन आइजिपी चन्द्रकुवेर खापुङ तथा काठमाडौंका तत्कालीन सिडिओ छवि रिजाललाई विदेश जान रोक लगाई बयानमा बोलाउने तयारी गरेको छ । 

आयोगको म्याद अब २५ दिन मात्र बाँकी रहेकाले सबैको बयान सकेर प्रतिवेदन लेखन थालिने आयोगका एक अधिकारीले बताए। 

सुझावित समाचार