- सचिवहरूको वरीयतामा पहिलो नम्बरमा रहेका सुमनराज अर्याल नयाँ मुख्यसचिवमा नियुक्त, ५८ वर्षे अनिवार्य अवकाश उमेरका कारण करिब साढे सात महिना मात्र पदमा बहाल रहने
सरकारले रक्षासचिव सुमनराज अर्याललाई मुख्यसचिव बनाउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई आगामी मुख्यसचिव पदमा नियुक्त गर्ने निर्णय लिएको हो । हाल सचिवहरूको वरिष्ठताक्रममा अर्याल पहिलो नम्बरमा छन् ।
मुख्यसचिव एकनारायण अर्याल उमेरहदका कारण बुधबार अवकाशमा जान लागेको दुई दिनअघि सरकारले उक्त पदमा नयाँ नियुक्ति गर्ने निर्णय लिएको हो । ‘मुख्यसचिव एकनारायण अर्यालको कार्यकाल बुधबारसम्म छ । लगत्तै जिम्मेवारीमा रहने गरी सुमनराज अर्याललाई नियुक्त गर्ने निर्णय मन्त्रिपरिषद्मा भएको छ,’ सरकारका प्रवक्ता जगदीश खरेलले नयाँ पत्रिकासँग भने ।
सचिवहरूमध्येबाट मुख्यसचिवमा नियुक्ति गर्ने कानुनी व्यवस्था र अभ्यास छ । सोहीअनुसार आगामी मुख्यसचिव बन्न प्रतिस्पर्धामा झन्डै आधा दर्जन सचिव आकांक्षी थिए । तर, सरकारले वरिष्ठताक्रमअनुसार नियुक्ति गरेको छ । अर्यालसहित प्रमिलादेवी बज्राचार्य, मधुसुधन बुर्लाकोटी, कृष्णहरि पुस्कर, रामप्रसाद घिमिरेलगायत मुख्यसचिवको प्रतिस्पर्धामा थिए । यसअघि सरकारले प्रहरी नेतृत्व पनि वरिष्ठताक्रमअनुसार नियुक्त गरेको थियो । वरीयताक्रमअनुसार गरेकाले नियुक्ति निर्विवाद हुन गएको छ ।
उमेरहदका कारण अर्याल लामो समय मुख्यसचिवको पदमा बहाल रहने अवस्था भने छैन । मुख्यसचिवको कार्यकाल तीन वर्ष हुने व्यवस्था भए पनि त्यसअघि नै ५८ वर्षे अनिवार्य अवकाश उमेरका कारण अर्याल अवकाशमा जानेछन् । आगामी २५ असारसम्म गरेर करिब साढे सात महिना उनी मुख्यसचिवमा बहाल रहनेछन् ।
अर्याल १९ माघ ०७७ मा सचिव भएका थिए । सचिवको पाँचवर्षे कार्यकालका कारण उनी आगामी १९ माघमा पदबाट अवकाश हुँदै थिए । त्यसको करिब साढे दुई महिनाअघि नै सरकारले मुख्यसचिव नियुक्ति गरिदिएपछि ५८ वर्षे अनिवार्य अवकाशको उमेरहदको समय बाँकी रहेका कारण उनले थप पाँच महिना मुख्यसचिव रहने अवसर पाएका छन् ।
काठमाडौंको जोरपाटीका अर्याल तथ्यांक सेवाका कर्मचारी हुन् । उनले त्रिभुवन विश्वविद्यालयबाट तथ्यांकशास्त्रमा ‘एमएस्सी’ गरेका छन् । १९ वैशाख ०५३ मा तथ्यांक अधिकृतबाट उनले निजामती सेवा प्रवेश गरेका थिए । सरकारको निर्णयसँगै उनले हाल कार्यरत एक लाखभन्दा बढी निजामती कर्मचारीको अभिभावकीय नेतृत्व सम्हाल्ने अवसर पाएका छन् ।
अर्याल साबिक तथ्यांक विभागको महानिर्देशक हुँदै सचिव भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, राष्ट्रिय योजना आयोग, महिला तथा बालबालिका मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालयलगायतमा कार्यरत रहे । पछिल्लोपटक उनी रक्षा मन्त्रालयमा कार्यरत थिए । उनी करिब दुई महिना रक्षासचिव बने । अर्याल निजामती सेवामा बहाल रहँदा कुनै पनि सार्वजनिक विवादमा परेनन् ।
मुख्सचिवमा नियुक्ति गर्ने सरकारको निर्णयपछि नयाँ पत्रिकालाई छोटो प्रतिक्रिया दिँदै अर्यालले पदमा बसेर व्यावसायिक धर्म निर्वाह गर्ने बताए । ‘प्रशासनका समस्या र कर्मचारीको उत्साह बढाउने गरी काम गर्छु,’ उनले भने ।