नेपालको पहिलो आधुनिक सुरुङमार्ग ‘सिस्नेखोला–नागढुंगा’मा बाँकी काम सम्पन्न गर्न जापानिज निर्माण कम्पनी हाज्मा एन्डो कर्पाेरेसनलाई ६ महिना म्याद थप गर्ने तयारी गरिएको छ ।
सुरुङमार्ग तयार भए तापनि परियोजनामा पहिरो नियन्त्रणलगायतका भौतिक निर्माणका काम भने बाँकी नै छन् । विशेष गरी सुरुङमार्गको पश्चिम प्रवेशद्वार जोड्ने सडकमा पहिरो नियन्त्रणको काम बाँकी छ । पश्चिम सडकको माथिल्लो साइटमा भिरालो पहाड छ, जहाँ पटक–पटक पहिरो जाने समस्या छ । त्यो काम सम्पन्न गर्न निर्माण कम्पनीलाई ६ महिना म्याद थप गर्न लागिएको हो । निर्माण कम्पनीले पहिरो नियन्त्रणको काम गर्न सडक विभागमा डिजाइन पेस गरिसकेको छ । विभागले त्यो स्वीकृति गरेपछि पहिरो नियन्त्रणको काम अघि बढ्नेछ ।
निर्माण कम्पनीलाई दिएको पछिल्लो म्याद गत २५ अक्टोबर अर्थात् ७ कात्तिकमै सकिएको छ । त्यसपछि म्याद थप नभए पनि कम्पनीले काम भने गरिरहेको छ ।परियोजनाका सिनियर डिभिजनल इन्जिनियर सञ्जय पन्थले निर्माण कम्पनीलाई ६ महिना म्याद दिने सहमति भए पनि निर्णय हुन बाँकी रहेको बताए । ‘पहिलो नियन्त्रणको डिजाइन फाइनल हुन बाँकी छ । डिजाइनले अन्तिम रूप पाएपछि म्याद थपबारे निर्णय हुनेछ,’ उनले भने, ‘कात्तिक ८ गतेबाट लागू हुने गरेर ६ महिना म्याद थप गर्ने प्रारम्भिक सहमति भएको छ ।’
निर्माण कम्पनीलाई यसअघि पनि तीनपटक म्याद थप गरिसकिएको थियो । सुरुङमार्ग निर्माणका लािग सडक विभाग र कम्पनीबिच सेप्टेम्बर २०१९ मा ठेक्का सम्झौता भएको थियो । ठेक्का रकम झन्डै साढे १३ अर्ब रुपैयाँ छ । त्यसको ४२ महिना अर्थात् अप्रिल ०२३ भित्र आयोजनाको निर्माण सम्पन्न गर्नुपर्ने पहिलो सम्झौता थियो । तर, बिचमा कोरोना महामारीलगायतका कारण पनि आयोजनाको निर्माणकार्य प्रभावित भयो । त्यसपछि कोरोनाका कारण ८६ दिनसहित गरेर दुईपटक म्याद थप गरेर अप्रिल ०२४ सम्म पुर्याइएको थियो । तर, त्यस अवधिमा पनि कम्पनीले सम्पन्न गर्न सकेन । त्यसपछि कम्पनीलाई १८ महिना म्याद थप गरेर २५ अक्टोबर ०२५ सम्म पुर्याइएको थियो, जुन म्याद गत ७ कात्तिकमा सकिएको थियो । अहिले थप ६ महिना म्याद थप गर्न लागिएको छ । यो अवधिमा भने परियोजना सम्पन्न हुने सडक विभागको अपेक्षा छ ।
सुरुङमार्ग सञ्चालन गर्न सडक विभागले विदेशी सर्भिस प्रोभाइडर कम्पनी ल्याउँदै छ । त्यसका लागि गत १६ कात्तिकमा ४५ दिने अन्तर्राष्ट्रिय टेन्डर आह्वान गरिएको छ । नेपालमा सडक विभागसहित अन्य कुनै पनि निकाय तथा कम्पनीसँग सुरुङमार्ग सञ्चालनको अनुभव छैन । त्यसैले पहिलो पाँच वर्षका लागि विदेशी कम्पनी ल्याउन लागिएको हो । यद्यपि, विदेशी कम्पनीले अनिवार्य रूपमा संयुक्त उपक्रममा नेपाली कम्पनी समावेश गर्नुपर्नेछ । अबको तीन महिनामा सेवाप्रदायक छनोट गर्ने र पश्चिमतर्फ पहिरो नियन्त्रणको काम सुरु गरेर सडक चौडा गर्ने तथा टोलबुथ बनाएर सुरुङमार्ग सञ्चालन गर्ने लक्ष्य छ । यसअघि २०२६ जनवरी १ तारिख (पुस १७) बाट सुरुङमार्ग सञ्चालन गर्न लक्ष्य राखिएको थियो । तर, अब त्यो मितिमा सुरुङमार्ग सञ्चालनमा नआउने पक्का भएको छ ।
कस्तो छ सुरुङमार्ग ?
परियोजनामा मुख्यत: दुई सुरुङमार्ग छन् । आयोजनामा मुख्य सुरुङको लम्बाइ दुई हजार ६ सय ८८ मिटर रहेको छ । यस्तै, सहायक (इभ्याकुएसन) सुरुङको कुल लम्बाइ दुई हजार पाँच सय ५७ मिटर रहेको छ । मुख्य सुरुङ नियमित रूपमा सञ्चालन गरिनेछ भने सहायक सुरुङ आपत्कालीन समयमा उद्धारका लागि सञ्चालन गरिनेछ । यहाँको लेनलाई अन्य सडकमा जसरी कालोपत्रे गरिएको छैन । सुरुङभित्रको सडकलाई ‘कन्टिन्युअस्ली रिइन्फोस्र्ड कङ्क्रिट पेवमेन्ट’ (सिआरसिपी) प्रविधिबाट क्रंकिट गरिएको छ । त्यसमा दुई तहमा ‘२० एमएम’का स्टिल राखेर ३० सेन्टिमिटरको मोटाइमा क्रंकिट गरिएको छ । नेपालमा यो प्रविधिबाट सडक लेन क्रंकिट गरेको पहिलोपटक हो ।
यो प्रविधिले सुरुङलाई स्थिर राख्न पनि सहयोग पुग्नेछ । यस्तै, सुरुङबाहिरको सडक लेनलाई भने ‘रिइन्फोस्र्ड कङ्क्रिट पेवमेन्ट’ (आरसिपी) प्रविधिमा क्रंकिट गरिएको छ । सुरुङभित्र र बाहिरको सडक जोडिने ठाउँमा भने ‘जोइन्ट रिइन्फोस्र्ड कङ्क्रिट पेवमेन्ट’ (जेआरसिपी) प्रविधिमा क्रंकिट गरिएको छ । यो प्रविधिबाट सडक क्रंकिट गर्दा ५० वर्षसम्म टिक्नेछ ।
सुरुङमार्गभित्र दुई लेन सडक छन् । यद्यपि, सुरुङमार्गभित्र सवारीसाधनले ‘ओभरटेक’ गर्न पाउनेछैनन् । वितपरीत लेनमा सवारीसाधन जान नदिनका लागि बिचमा डिभाइडरको सट्टा सडकलाई सामान्य ‘खाल्डो’जस्तो बनाइएको छ । सुरुङमार्गभित्र अक्सिजन तथा एयर कुलरको व्यवस्था छ । साथै, अग्नि नियन्त्रणका लागि पनि आवश्यक व्यवस्था गरिएको छ । यस्तै, सुरुङमार्ग सञ्चालन गर्न नियमित रूपमा दुई मेगावाट विद्युत् आवश्यक पर्छ । यसका लागि नेपाल विद्युत् प्राधिकरण डेडिकेटेड फिडरमार्फत विद्युत् आपूर्ति गरिरहेको छ । यदि, कुनै कारणवश विद्युत् गएमा ‘व्याकअप’मा डिजेल प्लान्ट (जेनेरेटर) राखिएको छ ।