७०% नेपालीलाई घरखर्च धान्न कठिन

मंगलबार, २७ असोज, २०८३
प्रिन्ट संस्करण
  • ह्याबिटाट फर ह्युमानिटीको प्रतिवेदनअनुसार नेपालका १२ लाखभन्दा बढी मानिससँग छैन सुरक्षित जमिन वा आवास, करिब १३ लाख परिवार अनौपचारिक भूस्वामित्वमा 

नेपालमा प्रत्येक १० नेपालीमा सातजना अर्थात् ७० प्रतिशतलाई घरखर्च धान्न कठिन हुने गरेको देखिएको छ । ह्याबिटाट फर ह्युमानिटीले नेपालसहित २२ मुलुकमा गरेको अनुसन्धानले यस्तो देखाएको हो । ह्याबिटाट फर ह्युमानिटीले ‘होम एट ह्वाट कस्ट ?’ नाम हालै सार्वजनिक गरेको प्रतिवेदनको सर्वेक्षणमा २२ मुलुकका ३० हजार सात सय ५८ जना नागरिकलाई सहभागी गराएको थियो । त्यसमा नेपालका एक हजारजना नागरिक सहभागी थिए । उनीहरूसँगको अन्तर्वार्ताका क्रममा ७० प्रतिशतलाई घरखर्च धान्न नै कठिन भएको प्रतिवेदनले देखाएको छ ।

सर्वेक्षणमा सहभागी २२ देशको औसत अनुपात भने ३४ प्रतिशत मात्रै छ । ‘नेपालमा सर्वेक्षणमा सहभागीमध्ये १० जनामा सातजना (७० प्रतिशत)ले आफूलाई घरसँग सम्बन्धित खर्च धान्न पटक–पटक कठिनाइ हुने बताएका छन्,’ प्रतिवेदनमा भनिएको छ, ‘२२ देशमा गरिएको विश्वव्यापी सर्वेक्षणमा यस्तो समस्या बताउनेको औसत ३४ प्रतिशत मात्र छ ।’

त्यस्तै, नेपालका ७० प्रतिशत सहभागीले नै कुनै एउटा अप्रत्याशित समस्या आइपरेमा घरमा बसिरहन सक्ने क्षमतामै असर पर्न सक्ने चिन्ता व्यक्त गरेका छन । जबकि, विश्वव्यापी रूपमा यस्तो चिन्ता ४८ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख छ । विश्वका अन्य देशका बासिन्दाको तुलनामा नेपालका मानिसमा घरसम्बन्धी समस्या र चिन्ता धेरै देखिएको छ ।

प्रतिवेदनअनुसार धेरै नेपाली परिवार बिरामी, आम्दानीमा आउने अचानक कमी, विपत् वा बढ्दो खर्चजस्ता समस्यासँग जुध्न विवश छन् । पर्याप्त आर्थिक तथा सामाजिक आधारविना नेपालीले जीवन बिताएको प्रतिवेदनमा उल्लेख छ ।

सर्वेक्षणमा ७२ प्रतिशत नेपालीले ठुला प्राकृतिक घटनाका कारण आफ्नो घर तथा बसोवास गर्ने ठाउँ सुरक्षित नभएको बताएका छन् । विश्वव्यापी रूपमा यस्तो अनुपात ३० प्रतिशतन मात्रै छ । भूकम्प, बाढी र पहिरोको जोखिममा नियमित रूपमा पर्ने मुलुक भएकाले नेपालमा जलवायु तथा विपत् जोखिमप्रतिको चिन्ता उच्च हुनु स्वाभाविक भएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार नेपालका १२ लाखभन्दा बढी मानिससँग सुरक्षित जमिन वा आवास छैन । करिब १३ लाख परिवार अनौपचारिक भूस्वामित्वमा छन् ।

घरखर्चसम्बन्धी दबाबका कारण करिब २८ प्रतिशत नपालीले स्वास्थ्य उपचार गर्नसमेत ढिलाइ गरेका छन् । कतिपयले औषधि उपचारसमेत नगर्ने प्रतिवेदनमा उल्लेख छ । विश्वव्यापी रूपमा यस्तो अवस्था बताउनेको संख्या १३ प्रतिशत मात्र छ ।

नेपालमा करिब तीन चौथाई उत्तरदाता अर्थात् ७२ प्रतिशतले घरखर्चका कारण परिवारिक योजना बनाउन सकेका छैनन् । सन्तान भएकामध्ये ७३ प्रतिशतले उच्च घरखर्चका कारण छोराछोरीको अवसर सीमित रहेको बताए ।

यस्तै, ७८ प्रतिशत नेपालीले सस्तो मूल्यका घर पर्याप्त नभएको बताएका छन् । त्यस्तै, ७४ प्रतिशतले पहिलोपटक घर खरिद गर्नेलाई सहयोग गर्न विद्यमान नीति पर्याप्त नरहेको बताएका छन् ।

यस्तै, १० जनामा सातजना (६८ प्रतिशत)ले आवास आफ्नो जीवनमा तनावको सबैभन्दा ठुलो स्रोतमध्ये एक भएको बताएका छन् । विश्वव्यापी रूपमा यस्तो धारणा राख्नेको औसत ३५ प्रतिशत मात्र छ ।

त्यस्तै, ७१ प्रतिशतले आगामी वर्षमा आफूलाई जबर्जस्ती आफ्नो ठाउँबाट सर्नुपर्ने हुन सक्ने चिन्ता व्यक्त गरेका छन् । विश्वव्यापी रूपमा यस्तो चिन्ता ३४ प्रतिशतमा छ ।

सर्वेक्षणले देखाएका मुख्य बुँदा

  • ७० प्रतिशत नेपालीलाई घरखर्च धान्न कठिन
  • ७२ प्रतिशत नेपालीमा ठुला प्राकृतिक विपत्का कारण असुरक्षित महसुस 
  • १२ लाखभन्दा बढी मानिससँग छैन सुरक्षित जमिन तथा घर, करिब १३ लाख परिवारसँग छैन जग्गा
  • घरखर्च धान्न नसक्दा २८ प्रतिशत नेपालीले गर्दैनन् उपचार 
  • घरखर्च उच्च हुँदा छोराछोरीका अवसर सीमित
  • ७८ प्रतिशतले भेटेनन् सस्तो घर 
  • ६८ प्रतिशतका लागि आवास जीवनको ठुलो तनाव

सुझावित समाचार