देशमा एनपिएलको उमंग छाइरहेका वेला नेपाली क्रिकेटकै एउटा टिम विश्वकपकै उपाधि उचाल्ने अन्तिम प्रतिस्पर्धामा पुगेको छ । सरकारले कुनै लगानीसमेत नगरेको नेपाली टोली दृष्टिविहीन महिला टी–२० विश्वकपको फाइनलमा प्रवेश गरेको छ । सेमिफाइनलमा पाकिस्तानलाई हराएको नेपालले आइतबार उपाधिका लागि भारतसँग प्रतिस्पर्धा गर्दै छ । प्रतियोगितामा नेपाल र भारत एकपटक भिडिसकेका छन् ।
दृष्टिविहीन महिला टी– २० विश्वकप पहिलोपटक आयोजना भएको हो । पहिलो संस्करणमै नेपाल फाइनलमा स्थान बनाउन सफल भयो । श्रीलंकाको राजधानी कोलम्बोमा शनिबार सम्पन्न सेमिफाइनलमा नेपाली टोलीले पाकिस्तानलाई सात विकेटले हराएर यो यात्रा तय गरेको हो । कप्तान गीता पौडेलले उपाधि भिœयाउन आतुर रहेको बताइन् ।
‘प्रतियोगितको पहिलो खेलमा भारतसँग ८५ रनले पराजित भयौँ, तर फाइनलमा उपाधि उचाल्ने गरी खेल्छौँ,’ कप्तान गीता पौडेलले कोलम्बोबाट भनिन्, ‘पहिलो खेलपछि भएको गल्ती सुधारेर खेलेका छौँ, उपाधि उचाल्न आतुर छौँ ।’
प्रतियोगितमा ६ देश नेपाल, भारत, पाकिस्तान, अस्टे«लिया, श्रीलंका र अमेरिका सहभागी थिए । जसमध्ये नेपाल, भारत, पाकिस्तान र अस्ट्रेलिया तालिकाको शीर्ष चारमा रहँदै सेमिफाइनलमा प्रवेश गरेका थिए । भारत शीर्ष स्थानमा रहँदा नेपाल दोस्रो, पाकिस्तान तेस्रो तथा अस्ट्रेलिया चौथो भएका हुन् ।
नेपाल दृष्टिविहीन क्रिकेट संघका अध्यक्ष पवन घिमिरेले राज्यको लगानीविना नै यो उपलब्धि हासिल गरेको बताए । राज्यको कुनै सहयोग नपाएपछि अभ्यास गर्न नै धौ–धौ परेको र प्रतियोगिता खेल्न जाँदासमेत विभिन्न संघसंस्थाबाट चन्दा उठाउनुपरेको उनको गुनासो छ । ‘हामीलाई विश्वकपमा सहभागी भइरहँदा राज्यबाट कुनै सहयोग भएन । खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्मा पनि कोसिस गर्यौँ, तर उपाय लागेन,’ उनले भने, ‘तैपनि खेलाडीको मिहिनेत र साहसले ऐतिहासिक उपलब्धि हासिल गरिएको छ । सबै खेलाडी तथा अफिसियलहरूलाई धन्यवाद दिन चाहन्छु ।’
नेपालमा दृष्टिविहीन महिला क्रिकेटको सुरुवात ०६४ देखि भएको थियो । नेपालपछि पाकिस्तान, भारत, अस्ट्रेलिया, श्रीलंका, इंग्ल्यान्ड र अमेरिकालगायत देशले पनि यसलाई प्राथमिकतामा राखे । दृष्टिविहीन महिला क्रिकेटको इतिहास नेपालमा दुई दशक हुन लाग्दा पनि अभ्यास गर्न तथा घरेलु प्रतियोगिता गर्न मैदानसमेत नपाएको संघका अध्यक्ष घिमिरेले बताए । उनका अनुसार बालाजुस्थित एकेडेमीमा १५ दिनको तयारी र कास्कीमा १५ दिन अभ्यास गरेर विश्वकप खेल्न गएको हो । संघले खुला छनोटबाट १९ हुँदै १६ खेलाडीलाई अन्तिम टोलीमा समावेश गरेको थियो । खेलाडीहरूमा गीता पौडेल (कप्तान), विनिता पुन (उपकप्तान), सुष्मा तामाङ, पुनमकुमारी चौधरी, लक्ष्मी लामा, प्रतिभा राई, इसरामाया लुङ्गेली, दिल्लीसरा धमला, सरिता घिमिरे, मनकेसी चौधरी, विनिता सोमाई, कान्ती चौधरी, विमला राई, सुजिता थापा, एन्जिला ढकाल र सुनिता भुजेल छन् । हाल टोलीले प्रतियोगिताकै लागि पाकिस्तानका मक्सुद जानलाई प्रशिक्षक बनाएको छ ।
कप्तान पौडेलले पनि राज्यबाट सहयोग नपाएको गुनासो गरिन् । ‘यही उपलब्धि हासिल गर्न १८ वर्षदेखि लगातार क्रिकेट खेलिरहेको छु । एक महिनाको तयारीले यो उपलब्धि हासिल गरेका छौँ । सबैको हौसलाले नैे उपलब्धि पाएका छौँ । तर, काठमाडौंमा एनपिएल भव्य रूपमा आयोजना हुँदा हामीलाई अभ्यास गर्न मैदानसमेत दिइएन । तर, लगातार उच्च मनोबलसहित खेल्यौँ र फाइनल पुगेका छौँ,’ उनले भनिन्, ‘राज्यले चर्चामा रहेको खेलका लागि मात्रै सहयोग होइन, हामीजस्तो पनि सहयोग गर्न पर्यो ।’
सेमिफाइनलमा विनिताको उत्कृष्ट प्रदर्शन
सेमिफाइनलमा पाकिस्तानसँगको जितमा विनिता पुनले नेतृत्व सम्हालेकी थिइन् । उनले उत्कृष्ट प्रदर्शन गर्दै ४६ रन बनाइन् । २३ बलमा सात चौका प्रहार गरिन् । विनिता नै प्लेयर अफ दी म्याच घोषित भइन् ।
त्यस्तै, सुष्मा तामाङले अविजित ३६ रन बनाइन् । उनले ४५ बलको सामना गर्दा कुनै बाउड्री प्रहार गरिनन् । मानकेसी चौधरीले १२ बलमा एक चौकासहित १७ रनको योगदान दिइन् । सरिता घिमिरेले २० बलमा १९ तथा विनिता सोमाईले ६ रन बनाइन् । नेपाली टोलीले अतिरिक्त ४७ रन पाएको थियो ।
पाकिस्तानका लागि भने ओपनर मेहरिन अलीले अर्धशतक बनाइन् । उनले ५५ बलमा ५५ रन बनाइन् । त्यस्तै, बुस्रा असरफले २६ बलमा आड चौकासहित ४८ रनको योगदान गरिन् । मार्यम जहांग्रिरले रनआउट हुनुअघि १७ रन बनाएकी थिइन् ।
कसरी खेलिन्छ प्रतियोगिता ?
दृष्टिविहीन क्रिकेट टी–२० र एकदिवसीय गरी दुई फर्म्याटमा आयोजना हुँदै आएको छ । तर, टी–२० खेल नै धेरै हुने गरेको छ । चलिरहेको विश्वकप पनि टी–२० फर्म्याटमै छ । मैदानमा एक टिममा तीन प्रकारका दृष्टिविहीन मिलाएर ११ जना नै हुनेछन् । बी वान अर्थात् पूर्ण दृष्टिविहीन चारजना, बी टु (न्यून दृष्टिविहीन) तीनजना, बी थ्री (अल्प दृष्टिविहीन) चारजना हुनेछन् । ब्याटिङ भने सुताएर गरिन्छ । पिचमा बल गुडाइन्छ, बलमा आवाज आउने कुनै उपकरण राखिएको हुन्छ । पूर्ण दृष्टिविहीनले लिएको हरेक रनमा दोब्बर अंक गनिनेछ । एक इनिङ्समा न्यून दृष्टिविहीनले आठ ओभरसम्म बलिङ गर्न पाउनेछन् । प्राय: अधिकांश नियम भने अन्य टी–२० प्रतियोगितासरह नै छ । महिलाले ४० यार्डको बाउन्ड्रीमा खेल्नेछन्् भने पुरुषले ४० देखि ४५ यार्डको बाउन्ड्रीमा खेल्ने गर्छन् ।