नवलपुरमा सवारी दुर्घटना हुँदा एकको मृत्यु, दुईजना घाइते

शनिबार, ७ मंसिर, २०८२
डिजिटल संस्करण

नवलपुरको कावासोती १६ डण्डामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था  गम्भीर  छ ।  जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार गएराति रोकि राखेको कर्णाली प्रदेश ०२–००१–ख ०५६४ नंं बसमा ठक्कर खाएर पल्टिएको ना ४३ प ३४३६ नम्बरको मोटरसाइकललाई ना ६ ख ४८१३ नंं को ट्रकले ठक्कर दिएको हो । 

दुर्घटनामा परी गम्भीर घाइते मोटरसाइकल  चालक कावासोती १६ गैडाचोक निवासी बस्ने ४२ वर्षीय हिरा बहादुर परियारको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचारको क्रममा राति नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परि मोटरसाइकलमा सवार कावासोती–३, पुरानो कावासोती निवासी ३२ वर्षीया सुनिता जोहार्ज र कावासोती –१४, त्रिभुवनटार  निवासी २४ वर्षीया मीना मगर घाइते भएका छन्। घाइतेमध्ये सुनिताको अवस्था गम्भीर रहेको छ। गम्भीर घाइते सुनिताको पुरानो मेडिकल कलेज चितवनमा उपचार भइरहेको छ भने सुनिताको मध्यविन्दु प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने बस र ट्रक दुवै फरार भएपछि स्थानीयले राति नै केही बेर सडक अवरुद्ध गरेका  थिए । 

ठक्कर दिने ट्रक र ट्रक  चालक मकवानपुर थाहा नगरपालिका निवासी २८ वर्षीय विज्ञान केसीलाई चोरमारा प्रहरीले र बस र चालक पर्सा जिल्लाको जगन्नाथपुर गाउँपालिका ५ निवासी ४४वर्षीय जैनुल मिया अन्सारीलाई बेल्डिया प्रहरीले नियन्त्रणमा लिएपछि राति  साढे २ बजेतिर अवरुद्ध सडक खुलेको प्रहरीले जनाएको छ । 
ठक्कर दिने बस, बस चालक, ट्रक र ट्रक चालक अहिले जिल्ला प्रहरी कार्यालय नवलपुरको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।
 

सुझावित समाचार