पासपोर्ट विभागले सात लाख थान पासपोर्ट खरिदका लागि फ्रान्सेली कम्पनी आइएन स्मार्ट आइडेन्टिटी फ्रान्स एसएएससँग सम्झौता गरेको छ । यसअघिको कम्पनी आइडिमिया आइडेन्टिटी एन्ड सेक्युरिटी फ्रान्स एसएसको नाम बदलेको आइएन स्मार्टलाई थप पासपोर्ट छाप्न सरकारले दिएको छ । राहदानी विभाग र आइएन स्मार्टबिच सम्झौता भइसकेको छ । अब पासपोर्टको अभाव हटेको छ ।
विभागका अनुसार तीन साताभित्र पासपोर्टको पहिलो किस्ता (दुई लाख ३३ हजार तीन सय थान) पासपोर्ट आइपुग्नेछ । हाल विभागसँग करिब डेढ लाख पासपोर्ट छ । आइडिमियाले नै हाल पासपोर्ट छपाइ गर्दै आएको छ । आगामी फागुनदेखि जर्मन कम्पनीले पासपोर्ट छपाइ र आपूर्ति गर्ने ठेक्का पाएको छ । तीन महिनाका लागि पासपोर्ट अपुग भएपछि हाल छपाइ र आपूर्ति गरिरहेको कम्पनीलाई भेरिएसन अर्डरबाट सात लाख थान पासपोर्ट छपाइ गर्न सम्झौता भएको हो ।
विभागले दैनिक एक हजारजनालाई मात्रै पासपोर्टका लागि अनलाइन स्लट खोलेकोमा यो क्रमश: बढाउने जनाएको छ । विभागले सुरुमा दुई लाख पासपोर्ट छपाइका लागि प्रयास गरेको थियो । तर, अभाव हुने भएपछि सात लाख थान पासपोर्ट छपाइ हुन लागेको हो । आइडिमियाले नयाँ सम्झौताअनुसार पासपोर्ट छपाइका लागि प्रतिगोटा १५.६१ डलर प्रस्ताव गरेको थियो । तर, विभाग र कम्पनीबिच भएका चरणबद्ध छलफलपछि फ्रान्सेली कम्पनी हाल छपाइ गरिरहेकै मूल्यमा छाप्न सहमत भएको हो । हाल उसले ३४ पृष्ठको पासपोर्ट प्रतिगोटा १०.१३ डलरमा छापिरहेको छ ।
अन्तर्राष्ट्रिय बोलपत्रअनुसार ठेक्का पाएको जर्मन कम्पनी भेरिडोसले राहदानी विभागसँगको सम्झौताअनुसार फागुनदेखि नयाँ पासपोर्ट छपाइ गर्दै छ । तर, राहदानी विभागसँग हाल मौज्दात रहेको दुई लाख पासपोर्टले पुससम्म मात्रै माग धान्ने भएकाले सरकारले अभाव हटाउन भेरिएसन अर्डर गरेको हो ।
सुरुमा आइडिमियाले महँगो दर प्रस्ताव गरेपछि सरकारले जर्मन कम्पनीलाई यसबिचमा अन्तरिम प्रबन्ध गर्न सक्ने विषयमा सोधेको थियो । तर, प्रविधिका हिसाबले पनि हाल छपाइ गरिरहेकै कम्पनीलाई छाप्न दिँदा सहज हुने सरकारको आकलन छ । हाल मासिक करिब एक लाख पासपोर्टको माग छ ।
आगामी पाँच वर्ष ६४ लाख थान पासपोर्ट छपाइका लागि जर्मन कम्पनी म्युहलबाउर तथा भेरिडोसले राहदानी विभागसँग सम्झौता गरिसकेका छन् । उनीहरूले अन्तर्राष्ट्रिय बोलपत्रका आधारमा ठेक्का पाएका थिए । म्युहलबाउरले पासपोर्ट इन्रोलमेन्टको ठेक्का पाएको छ भने भेरिडोसले छपाइको जिम्मा पाएको छ । दुई नयाँ कम्पनीले आगामी फागुनदेखि पाँच वर्षका लागि प्रतिपासपोर्ट ८ डलर ६५ सेन्टमा ३४ वा ६४ पृष्ठका पासपोर्ट छपाइ तथा आपूर्ति गर्ने गरी सम्झौता भइसकेको छ ।