आगजनीले क्षतिग्रस्त निकायमा रातो ‘स्टिकर’

सोमबार, २ मंसिर, २०८२
डिजिटल संस्करण
आगजनीले क्षतिग्रस्त निकायमा रातो ‘स्टिकर’

संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीको भवन।

जेन–जी आन्दोलनमा आगजनीबाट क्षतिग्रस्त धनगढीस्थित पाँचवटा संघीय सरकारका कार्यालय भवनमा रातो ‘स्टिकर’ टाँसिएको छ। आगजनीले क्षति पुगेर भवनका कतिपय भाग प्रयोग गर्न मिल्ने अवस्थामा नभएपछि रातो स्टिकर टाँसिएको हो।

संघीय सहरी विकास तथा भवन निर्माण कार्यालय कैलालीको प्राविधिक टोलीले आगजनीबाट भएको क्षतिका आधारमा रातो, पहेँलो र निलो रङको संकेत लगाएको छ। कार्यालयका इन्जिनियर सन्तोष जेठाराले आगजनीबाट बढी क्षति भएर कतिपय भाग प्रयोग गर्न नमिल्ने भएका पाँचवटा कार्यालयमा रातो रङको स्टिकर लगाइएको बताए।

धेरैजसो भाग प्रयोग गर्न नमिल्ने भए पनि कार्यालयहरू साबिककै भवनबाट सेवा प्रवाह गरिरहेका छन्। इन्जिनियर जेठाराका अनुसार कैलाली जिल्ला अदालत, जिल्ला प्रशासन कार्यालय कैलाली, आन्तरिक राजस्व कार्यालय धनगढी, त्रिनगर भन्सार कार्यालय कैलाली र प्रदेश प्रमुखको कार्यालयमा रातो स्टिकर टाँसिएको छ।     

आगलागीबाट पिल्लर, बिम चर्केको, बांगाे भएको, प्लास्टर खसेको, रडकहरू बांगिएको आदि हेरेर बढी क्षति भएको ठाउँमा रातो, मध्यम क्षति भएको ठाउँमा पहेँलो र सामान्य मर्मत गरेर प्रयोग गर्न मिल्ने ठाउँमा निलो रङको स्टिकर टाँसिएको उनले बताए।

‘अहिलेलाई बस्न उपयुक्त नभएको भनेर रातो स्टिकरको संकेत लगाएका छौँ,’ उनले भने, ‘ती भवनमा भएको थप क्षतिको विस्तृत अध्ययन गर्न विभागको टोली आउँदै छ।’ रातो स्टिकर लगाइएका कार्यालयहरू साबिककै भवनबाट सञ्चालन भइरहेका छन्। कुनै भवनको पिल्लरमा क्षति भएको भए उक्त पिल्लर खस्दा पनि क्षति नपुग्ने अन्य भाग प्रयोग गर्न भनिएको संघीय सहरी विकास कार्यालयले जनाएको छ। कार्यालयका अनुसार रातो स्टिकर टाँसिएको भाग पुनर्निर्माण गर्नुपर्ने हुन्छ।

जिल्ला प्रशासन कार्यालय कैलालीका प्रशासकीय अधिकृत शिवराज जोशीका अनुसार प्रशासनका दुईवटा कोठामा रातो स्टिकर लगाइएकाले प्रयोग गरिएको छैन। ‘दुई कोठामा रातो स्टिकर छ, क्षति भएको अर्को एक कोठा पनि प्रयोग गर्न सकिएको छैन,’ उनले भने, ‘कार्यालयको केही भाग प्रयोग गर्न नपाउँदा सेवा व्यवस्थापनमा समस्या छ।’ 

ती कोठाहरूको मर्मत वा के गर्ने भनेर विभागबाट प्राविधिकको टोली आएपछि यकिन हुने उनले बताए। रातो स्टिकर लगाइएका सरकारी निकायले त्यही भवनमा कम क्षति भएको ठाउँबाट सेवा प्रवाह गरिरहेका जोशीले बताए। विभागबाट प्राविधिकको टोली आएर क्षतिको थप अध्ययन भएपछि मर्मत र पुनर्निर्माणको काम अगाडि बढाइने सम्बन्धित कार्यालयले जनाएका छन्।

जेन–जी आन्दोलनका क्रममा कैलालीमा एक सयभन्दा बढी सरकारी कार्यालयमा आगजनी र तोडफोड भएको थियो। कैलालीमा कतिपय वडा कार्यालयले भवन आगजनीका कारण प्रयोग गर्न नमिल्ने भएपछि वडाको सेवा विद्यालय, स्वास्थ्य संस्था र क्लबका भवनबाट दिन थालेका छन्।

सुझावित समाचार