कैलालीको कैलारी गाउँपालिका– ८ को कार्यालय अहिले स्थानीय प्राथमिक स्वास्थ्य केन्द्र उदासीपुरको भवनबाट सञ्चालन भइरहेको छ । गत २३ र २४ भदौको जेन–जी आन्दोलनका क्रममा आगजनीबाट वडा कार्यालय जलेर नष्ट भएपछि वडाको सेवा स्वास्थ्य चौकी भवनबाट दिन थालिएको हो ।
कार्यालयमा कागजपत्र, कम्प्युटर, टेबुलकुर्सीलगायत सबैजसो सामान जलेकाले वडाले केही दिन गाउँपालिका कार्यालय रहेको हसुलियाबाटै सेवा दिएको थियो । गाउँपालिका पुग्न सेवाग्राहीलाई टाढा भएकाले स्वास्थ्य चौकीको पुरानो भवनका दुईवटा कोठा लिएर सेवा सुचारु गरिएको वडाध्यक्ष तारामल कठरियाले बताए ।
‘भवन जलेर बस्न नमिल्ने भयो, सबै काजगात र सामान खरानी बने,’ उनले भने, ‘सेवा सुचारु त गरेका छौँ, तर कम्प्युटर, प्रिन्टरजस्ता सामानको अभावले पहिलेजस्तो सेवा छिटोछरितो छैन ।’ गाउँपालिकाले सामाजिक संघसंस्थाले उपलब्ध गराएको एउटा ल्यापटप र एउटा प्रिन्टर वडा नम्बर ८ को कार्यालयलाई दिएको छ ।
कैलारीकै वडा नम्बर ३ को कार्यालय स्थानीय योङ ब्वाइज क्लबको भवनबाट सञ्चालन भइरहेको छ । वडाध्यक्ष सन्तराम चौधरीले कार्यालयमा प्रिन्टर नहुँदा सेवा प्रवाहमा समस्या भइरहेको बताए । कुनै कागजपत्र प्रिन्ट र फोटोकपी गर्न बाहिर जानुपर्ने बाध्यता रहेको उनले बताए । चौधरीका अनुसार गाउँपालिकाले संघसंस्थाले उपलब्ध गराएको एउटा कम्प्युटर, टेबुल, दराज र कुर्सी वडालाई दिएको छ । ‘जलेको वडा कार्यालय भवन पुनर्निर्माणको सुरसार छैन । कहिलेसम्म क्लबको भवनमा बस्नुपर्ने हो थाहा छैन,’ वडाध्यक्ष चौधरीले भने, ‘पुराना कागजपत्र तथा प्राविधिक सामानको अभावले जनतालाई सहज रूपमा सेवा दिन गाह्रो भइरहेको छ ।’
गाउँपालिकाका कार्यालयका अनुसार आन्दोलनका क्रममा नौवटै वडामा आगजनी भएकोमा भवन बस्न नमिल्ने भएपछि वडा नम्बर ५ कार्यालय पहिलेकै वडा कार्यालय परिसरको टिनले छाएको एककोठे स्तनपान कक्षबाट, वडा नम्बर ६ विद्यालय भवनबाट, वडा नम्बर ७ र ८ स्वास्थ्य चौकीबाट र वडा नम्बर ९ सामुदायिक भवनबाट सञ्चालन भइरहेको छ । आगजनी भएका संरचना मर्मतमा मात्र सवा करोड खर्च लाग्ने अनुमान गरिएको कैलारी गाउँपालिकाका सूचना अधिकारी यगम कलेलले बताए । बजेट अभावले मर्मतको काम सुरु हुन नसकेको पालिकाले जनाएको छ ।
आन्दोलनका क्रममा सबैभन्दा बढी क्षति भएको पालिकामध्येको घोडाघोडी नगरपालिका कार्यालयसहित १२ वटै वडा कार्यालयमा आगजनी गरिएको थियो । वडा कार्यालयहरू पुनर्निर्माणको काम अगाडि बढेको छैन । जलेकै भवनका केही भागबाट सेवा सुचारु गरिएको नगरपालिकाका सूचना अधिकारी उमेशराज रेग्मीले बताए । स्थानीय सामुदायिक वन, विद्यालय, सामाजिक संघसंस्थाले टेबुल, कुर्सी, कम्प्युटर आदि सहयोग गरेपछि वडा कार्यालयहरूले आधारभूत सेवा सुरु गरेका हुन् ।
कम्प्युटर, प्रिन्टरजस्ता सामान आवश्यकताअनुसार नभए पनि वडा कार्यालयहरूले जेनतेन सेवा दिइरहेका रेग्मीले बताए । उनका अनुसार आगजनीबाट साढे आठ करोडको क्षति भएको थियो ।
गौरीगंगा नगरपालिकामा आगजनीबाट नौवटा वडाका भवन पूर्ण रूपमा र दुईवटामा आंशिक क्षति पुगेको छ । नगरपालिका भवनमा पनि आगजनी भएको थियो । ‘आगजनीबाट सबैजसो सामान जलेर नष्ट भएकाले सहयोगका लागि आह्वान गरेका थियौँ, सामाजिक संघसंस्था, व्यक्तिबाट गरी करिब एक करोडको सामान सहयोग पाएका छौँ,’ गौरीगंगाका प्रशासकीय अधिकृत रामबहादुर केसीले भने, ‘आवश्यक थप सामान टेन्डर गरेर किन्ने तयारी छ ।’
वडा र पालिकामा आगलागी भएका भवनबाटै जसोतसो सेवा प्रवाह भइरहेको उनले बताए । बजेट अभावले गौरीगंगाले भवनहरू मर्मत र पुनर्निर्माण सुरु गरेको छैन । प्रदेश र संघीय सरकारलाई पुनर्निर्माणका लागि आग्रह गरिने प्रशासकीय अधिकृत थापाले बताए ।