नेकपा (एमाले)का उपाध्यक्ष सुरेन्द्र पाण्डेले २३ भदौमा भएको आन्दोलनमाथिको दमनमा तत्कालीन सरकार नै दोषी रहेको बताएका छन्। बुधबार चितवनमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले गोली कसले चलायो त्यो त थाहा छैन भनेर उम्कन नमिल्ने बताए।
२३ गतेको घटनाका दोषीलाई पनि कारबाही हुनुपर्ने उनको भनाइ छ । ‘२३ गतेको घटना, जसरी हत्या भयो त्यो गलत नै हो, बंगलादेशमा पनि आन्दोलन हुँदा पहिलो दिन एक–दुईजना मात्र मरेका रहेछन्, हाम्रोमा पहिलो दिनमा नै १९ जना मर्ने गरी गोली चलाइयो, त्यो कुरा गलत हो, त्यो जसले गरेको भए पनि एमालेको सरकारले गरेको भए पनि सरकार दोषी हुन्छ–हुन्छ। धरहरा कसले बनाएको मैले बनाएको, फलानो कसले बनाएको मैले बनाएको भन्ने, गोली कसले चलायो त्यो त थाहा छैन भन्न मिल्दैन,’ उनले भने, ‘बरु त्यो वेलामा किन त्यस्तो कन्ट्रोल भएन, त्यसमा छानबिन गर्नु भन्नुपर्छ । त्यसमा दोषी प्रमाणित मान्छेहरूलाई कारबाही गर्नुपर्छ ।’
२४ गतेको घटना पनि अक्षम्य भएकाले तिनीहरूलाई पनि कारबाही गर्नुपर्ने उनको भनाइ छ ।