जिल्ला कारागार सिराहामा एक कैदीबन्दीमाथि कुटपिट भएको छ। चोरी मुद्दामा कारागारमा रहेका सिराहाको मिर्चैया नगरपालिका– ८ का अन्दाजी ३० वर्षीय प्रमेश्वर सदामाथि कारागारभित्रै कुटपिट भएको हो । कैदीबन्दी सदालाई आइतबार बेलुकी नै कुटपिट गरिएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका सदालाई सोमबार दिउँसो मात्रै प्रादेशिक अस्पताल सिराहामा उपचारका ल्याइएको थियो ।
सदालाई रबरको पाइपले निर्घात कुटपिट गरिएको उपचारमा संलग्न चिकित्सकले जनाए । प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएका सदालाई संवेदनशील अंगसहित टाउको, पिठ्युँ, हात, खुट्टालगायत शरीरका विभिन्न भागमा पाइपले कुटपिट गरेको देखिएको र यसका कारण शरीरभरि नीलडाम रहेको उपचारमा संलग्न चिकित्सक राकेश यादवले बताए । प्रहरीको बाक्लो उपस्थितिमा सदालाई हतकडी लगाएर अस्पतालमा उपचार भइरहेको छ । घाइते सदासँग सञ्चारकर्मीलाई भेट्न प्रहरीले रोक लगाएको छ । गम्भीर घाइते भए पनि तत्कालै उपचारमा कारागार प्रशासनले बेवास्ता गरेको थियो ।
यता घटना सार्वजनिक भइसके पनि सिराहा प्रशासन ढाकछोप गर्ने प्रयासमा लागेको पाइएको छ। नेपाल प्रहरीका सिराहाका प्रवक्ता डिएसपी रमेशबहादुर पालले कारागारका विषयमा आफूहरूलाई त्यति जानकारी नहुने बताए । सिराहा कारागारका जेलर सुबाेध महतोले घटना लुकाउन खोजेका थिए । कुटपिटको सामान्य घटना मात्रै भएको दाबी गरेका कारागार प्रमुख महतोले कुटपिट किन र कसले गरेको भन्ने विषयमा केही बताउन चाहेनन् ।
सिराहा कारागारमा निरन्तर कुटपिटका घटना भइरहँदा कारागार प्रशासन ढाकछोपको प्रयासमा लाग्दै आएको छ । यसअघि पनि कारागारमा दुई समूहबिच झडप हुँदा १३ जना कैदीबन्दी घाइते भएका थिए ।