विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय खारेज गर्न गोविन्द केसीको माग

आइतबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण

चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले विगतमा स्वार्थ समूहको चलखेलबाट गरिएका निर्णय उल्टाउन सरकारसमक्ष माग गरेका छन्।

आइतबार सिंहदरबारमा प्रधानमन्त्री सुशीला कार्कीसँगको भेटमा डा. केसीले १०बुँदे ज्ञापनपत्र बुझाउँदै विगतमा व्यवसायीको स्वार्थमा भएको मेडिकल कलेजको सिट बढाउने निर्णय उल्टाउनुपर्ने माग गरेका हुन्।

भेटमा डा. केसीसँगै चिकित्सा शिक्षा आयोगका पूर्वउपाध्यक्ष श्रीकृष्ण गिरी, प्राडा जगदीशप्रसाद अग्रवाल पनि सहभागी थिए। प्रधानमन्त्री कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, शिक्षामन्त्री महावीर पुन, स्वास्थ्यमन्त्री डा. सुधा गौतम र चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. अञ्जनी झासमेतको उपस्थितिमा डा. केसीले उठाएका विषयमा छलफल भएको हो।

विगतका सरकारहरूसँग बारम्बार सम्झौताहरू भए पनि कार्यान्वयन गर्ने वेला स्वार्थ समूहहरूको चलखेलका कारण टुंगोमा पुग्न नसकिएको ज्ञापनपत्रमा उल्लेख छ।

दलको छाता ओढेर अपराध गर्नेहरू पुरस्कृत भइरहेका वेला युवाहरूको विद्रोहको जगमा बनेको नागरिक सरकारसँग भविष्यसम्मका लागि थिति बसाल्ने अवसर आएको बताउँदै केसीले स्वास्थ्य तथा मेडिकल शिक्षा क्षेत्रमा सुधार गर्न माग गरेका छन्।

सुझावित समाचार