- तातोपानीपारि लिपिङको मितेरीपुलदेखि खासाको रमितेसम्म एक सय १७ र न्यालमदेखि मिम्बुसम्म थप चार सय कन्टेनर सडकमै
चीन स्वशासित क्षेत्र सिजाङ (तिब्बत)को न्यालम भन्सारले नेपाल निर्यात हुने मालवस्तुको जाँचपासमा गरेको ढिलाइले दसैँअघिदेखि पाँच सय कन्टेनर चिनियाँ क्षेत्रमै रोकिएका छन् ।
फलफूल र रेडिमेड सामग्रीको तुलनामा विद्युतीय सवारीसाधनको जाँचपासलाई प्राथमिकता दिएकाले कन्टेनर न्यालममै रोकिएको ट्रान्सपोर्ट कम्पनीका प्रतिनिधिले जानकारी दिएका छन् ।
२४ असारदेखि रसुवा नाका बन्द भएकाले त्यसको चापसमेत तातोपानी नाकामा परेको छ । तर, पहिरोले कोदारी सडक झन्डै दुई महिना अवरुद्ध भएपछि चाडपर्वलक्षित सामग्री चिनियाँ क्षेत्रमै रोकिएका छन् । केरुङ र न्यालममा अड्किएका झन्डै पाँच सय कन्टेनरमध्ये केही मुस्ताङको कोरोला नाका भएर दसैँअघि भित्रिएका थिए ।
दसैँअघि तातोपानी नाकामा पहिरोले बाधा पुर्याएको र जोखिम मोल्नुपर्ने समस्या देखाएर चीनको न्यालम भन्सारले कन्टेनर पठाउन मानेको थिएन । यद्यपि, अहिले मौसम सफा र सडक राम्रो भएको वेलामा पनि चिनियाँ अधिकारीले समयमै जाँचपास गरेर कन्टेनर पठाउन ढिलाइ गरिरहेका छन् । अहिले दैनिक औसत १३–१५ कन्टेनर तातोपानी भन्सार प्रवेश गरिरहेका छन् । ‘दसैँअघि र अहिले आयात हुने कन्टेनर संख्या लगभग उस्तै हो,’ तातोपानी भन्सारका अधिकृत सन्तोष ज्ञवालीले भने । तातोपानी भन्सारले जाँचपासको व्यवस्थापन र व्यापारीलाई दिने सेवामा कुनै कमी नगरेको उनले बताए । कन्टेनर कम आउनुमा चिनियाँ पक्षकै कमजोरी रहेको उनले जानकारी दिए ।
व्यापारीका अनुसार तातोपानीपारि लिपिङको मितेरीपुलदेखि खासाको रमितेसम्म एक सय १७ कन्टेनर सडकमै लाइन लगाएर राखिएको छ । फलफूल, बच्चाको कपडा, रेडिमेड सामग्री, विद्युतीय उपकरण र जाडो मौसमका लागि न्यानो कपडा बोकेका ४० फिट लामा यी कन्टेनर दसैँअघि नै खासा आइपुगेका थिए । त्यसैगरी, न्यालमदेखि मिम्बुसम्म थप चार सय कन्टेनर रोकिएका छन् ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका महासचिव ईश्वर गुभाजूले खासा र ल्हासाको बिचमा एक हजार कन्टेनर दसैँदेखि अड्किएको बताए । ‘दसैँ, तिहार, जाडो, गर्मी र विभिन्न परियोजनाका उपकरणजन्य सामग्री समयमै नआइपुग्दा व्यापारी र ट्रान्सपोर्ट कम्पनीहरूले घाटा व्यहोर्नुपरेको छ,’ उनले भने, ‘हामीले नेपाल–चीन दुवैतिर सरकारको ध्यानाकर्षण गराएका हौँ, तर सुनुवाइ भएको छैन ।’
फलफूल आयात–निर्यातका लागि विश्वभरका भन्सार कार्यालयले ग्रिन च्यानल प्रयोग गर्छन् । यसको अर्थ कन्टेनरका सामान खोलेर परीक्षण नगरी व्यापारीले पेस गरेको कागजात र स्वयं घोषणालाई आधार मानेर भन्सार क्लियरेन्स हुने व्यवस्था हो । ग्रिन वर्गमा रहेका वस्तुको जाँचपास पनि छिटो गरिदिनुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ, तर चिनियाँ अधिकारीहरूले फलफूल बोेकेका कन्टेनर जाँचपासमा ढिलाइ गरेर दु:ख दिएको व्यवसायीको आरोप छ ।
सिन्धुपाल्चोक उद्योग वाणिज्य संघका अध्यक्ष बुद्धराज बस्नेत भन्छन्– चिनियाँ भन्सार अधिकृतले कन्टेनर जाँचपासमा लापरबाही गर्न थाले, व्यापार गर्न गाह्रो भयो
नेपाली व्यवसायीहरू चीनसँग व्यापार गर्न नसक्ने अवस्थामा पुगेका छन् । चिनियाँ पक्षले सामान छाड्दैन । दसैँ, तिहार, जाडो र गर्मी मौसम, विभिन्न विकास निर्माणका सामग्री र उपकरण बोकेका कन्टेनर खासा आइपुगेर पनि महिनौँ कुर्नुपर्छ । तातोपानी नाका लगभग दुई महिना अवरुद्ध हुँदा खासा आएका कन्टेनर मुस्ताङको कोरोला नाका पुर्याउनुपर्यो । अहिले नेपालपट्टि कुनै समस्या छैन । तर, चिनियाँ पक्षले दैनिक १० देखि १५ गाडीसम्म छाड्छ । हामीले आफ्नो धन खर्चेर सामान ल्याएका हौँ । चिनियाँ पक्षले धेरै अन्याय गर्यो । सरकारले कूटनीतिक पहल गर्नुपर्यो ।