कथा खोज्दै जाँदा...

शनिबार, २३ कार्तिक, २०८२
डिजिटल संस्करण

नेपाली वृत्तचित्र निर्देशन/निर्माणमा डेढ दशकदेखि सक्रिय छिन्, शान्ता नेपाली । उनी वृत्तचित्रको माध्यमबाट समाजमा ओझेलमा परेका कथा बाहिर ल्याउँछिन् । महिला वृत्तचित्र निर्देशकको रूपमा आफूलाई अब्बल साबित गर्दै उनले हिमाली जीवन, महिला तथा समुदायका पीडा, सपना र संघर्षलाई ल्याइसकेकी छिन् । उनी निर्देशित ‘मस्ट डेन्जरस वेज टु स्कुल, ‘क्लाइम्बिङ टेम्प्रेजर्स अन टप अफ दि वर्ल्ड’, ‘ध्ये ड्रिम्स’, ‘असम्भव केही हुँदैन’जस्ता वृत्तचित्र चर्चित छन् । उनीसँग वृत्तचित्र निर्देशक र निर्माणको सेरोफेरोमा रही पवन बराइलीले गरेको कुराकानीको सम्पादित अंश : 

फिल्ममेकर बन्छु भन्ने कहिल्यै सोचेकी थिइनँ । सायद त्यो सपना देख्ने ठाउँमै थिइनँ । किनकि, फिल्ममेकिङ मेरो पहुँचभन्दा बाहिरको कुरा थियो । काठमाडौं आएपछि सुरुमा मैले रेडियो पत्रकारिता गरेँ । त्यसवेला रेडियोमा पाँच–१० मिनेटको रिपोर्ट बनाउनुपर्थ्यो । जसले मलाई काठमाडौंमा टिक्न सहयोग गर्यो । तर, त्यसवेला पत्रकारिता गर्न सजिलो थिएन । महिला भएको कारणले गर्नुपर्ने संघर्ष थियो । अर्काे, दलित महिला हुनुको संघर्ष छँदै थियो । जसले गर्दा मैले थुप्रै सास्ती खेप्नुपर्यो । पत्रकारिता गर्दिनँ जस्तो पनि सोचेँ । त्यसैले पत्रकारिता छाडेर ‘एड्भेन्चर’तिर काम गर्न थालेँ । 

सन् २००९ तिर कुरा हो । मैले टेलिभिजन कार्यक्रम ‘डेस्टिनेसन नेपाल’ उत्पादन गर्न थालेँ । पत्रकारितामा दुई–तीन वर्ष बिताइसकेकी थिएँ । जसले गर्दा केही मान्छेसँग चिनजान भइसकेको थियो । पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले यो कार्यक्रम निर्माण गरिन्थ्यो । कार्यक्रममा नेपालका नयाँ–नयाँ पर्यटकीय गन्तव्य देखाइन्थ्यो । जुन नेपाल टेलिभिजनबाट प्रसारण हुन्थ्यो । कार्यक्रमको निर्देशक, निर्माता र कार्यक्रम पनि सञ्चालन गर्थेँ । त्यसवेला युट्युब विस्तार भइसकेको थिएन । टेलिभिजनमा त्यस्तो कार्यक्रम आउनु ठुलो कुरा थियो । नयाँ–नयाँ गन्तव्यको डकुमेन्ट्री बनाउनुपर्थ्यो । डकुमेन्ट्रीको सिडी बजारमा समेत बिक्री गरिन्थ्यो । 

डकुमेन्ट्री निर्माणका लागि दुर्गम गाउँमा एक–दुई महिना यात्रामा निस्कनुपर्थ्यो । त्यसवेला यो क्षेत्रमा महिला खासै थिएनन् । १० जनाको टिममा नौ पुरुष हुन्थे । बाँकी एकजना म एक्लो महिला हुन्थेँ । महिलाको रूपमा फिल्डमा काम गर्न निकै गाह्रो कुरा थियो । पुरुषहरू भिडमा एक्लो महिला देख्दा समाजले अर्कै दृष्टिकोण हेथ्र्याे । तर, मैले आफूलाई दृढ रूपमा अघि बढाइरहेँ । आफूलाई कहिल्यै कमजोर ठानिनँ । 

मेरो टेलिभिजनमा शान्ता नेपाली भनेर नाम चिनिन थाल्यो । सोसियल मिडियामा मेरो नाम देखेपछि दलित समुदायको मान्छेहरूले म्यासेज गर्थे । कतिपयले भन्थे, ‘टिभीमा तपाईंलाई देख्दा गर्भ लाग्छ ।’ मैले गरेको कामले मान्छेलाई गर्भ लाग्ने रहेछ भन्ने महसुस भयो ।

टिभीमा कार्यक्रम प्रसारण गर्न थालेपछि थप आँट आयो । अब हाम्रो कथा ल्याउनुपर्छ भन्ने लाग्यो । २०१० देखि २०१३ सम्म म यात्राका डकुमेन्ट्रीमै व्यस्त भएँ । मनभित्र फिल्मेकिङ गड्दै थियो । त्यही चाहनाले मलाई अन्तत: फिल्ममेकिङको बाटोमा डोर्यायो । त्यसपछि फिल्ममेकिङतिर लागेँ । जुन दिनदेखि म क्यामेरा बोकेर गाउँतिर लागेँ, त्यो दिनदेखि मेरा काम गर्ने शैली बदलियो । मेरो यात्रा धेरै टाढासम्म फैलियो । क्यामेराले मलाई देशका कुनाकाप्चा पुर्यायो । त्यहाँ पुग्दा विभिन्न पात्र देखेँ । ती पात्रको भोगाइलाई दृश्यात्मक रूपमा जीवन्त देखाउन सकिन्छ भन्ने लाग्यो । 

त्यसबिच ‘कृपा अनप्लग्ड’ कार्यक्रम निर्माण गरेँ । त्यसवेला निर्देशन, सम्पादन र छायांकनको ज्ञान बटुलेँ । धेरैले अन्तर्राष्ट्रियस्तरको कामजस्तो भनेर प्रशंसा गरे । यो प्लेटफर्मबाट नयाँ तथा पुराना दर्जनौँ कलाकारले प्रस्तुति दिए । त्यसपछि उनी हिमालयन टेलिभिजनबाट प्रसारित हुने रोडिजमा असिस्टेन्ट डाइरेक्टर भएर पनि काम गरेँ । 

डरले विभेदको कथा ल्याइनँ 
यो यात्रा मेरा लागि सहज थिएन । महिला, अझ दलित समुदायबाट फिल्म बनाउने साहस गर्नु ठुलो कुरा थियो । त्यतिवेला विदेशबाट फिल्म पढेर आएको मान्छेहरूको चर्चा हुन्थ्यो । विदेश गएर पढ्ने अवस्था मेरो थिएन । त्यो मेरो पहुँचभन्दा बाहिरको कुरा थियो । टेलिभिजनको काम गरिरहेको थिएँ । 

हुम्ला, जुम्ला, रोल्पा, रुकुम, गोरखा, लमजुङलगायत धेरै ठाउँ पुगेँ । गाउँका चिया पसल, धारा, चौतारा, मेलापात, स्कुलजस्ता ठाउँमा दलित समुदायलाई विभेद गरेको देख्थेँ । आफू पाहुना भएर गएको गाउँमा विभेद र अपमान देख्दा मन कुँडिन्थ्यो ।

२०११–१२ तिर लमजुङको एउटा गाउँमा पर्यटन प्रवर्द्धन गर्न गएको थिएँ । त्यो गाउँमा दलित बस्ती छुट्टै रहेछ । उनीहरूको धारा बेग्लै थियो । मैले त्यो गाउँको प्रमोसन गरिरहेको थिएँ । त्यो गाउँ भौगोलिक रूपमा सुन्दर थियो । तर, त्यो जातीय विभेदको कुरूपता मैले दृश्यमा देखाउँन सकिनँ । मैले त्यसवेला राम्रो मात्रै देखाउनुपर्ने थियो । त्यो दलित समुदायको अवस्था देखाउन नपाउँदा मलाई ग्लानि भयो । 

लमजुङ मात्रै होइन, अरू गाउँहरूमा पनि आँखैअगाडि विभेद गरेको देखेँ । टिभीमा काम गर्ने भनेपछि गाउँका मान्छेले हामीलाई (टिम) स्वागत गर्थे । कतिपय ठाउँमा गाउँमा पञ्चेबाजा बजाएर स्वागत गरिन्थ्यो । तर, ती पञ्चेबाजा बजाउँने मान्छेलाई अलग्गै खाना दिएको देख्थेँ । म त्यो ठाउँमा पाहुना भएर गएको हुन्थेँ । आफ्नै अगाडि त्यस्तो देख्दा मन कुँडियो । 

कामका दौरान कतिपय गाउँमै राति वास बस्नुपर्थ्यो । त्यतिवेला मलाई जात सोधिन्थ्यो । ती ठाउँ मेरा लागि अपरिचित र नौला ठाउँ थिए । तर, त्यहाँ ‘नानी कुन थरीको हो ?’ भनेर सोधिन्थ्यो । कसैले मेरो थर नसोधिदिए हुन्थ्यो जस्तो लाग्थ्यो । कहिलेकाहीँ त मौन बहिष्कार गर्थेँ । कतिपय ठाउँमा साथीले नै ढाटिदिन्थे । यो कुरा म पहिले खासै खुलाउँदिनथेँ । डर लाग्थ्यो, हेपिन्छु कि भन्ने । मलाई कहिल्यै आफ्नो जात ढाँट्न मन लाग्दैनथ्यो । कतिपय परिस्थितिमा ढाँट्नुपर्ने अवस्था सिर्जना भयो । जातको बारेमा जुधेर बस्नुभन्दा आफ्नो काम गर्छु भन्ने लाग्यो । जातको भारी बोकेर दुर्गम गाउँमा महिलाका कथा खोजिरहेँ । उनीहरूको भोगाइलाई दृश्यमा देखाउने कोसिस गरिरहेँ । 

हुन त मेरा लागि विभेद नौलो थिएन । धरानमा म आफैँले विभेद भोगिसकेको थिएँ । सानैदेखि हामीलाई ठुलो जातको घरभित्र छिर्नु हुँदैन भनेर सिकाइयो । धरानमा मेरो घरवरिपरि राई र क्षेत्री समुदायका घर थिए । उनीहरूको घरमा म जाँदिनथेँ । धरानमा विभेद थियो भने अरू ठाउँहरू नहुने कुरै भएन । 

म कथा खोज्न टाढा गइरहेँ । तर, मेरो आफ्नै कथा छुटिरहेको रहेछ । आफैँले दलित भएकै कारण काठमाडौंका थुप्रै ठाउँमा कोठा पाइनँ । मैले पाउँदिनँ भने अरू सामान्य मान्छेका लागि झन् के होला ? त्यसपछि जातका कारणले काठमाडौंमा कोठा नपाउनेबारे वृत्तचित्र निर्माण गरेँ । हामीले जुनसुकै क्षेत्रमा जातको कारण संघर्ष गर्नुपर्छ । कतिपय ठाउँमा जात ढाँटेर पनि बाँच्नुपर्ने अवस्था छ । यो समाजमा हामीलाई बाँच्नै कठिन छ ।

यात्राका क्रममा मैले नेपाली समाजलाई झन् गहिरो गरी बुझेँ । मैले भोगौलिक अवस्था मात्र होइन, त्यहाँका सामाजिक अवस्था पनि बुझेँ । जसले मलाई धेरै कुरा सिकायो । जात व्यवस्थाले दलितहरूलाई कसरी उठ्न नसक्ने बनाएको रहेछ भन्ने कुरा बुझेँ ।

दलितहरू एकातिर वर्षाैंदेखि समानता र न्यायका लागि संघर्षरत छन् । उनीहरू सामाजिक, आर्थिक अवस्थाले गर्दा पछाडि छन् । यस्तै विभेदमा बाँचिरहेका दलितहरूको जिन्दगी अभाव र गरिबीमा पिल्सिएको देखेँ । आज पनि उनीहरूको जीवनस्तर माथि उठ्न सकेको छैन । मेरो दिमागमा उभिएर बोल्न नसकेका दृश्य आइरहन्थे । मैले मेरो समुदायको कथा भन्न बाँकी छ । म टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ निर्माणमा लागेँ । मैले निर्देशन गरेको टेलिभिजन कार्यक्रम ‘जातको प्रश्न’ लोकप्रिय भयो । 

फिल्ममा हाम्रा भोगाइ आएनन्
मैले समुदायको कथा निकै पछाडि भन्न थालेँ । दलित समुदायमा आधारित कास्ट कन्भर्सेसन निर्माण गरेँ । बल्ल मैले आफ्नो कथा भन्ने आँट गरेको छु । यो अवधिमा मैले आफ्नोे कथा भन्ने जग तयार गरेँ ।

फिल्ममा हाम्रा कथा धेरै आउँन बाँकी छ । हामीले हाम्रो भोगाइको कथा ल्याएका छैनौँ । हाम्रो कथा आउन म एक्लो फिल्ममेकर भएर मात्र हुँदैन । अरू पनि फिल्ममेकर आउनुपर्छ । कथाका लागि अनुभव र भोगाइ मुहान हो । म फिल्ममा राणा परिवारको कथा भन्न सक्दिनँ । मैले फिल्ममा मेरो भोगाइ ल्याउने हो । जुन समुदायबाट म आएँ, मैले जे भोगेँ, त्यो भोगाइ फिल्ममा ल्याउँछु । अहिले बल्ल हामी हाम्रो भोगाइ भन्न सक्ने भयौँ, देखाउँन सक्ने भयौँ । 

हाम्रो कथा, हामी जस्तैको भोगाइ फिल्म/डकुमेन्ट्रीमा आउन बाँकी छ । म दलित समुदायबाट फिल्ममा उछिट्टिएर आइपुगेँ । औँलाले गन्न सकिने मात्रै फिल्ममेकर छन् । एकाध दलित समुदायको फिल्ममेकर आएका छन् । तर, कथा भन्ने शैलीको चेत विकास भएको देखिँदैन । कतिपयले दलित फिल्ममेकरले कथा भन्ने आँट गरे, त्यो आफैँमा राम्रो पक्ष हो । तर, हामीले हाम्रो आफ्नो कथा ल्याउन रुटमै पुग्नुपर्छ । मैले मेरो समुदायको कथा एकैछिनमा ल्याउँछु भनेर सम्भव छैन । फिल्ममा कथा ल्याउने कसरी ल्याउने ? कसरी भन्ने ? हामी कहाँ छौँ ? जस्ता विषयमा हामी सचेत हुनुपर्छ । समुदायस्तरमै फिल्ममेकिङ ज्ञान वृद्धि गर्न जरुरी छ । नयाँ पुस्ताका फिल्ममेकर जन्माउन आवश्यक छ । 

फिल्ममा विभेदलाई सामान्यीकरण गरियो 
दलितका कथा अरू समुदायका फिल्ममेकरले ल्याएका छन् । उनीहरूले जसरी हामीलाई फिल्ममा देखाएका छन्, त्यो हाम्रो जस्तो लाग्दैन । त्यस्तो खालको अनुभव र भोगाइ नै छैन । उनीहरूले कल्पना मात्रै गरेर लेखेको कुरा कसरी सही कुरा आउँछ ?

हाम्रो कथा हामीले मात्रै भन्नुपर्छ भन्ने होइन । सबैले भन्नुपर्छ । तर, यस्तो संवेदनशील विषयलाई सिनेमा भन्दा सही छु कि छैन भनेर सोच्नुपर्छ । जुन समुदाय वर्षौंदेखि समाजको पिँधमा छ, त्यो समुदायको कथा ल्याउन एकपटक सोच्नुपर्छ । त्यो समुदायले कसरी स्विकार्छ ? यो बुझ्नुपर्छ । कथा भन्दै गर्दा स्वीकार गर्न सक्ने गरी भन्नुपर्छ । तर, अहिले सहानुभूतिका लागि मात्रै कथा ल्याइन्छ । 

कतिपय फिल्ममेकरले मेरो घरको छेउमा दलित साथीको घर थियो, मलाई सबै थाहा छ भनेको पनि सुनिन्छ । कतिले ‘म दलित बस्तीमा हुर्किएको हो’ भनेको पनि सुनिन्छ । र, कतिपय कलाकारले आफू पनि दलित हुँदा कस्तो हुँदो रहेछ भनेर अभिनय गरेको भनेको सुनिन्छ । हाम्रोमा यसरी कथा भन्ने चलन छ । देखेकै भरमा कसरी कथा भन्न सक्नुहुन्छ ? देख्नु र भोग्नु फरक होला नि ? कतिपय फिल्ममेकरले दलितको कथा हामीले भनिदिएका छौँ भनेको सुनिन्छ । तर, उनीहरूले हाम्रो भोगाइलाई गलत रूपमा देखाइरहेका हुन्छन् ।

पुरुषले महिलाको कथा पनि लेख्न पाइन्छ । तर, महिलाको भोगाइलाई कति ल्याउन सक्छ भन्ने कुरा प्रमुख हुन्छ । पुरुषबाट कसरी महिलाको भोगाइ आउँछ ? यसका लागि महिलासँग सहकार्य गर्न सकिन्छ होला । कथा ठिक छ कि छैन भनेर उसलाई सोध्न सकिन्छ होला । त्यस्तै, दलितको कथा ल्याउँदा पनि यस्ता विषयमा छलफल गर्नुपर्छ ।

फिल्ममा विभेदको शब्दलाई सामान्यीकरण गरिन्छ । ‘बाहुन’ भन्नु र ‘कामी’ भन्नु बराबर हो भनेजसरी फिल्ममा संवाद राखिन्छ । कतिपय फिल्ममेकरले कामी, सार्की, दमाईं विभेदका शब्द हो भनेर बुझेका छैनन् । तर, बाहुन प्रिभिलेज शब्द हो भनेर बुझेका छैनन् । उनीहरूलाई ‘कामी’ भन्ने शब्द सामान्य लाग्छ । त्यो शब्द कसरी आयो ? भनेर खोजिँदैन । यसरी भनिएका कथा हाम्रो कसरी हुन्छ ? 

हाम्रो जीवनभोगाइ र संघर्ष बाहिरबाट देखेजस्तो छैन । हाम्रो पीडा कस्तो होला ? एकछिनको अनुभवले हुने कुरा होइन । हाम्रो कथालाई सामान्य रूपमा प्रस्तुत गरिन्छ । फिल्ममा दलित पात्र सधैँ एउटा तरिकाले प्रस्तुत गरिन्छ । दलित भनेको थोत्रो कपडा लगाउने, फोहोरी हुन्छ भन्ने सोचाइ छ । 
 

See More On

सुझावित समाचार