एक लाख भारतीय रुपैयाँको सुपारीमा प्रेमिकाको हत्या गर्ने प्रयास असफल

बिहिबार, २० कार्तिक, २०८२
डिजिटल संस्करण

आफ्नै प्रेमिकालाई एक लाख भारतीय रुपैयाँको सुपारीमा हत्या गर्न ल्याइएको योजना फिल्मी शैलीमा विफल भएको बताइएको छ। नाइलनको डोरीले घाँटी कसेर हत्या प्रयास गर्दा कार अनियन्त्रित भई ट्रकसँग ठोक्किएपछि योजना विफल भएकाे हाे। 

घटना विवरणअनुसार भारत उत्तर प्रदेशका ३५ वर्षीय हफिजुल्लाह मुसलमानले गत कात्तिक १५ गते आफ्नी ४० वर्षीया प्रेमिकालाई विवाह गर्ने बहानामा चन्द्रौटा बोलाएका थिए। उनी र हत्या गर्न भाडामा लगिएका व्यक्तिहरू एउटै कार युपी ५५ एबी ६९७९०० मा चढेर तौलिहवातर्फ जाँदै गर्दा कपिलवस्तु नगरपालिका– ४, लौसानजिक पुगेपछि हफिजुल्लाहले महिलाको घाँटी नाइलनको डोरीले कसेर हत्या गर्न खोजेको र  महिलाले प्रतिकार गर्ने क्रममा उनको खुट्टा अनियन्त्रित रूपमा कारको स्टेरिङमा लाग्दा कार नियन्त्रण गुमी विपरीत दिशाबाट आइरहेको ना.१ख ४९५० नम्बरको ट्रकमा ठोक्किएको बताइएको छ।

 दुर्घटनापछि चिच्याउँदै सहायता मागेकी महिलालाई देखेर त्यही ट्रकका चालक र सहचालकले घटनामा संलग्न हफिजुल्लाहलाई नियन्त्रणमा लिए र प्रहरीलाई खबर गरका थिए । प्रहरीले घटनास्थलबाट हत्या प्रयत्नमा प्रयोग गरिएको डोरी, गम्छा र केही भारतीय समाचार च्यानलको नाम लेखिएको माइक बुम बरामद गरेको बताएको छ । 

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रिपेन्द्रकुमार सिंहका अनुसार आरोपी र पीडित महिला तीन वर्षदेखि लिभिङ टुगेदर सम्बन्धमा रहेको बताएका छन्।  उनीहरू बुटवलमा सँगै हुँदा गत असोज ३१ गते पीडित महिलाले आरोपीले प्रयोग गरेको मोबाइलबाट खिचिएका तस्बिर महिला आरोपीकी श्रीमतीको मोबाइलमा पठाइदिएकी थिइन्। उक्त घटनाप्रति आरोपीको परिवारमा आपत्ति हुँदा हफिजुल्लाहले बदला लिने नियतले प्रेमिकाको हत्या गर्ने योजना बनाएको प्रारम्भिक अनुसन्धानले देखाएको उपरीक्षक  सिंहले बताए । 

प्रहरीले घटनामा संलग्न अन्य फरार व्यक्तिहरूको खोजी गरिरहेको र पीडितले दिएको किटानी जाहेरीको आधारमा हफिजुल्लाहलाई जिल्ला अदालतले सात दिन म्याद थप गरी ‘ज्यान मार्ने उद्योग’अन्तर्गत अनुसन्धान अघि बढाइएको बताएको छ। प्रहरीले अभियुक्त सम्भवतः सञ्चारकर्मी हुन सक्ने आशंकासमेत गरेको छ र घटनामा प्रयोग गरिएका वस्तु–सामान र मोबाइल फोनको थप परीक्षण चल्ने बताएको छ ।

यो घटनाले प्रेम सम्बन्ध र बदला लिने योजनाले कस्तो भयावहता निम्त्याउन सक्दछ भन्ने  देखाएको छ । प्रहरीले घटनास्थलभन्दा बाहिर रहेका शंकास्पद व्यक्ति र सम्भावित भाडामा लिइएका अन्य सदस्यहरूको पहिचान तथा पक्राउका लागि प्रहरी  लागिपरेको बताएको छ । 
 

सुझावित समाचार