सडकमा उत्रिँदै फुटबल खेलाडी

बिहिबार, २१ कार्तिक, २०८२
डिजिटल संस्करण
  • एन्फा नेतृत्वलाई ‘ए’ डिभिजन लिग आयोजनाका लागि दबाब दिन नेपाल फुटबल खेलाडी संघको आह्वानमा खेलाडीले आज सातदोबाटोस्थित एन्फा मुख्यालयबाहिर धर्ना दिने

अखिल नेपाल फुटबल संघ (एन्फा) र १४ क्लबबिच यस वर्ष ‘ए’ डिभिजन लिग नगरी राष्ट्रिय लिग मात्र गर्ने सहमतिको विरोधमा राष्ट्रिय फुटबल खेलाडी विरोधमा उत्रिने भएका छन् । नेपाल खेलाडी संघको आह्वानमा बिहीबार राष्ट्रियस्तरका खेलाडीले सातदोबाटोस्थित एन्फा मुख्यालयबाहिर धर्ना दिने भएका हुन् । यसअघि खेलाडीले सामाजिक सञ्जालमा दुई पक्षबिचको सहमतिप्रति असन्तुष्टि व्यक्त गरेका थिए । एन्फा मुख्यालयबाहिर बस्ने धर्ना कार्यक्रममा नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तान उपेन्द्रमान सिंहलगायतले समर्थन जनाएका छन् । 

खेलाडी संघका अध्यक्ष विक्रम लामाले खेलाडीको खेल्न पाउने आधारभूत हकका लागि सडकमा आउन बाध्य भएको बताएका छन् । ‘लिग गराउन एन्फासँग चरणबद्ध रूपमा विभिन्न स्तरमा प्रयास गर्दै आएका थियौँ । तर, हाम्रो शालीनतालाई बेवास्ता गरेर पुन: एकपटक लिग स्थगन गर्ने निर्णय गरेको छ । हामी खेलाडीले खेल्न पाउने आफ्नो आधारभूत हकका लागि सडकमा आउन बाध्य भएका छौँ,’ लामाले भने, ‘खेलाडी भएपछि सधैँ मैदानमा नै व्यस्त हुनुपर्छ भन्ने मान्यता राख्छौँ, तर पटक–पटकको प्रयासलाई बेवास्ता गरिएपछि सडकमा आउनुको विकल्प नरहेको महसुस गरेका छौँ ।’

१४ क्लबसँगको सम्झौताअनुसार एन्फाले अर्को वर्षको पुसमा मात्र ‘ए’ डिभिजन लिग गर्ने भएको छ । एन्फाले ‘ए’ डिभिजन लिगको सट्टा अहिले राष्ट्रिय लिग आयोजनाको घोषणा गरेको छ । जसमा तीन वर्षअघि भएको ‘ए’ डिभिजन लिगका शीर्ष ६ टोली र हेटौँडामा बुधबारदेखि सुरु एन्फा प्रेसिटेन्ड लिगको सेमिफाइनलमा पुग्ने चार टोली गरी १० टोलीबिच राष्ट्रिय लिग हुनेछ । 

नेपाल जेन–जी फ्रन्टले माग्यो नेतृत्वको राजीनामा
नेपाल जेन–जी फ्रन्टले एन्फा नेतृत्वको राजीनामा माग गरेको छ । एन्फाले ‘ए’ डिभिजन लिग गर्न नसकेको भन्दै मंगलबार राति नेपाल जेन–जी फ्रन्टका सूचना सञ्चार समितिका यतिष ओझाले विज्ञप्ति जारी गर्दै राजीनामाको माग राखेका हुन् । 

‘नेपाली फुटबललाई निरन्तर खोक्रो पार्ने र खेलाडीको भविष्यमाथि खेलबाड गर्ने, समयमै लिग आयोजना गर्न नसक्ने, खेलाडीलाई अवसरबाट वञ्चित गर्ने र नेपाली फुटबललाई अन्तर्राष्ट्रियस्तरमा कमजोर बनाउने एन्फा नेन्तृत्वले नैतिकताका आधारमा राजीनामा दिएर मार्गप्रशस्त गरिदिनुहुन अनुरोध गर्दछौँ,’ ओझाले भने, ‘एन्फाले ‘ए, बी र सी’ डिभिजनको चक्रलाई वर्षौँसम्म रोकेको छ ।’ 

३२ बुँदेसहित छानबिनको माग
एन्फामा भएको आर्थिक अनियमितता, अवैधानिक कार्य तथा खेलकुद गतिविधिले निरन्तरता नपाएकोलगायत विषयमा एन्फाका वरिष्ठ उपाध्यक्षसहित पदाधिकारीले बुधबार खेलकुदमन्त्री बब्लु गुप्तासमक्ष ३२ बुँदे छनाबिनको माग गरेका छन् । 

मन्त्रालयमा वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्का, उपाध्यक्ष विराटजंग शाही, सदस्यहरू रवीन्द्र चन्द ठकुरी, रूपेश अधिकारी र पेमा डोल्मा लामाले संयुक्त रूपमा ज्ञापनपत्र बुझाएका हुन् । 

छानबिन गर्नुपर्ने मागमा विश्वकप छनोटका खेलहरू नेपालमा हुन नसकेको, कतार विश्वकपमा नेपाललाई दिइएको म्याच टिकट र महासचिवको तलबलगायत विभिन्न विषय रहेका छन् ।

सुझावित समाचार