राप्रपा नेपालले राप्रपा अध्यक्ष लिङ्देनसँग औपचारिक रूपमा राख्यो पार्टी एकताको प्रस्ताव

मंगलबार, १९ कार्तिक, २०८२
डिजिटल संस्करण

समान विचार भएका राजनीतिक दल र शक्तिहरूसँग सहकार्य र एकता गर्नका लागि राप्रपा नेपालद्वारा वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीको संयोजकत्वमा गठित वार्ता समितिले आज राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनसँग भेट गरी औपचारिक रूपमा पार्टी एकताको प्रस्ताव गरेको छ।

लिङ्देन निवास ललितपुरको लामाटारमा आज बिहान भएको भेटघाट र छलफल सकारात्मक रूपमा अघि बढेको वार्ता समितिका सदस्य तथा राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम र ध्रुवीकरणबारे गम्भीर छलफलका साथ समान विचार भएकाहरूबिचको सहकार्य र एकताको आवश्यकताबारे गहिरो चर्चा परिचर्चा भएकोसमेत उनले बताए ।

‘राप्रपा अध्यक्ष लिङ्देनले एकता प्रस्तावलाई सकारात्मक रूपमा लिनुभएको छ, पार्टीभित्र छलफल गरी पुनः चाँडै नै छलफलमा बस्ने भन्नुभएको छ,’ लिङ्देनको भनाइ उदृत गर्दै बर्तौलाले भने । लिङ्देनसँगको छलफलमा राप्रपा नेपालको तर्फबाट वार्ता समितिका संयोजक राजीव पराजुली, सदस्यद्वय तेज कुरुङवाङ र राजाराम बर्तौला सहभागी थिए ।

सुझावित समाचार