राष्ट्रपति पौडेलले राष्ट्रसंघीय सम्मेलनलाई सम्बोधन गर्ने

मंगलबार, १८ कार्तिक, २०८२
डिजिटल संस्करण

संयुक्त राष्ट्रसंघीय सम्मेलनमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल सोमबार कतारको राजधानी दोहा पुगेका छन् । ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’मा राष्ट्रपति पौडेलले मंगलबार सम्बोधन गर्नेछन् ।

राष्ट्रपति पौडेल कतारका अमिर शेख तमिम बिन हमद अल थानीको निमन्त्रणमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गएका हुन् । पौडेललाई दोहास्थित हमाद अन्तर्राष्ट्रिय विमानस्थलमा कतारका विदेश मन्त्रालय र नेपाली राजदूत रमेशचन्द्र पौडेल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले स्वागत गरे ।

‘राष्ट्रपति पौडेलले संयुक्त राष्ट्रसंघको महासभाको निर्णयअनुसार कतारको दोहामा हुन लागेको ‘सामाजिक विकासका लागि दोस्रो विश्व शिखर सम्मेलन’को मुख्य सत्रलाई कात्तिक १८ गते सम्बोधन गर्ने कार्यक्रम छ,’ राष्ट्रपति पौडेलको सचिवालयले पठाएको प्रेस नोटमा उल्लेख छ ।

राष्ट्रपति पौडेलले कतारका अमिर थानी र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम छ । यसअघि उक्त सम्मेलन १९९५ मा डेनमार्कको कोपनहेगनमा भएको थियो ।

सम्मेलनमा वर्तमान विश्वले सामना गर्नुपरेको विकासको असमानता, जनसंख्यामा आएको असन्तुलन र प्रविधिका कारण समाजमा परेको प्रभावलगायत विषयमा छलफल हुनेछ ।

सुझावित समाचार