- गजेन्द्रनारायण सिंह अस्पतालले झाडापखालाका बिरामीलाई उपचारै नगरी गर्यो रेफर, पैसाको जोहो गर्दागर्दै बिरामीको मृत्यु
हरेक नागरिकले आधारभूत स्वास्थ्य सेवा पाउने अधिकारलाई संविधानले नै मौलिक हकअन्तर्गत राखेको छ । तर, सप्तरीमा झाडापखाला लाग्दासमेत उचित उपचार नपाएर एकै दलित परिवारका तीनजनाको मृत्यु भएको छ । अर्का एकजना सिकिस्त छन् ।
छिन्नमस्ता गाउँपालिका– ५, लोखरमको मुसहर टोलका बुचन सदाका बुवा ७० वर्षीय लक्ष्मण सदा, आठ वर्षीया छोरी राघिनी र चार वर्षीय छोरा सञ्जीवको मृत्यु भएको हो । श्रीमती पार्वती सदा सिकिस्त छिन् । सञ्जीवको ६ कात्तिक, लक्ष्मणको ११ कात्तिक र राघिनीको शुक्रबार राति मृत्यु भएको हो । राघिनीको मृत्युपछि एक स्थानीयले सामाजिक सञ्जालमा लेखेपछि मात्रै घटना सार्वजनिक भएको हो ।
बुचनकी भाइबुहारी सेलकुमारी सदाका अनुसार सुरुमा बिरामी भएका पार्वती र सञ्जीवलाई स्थानीय क्लिनिकबाट औषधि किनेर सेवन गराइएकोमा तीन दिनसम्म पखाला नरोकिएपछि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल लगिएको थियो । तर, चिकित्सकले उपचार नहुने भन्दै अन्यत्र लैजान भनेपछि ६ कात्तिकमा त्यहाँबाट निकालिएको थियो । आर्थिक जोहो गर्न सकिन्छ कि भनेर हुन सक्छ अस्पतालबाट पार्वती छोरा लिएर लहानस्थित माइतीतर्फ लागेकी थिइन् । तर, लहानतर्फ लैजाँदै गर्दा बाटोमै सञ्जीवको मृत्यु भएको शेलकुमारीले बताइन् ।
‘चिकित्सकले उपचार हुँदैन, अर्को ठाउँमा लैजाऊ भनेको थियो, तर अन्यत्र लैजान पैसा थिएन । लहानस्थित उसको मामाघरतिर लैजाँदै गर्दा सञ्जीव बाटोमै बित्यो,’ शेलकुमारीले भनिन् ।
छोरा बिरामी हुँदा बुचन रोजगारीका लागि भारतमा थिए । उनले पठाइदिएको १० हजार र भाइले दुईवटा मोबाइल बेचेर जुटाएको रकम उपचारमा सकिएपछि थप उपचारका लागि पैसा नभएको शेलकुमारीले बताइन् । ‘दाइले पठाएको १० हजार र मेरा श्रीमान्को दुईवटा मोबाइल बेचेर जुटाएको रकम दिदी र भतिजाको उपचारमा सकिएपछि आर्थिक अभाव भयो, थप उपचारका लागि अरू अस्पताल लैजान सकिएन,’ उनले भनिन् ।
दाहसंस्कारका लागि सञ्जीवको शव लहानबाट घर ल्याउँदा उनका हजुरबुबा लक्ष्मन झडापखालाबाट गलिसकेका थिए । ११ कात्तिकमा उनको पनि मृत्यु भएको शेलकुमारीले बताइन् ।
बुबाको पनि मृत्यु भएपछि बुचन भारतबाट घर फर्किए । पार्वती भने माइतीबाट घर फर्किन सकेकी छैनन् । छोराको मृत्युको शोकसँगै उनी थप गलेकी छिन् । यता शुक्रबार राति मात्रै झाडापखालाबाटै छोरी राघिनीको मृत्यु भएको छ ।
छोरी सिकिस्त भएपछि बुचनले गाउँमा केही हजार ऋणधन गरेर शुक्रबारै गजेन्द्रनारायण सिंह अस्पताल लगेका थिए । चिकित्सकले भने उपचार सम्भव नभएको भन्दै अन्यत्र लैजान भने । तर, आर्थिक अभावका कारण उनी बिरामी छोरी लिएर घरै फर्किए । राति राघिनीले प्राण त्यागिन् ।
‘एक सातामा मेरो घर उजाडिएको छ । बुबा र छोराछोरी गुमाउनुपरेको छ । माइतीमा रहेकी श्रीमती पनि बिरामी नै छिन्,’ बुचनले पीडा सुनाए, ‘झाडापखालाको उपचार नपाएर मेरो परिवार रित्तिएको छ । हामीजस्ता विपन्नले आर्थिक अभावमा उपचार नपाएर कहिलेसम्म यसरी नै मर्नुपर्ने ?’
गजेन्द्रनारायण सिंह अस्पताल संघ सरकारअन्तर्गत सञ्चालित सरकारी अस्पताल हो । संघअन्तर्गत सञ्चालित अस्पताल मधेश प्रदेशमा यो र वीरगन्जको नारायणी अस्पताल मात्रै हो । यी अस्पतालमा लगभग सबै रोगका बिरामीको उपचार हुन्छ । तर, झाडापाखालाको बिरामीलाई उपचार नगरी किन अन्यत्र लैजान भनियो भन्ने विषयमा अनभिज्ञ रहेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश साहले बताए । ‘झाडापखालाका बिरामीलाई अन्यत्र नपठाउनुपर्ने हो,’ उनले भने, ‘त्यस विषयमा थप बुझ्दै छु ।’
राघिनीलाई अस्पताल लैजानका लागि पैसा जोहो गर्ने क्रममा बुचनले छिनमस्ता– ५ का वडाध्यक्ष जयप्रकाश ठाकुरसँग पनि याचना गरेका थिए । यो कुरा ठाकुर स्वयंले स्विकारेका छन् । आफूसँग पैसा नभएकाले अर्का एकजनासँग तीन हजार दिलाइदिएको उनको दाबी छ । ‘बुचनले छोरी र श्रीमतीको उपचार गर्न आर्थिक अभाव भयो भनेर मसँग सहयोग मागेको हो । तर, मसँग पनि थिएन । अर्को एकजनालाई भनेर तीन हजार दिलाइदिएको हो,’ उनले भने, ‘थप आवश्यक पर्यो भने भन्नु भनेका थिएँ, तर त्यसपछि उनी सम्पर्कमा आएनन् ।’
घटना सामाजिक सञ्जालबाट बाहिरिएपछि गाउँमा स्वास्थ्यकर्मी, टोलका १० जनामा देखियो झाडापखाला
राघिनीको मृत्युपछि एक स्थानीय युवाले गाउँमा फैलिएको झाडापखालाबारे सामाजिक सञ्जालबाट सार्वजनिक गरेका थिए । त्यसपछि स्वास्थ्यचौकी कोचाबखारीबाट स्वास्थ्यकर्मीको टोली गाउँमा पुगेको छ । बुचनको परिवारबाहेक टोलका १० जनामा झाडापखाला देखिएको छ । स्वास्थ्यकर्मीले बस्तीमा जीवनजलसहित आवश्यक औषधि वितरण गरेका छन् ।
छिन्नमस्ता गाउँपालिकाका स्वास्थ्य संयोजक दीपेन्द्र यादवले समस्या भएलगत्तै बिरामी स्वास्थ्यचौकी नआउँदा थाहा नभएको र अवस्था जटिल बनेको बताए । ‘गाउँमा अहिले स्वास्थ्यकर्मी परिचालन भइसकेको छ । पाँचजनालाई औषधि दिइएको छ । रातभर पनि टोली गाउँमै रहन्छ, हामीले गर्नुपर्ने सबै गर्छौँ ।’
दलित अभियन्ता भोला पासवानले उपचार नपाएर विपन्न दलितको ज्यान जाँदा पनि स्थानीय सरकारले नै वास्ता नगरेको बताए । मुलुकमा तीन तहको सरकार भए पनि वास्तविक गरिब तथा सीमान्तकृत समुदायसम्म प्रत्यक्ष रूपमा पुग्न नसक्दा उनीहरू सरकारी सुविधाबाटै वञ्चित भएको पासवानले बताए ।