झन्डै ९० प्रतिशतले बढ्यो निर्यात

चालू आवको तीन महिनामा ३ खर्ब ९५ अर्बको आयात, ७२ अर्ब ७८ करोडको निर्यात

सोमबार, ११ कार्तिक, २०८२
डिजिटल संस्करण

चालू आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालको निर्यात व्यापारमा उछाल आएको छ । असोज मसान्तसम्ममा नेपालको निर्यात ८९.६४ प्रतिशतले बढेर ७२ अर्ब ७८ करोड रुपैयाँबराबर पुगेको छ । अघिल्लो आवको सोही अवधिमा नेपालले ३८ अर्ब ३७ करोडको मात्रै निर्यात गर्न सकेको थियो । 

खासगरी भटमास, पाम, सूर्यमुखीलगायत खाने तेलको निर्यात उच्चदरमा बढेसँगै नेपालको समग्र निर्यातमा वृद्धि भएको हो । यससँगै कुल व्यापारमा निर्यातको हिस्सासमेत उच्चदरमा पुगेको छ । यो तेस्रो महिनामा नेपालको कुल व्यापारमा निर्यातको हिस्सा ५०.४७ प्रतिशत विन्दुले बढेर १३.४६ प्रतिशत हुन पुगेको छ । 

निर्यातको तुलनामा आयात वृद्धिदर न्यून देखिएको छ । असोज मसान्तसम्ममा आयात १९.७९ प्रतिशतले बढेर चार खर्ब ६८ अर्ब आठ करोड पुगेको छ । गत वर्षको तीन महिनामा नेपालले तीन खर्ब ९० अर्ब ७५ करोडको वस्तु आयात गरेको थियो । 
चालू आवको तीन महिनामा नेपालले कुल पाँच खर्ब ४० अर्ब ८६ करोड रुपैयाँबराबरको अन्तर्राष्ट्रिय व्यापार गरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २६.०४ प्रतिशतले बढी हो । निर्यात उच्चदरमा बढे पनि नेपालको व्यापार घाटामा भने कमी आएको छैन । निर्यातको तुलनामा आयातको हिस्सा बढी हुँदा व्यापार घाटा अझै चुलिएको छ । यो तीन महिनामा नेपालले तीन खर्ब ९५ अर्ब ३० करोड रुपैयाँबराबरको व्यापार घाटा व्यहोरेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा १२.१८ प्रतिशतले बढी हो । 

 सवा एक खर्ब उठ्यो भन्सार राजस्व 
चालू आवको पहिलो तीन महिनामा सरकारले सवा एक खर्ब भन्सार राजस्व उठाएको छ । सरकारले असोज मसान्तसम्ममा अन्तर्राष्ट्रिय व्यापारबाट कुल एक खर्ब २० अर्ब ७७ करोड ३० लाख रुपैयाँ भन्सार राजस्व उठाएको हो । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ७.३ प्रतिशतले बढी हो । गत आवको पहिलो तीन महिनामा सरकारले एक खर्ब १२ अर्ब १२ करोड २३ लाख रुपैयाँ भन्सार राजस्व उठाएको थियो । 

 एक सय नौ देशसँगको व्यापार घाटामा
नेपालले चालू आवको पहिलो त्रैमासमा कुल एक सय ३८ देशसँग व्यापार गरेको छ । यसमध्ये २९ देशसँगको व्यापारमा मात्रै नेपालले नाफा कमाउन सकेको छ । एक सय नौ देशसँगको व्यापार भने घाटामा गएको छ । नेपालले सबैभन्दा धेरै व्यापार गर्ने भारत, चीन, अर्जेन्टिना, युएई अमेरिका, इन्डोनेसिया, ब्राजिलगायत देशसँग नेपालले घाटा व्यहोरेको छ । जर्मनी, स्विडेन, डेनमार्क, रोमानिया, लेबनान, केन्या, क्रोएसियालगायत देशसँग भने नेपालको व्यापार नाफामा देखिएको छ । 

See More On

सुझावित समाचार