उपत्यकामा ट्राफिक प्रहरीको कडाइः मापसे गरेर सवारी चलाउने चालक पक्राउ

आइतबार, ९ कार्तिक, २०८२
डिजिटल संस्करण

काठमाडौं उपत्यकाका विभिन्न स्थानमा आज ट्राफिक प्रहरीले गरेको विशेष चेकिङका क्रममा मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारीसाधन चलाउने सातजना चालकलाई नियन्त्रणमा लिएको छ। 

रिङरोडमा चल्ने बा५ख ६८१५ नम्बरको बसचालक कालीकोटको पचालझरना गाउँपालिका– ७ घर भई काठमाडाैंको नामखेल बस्ने ३४ वर्षीय खम्ब दमाईं,  बा५ ख ७९१ नम्बरको भाडा बसचालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–७ घर भई मूलपानी बस्ने ३४ वर्षीय सीताराम गिरी र बागमती प्रदेश ०१-००२ ज ८५१८ नम्बरको हायसचालक काठमाडौंको टेकु बस्ने ६७ वर्षीय मोचाकाजी महर्जनलाई काठमाडौंको बाफलबाट ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। 

त्यस्तै, बागमती प्रदेश  ०१-००६ख८९८३ नम्बरको महानगर यातायातको बसचालक सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–१३ घर भई काठमाडौंको बाफल बस्ने ३७ वर्षीय सकुल डोटेललाई गौशालाबाट र बा४ख ९३५६ नम्बरको बसचालक नुवाकोट विदुर नगरपालिका–२ घर भई काठमाडौं बस्दै आएका ३७ वर्षीय राजु कटुवाललाई चाबहिलबाट, बागमती प्रदेश ०१-००६ ख ५४३१ नम्बरको रात्रिकालीन बसका चालक सप्तरी राजविराज नगरपालिका–११ बस्ने ४० वर्षीय धर्मदेव यादवलाई कोटेश्वरबाट र बा४ख ४१० नम्बरको माइक्रोचालक सर्लाही बागमती नगरपालिका–१ का ३६  वर्षीय अजय गोलेलाई ललितपुरको सातदोबाटोबाट मादक पदार्थ सेवन गरी यात्रुवाहक सवारीसाधन चलाइरहेको अवस्थामा फेला पारी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा रहेका चालकहरूलाई आवश्यक अनुसन्धानका लागि सम्बन्धित प्रहरी कार्यालयमा पठाएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए । 

केही दिनयता उपत्यकामा ट्राफिक प्रहरीले मापसे कारबाहीमा कडाइ थालेको छ। 

See More On

सुझावित समाचार