ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैंक अवार्ड २०२५ बाट सम्मानित भएको छ । शनिबार संयुक्तराज्य अमेरिकामा आयोजित एक समारोहमा ग्लोबल फाइनान्सका प्रतिनिधिले बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल र प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीलाई उक्त अवार्ड हस्तारण गरे ।
विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङलगायतका मापदण्डमा यो बैंक सन् २०२५ का लागि नेपालकै उत्कृष्ट बैंक ठहर भएको हो ।
यो अवार्डसँगै ग्लोबल आइएमई बैंक लगातार दुई वर्ष ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैंक अवार्डबाट सम्मानित भएको हो । यसअघि पनि बैंक सोही अवार्डबाट सम्मानित भएको थियो । बैंकका अध्यक्ष ढकालले यस सम्मानले बैंकलाई थप उत्कृष्ट सेवा प्रदान गर्न प्रोत्साहित गरेको बताए । साथै, यस सम्मानका लागि विभिन्न पक्षबाट सहयोग गर्ने सबैप्रति आभार प्रकट गरे ।
बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रीय बैंक र वाणिज्य बैंकलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्छ । ग्लोबल फाइनान्स म्यागाजिनले ग्लोबल आइएमई बैंकसहित अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य–पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको हो ।