एमाले अध्यक्ष केपी शर्मा ओलीले देशप्रतिको इमान र समर्पणभाव कसैले दुःख दिँदैमा कमी नहुने बताएका छन्। सम्पादकहरूसँगको कुराकानीका क्रममा प्रधानमन्त्री सुशीला कार्कीको सरकारलाई कठपुतलीका रूपमा चित्रण गर्दै ओलीले यस्तो बताएका हुन्।
उनले भने, ‘यो दुई दिनको लीला हो क्या। यस्ताका तमासाहरू देखेर कसैले नचाएको कठपुतली देखेर म अँध्यारो मुख लगाएर बस्छु? जेन-जी हुँदै देश बनाउन हिँडेको हुँ म, भर्खरै १४ वर्ष टेकेको थिएँ। अनि म लत्रिएर अँध्यारो मुख लगाएर हिँड्छु?’
आफू १४ वर्ष जेल बसेको उल्लेख गर्दै ओलीले अहिले पनि विगतमा जस्तै दुःख-कष्ट झेल्न गाह्रो नभएको प्रस्ट्याए। ‘शाही कु पनि देखेको छु, १४ वर्ष जेल पनि बसेको छु। नेल हथकडी लगाएर जेल बसेको याद छ मलाई। यस्ता अनेक झेलेर आएको छु। फेरि पनि कुनै दुःख-कष्ट झेल्न कुनै गाह्रो छैन। देशप्रतिको इमान र समर्पणभाव कसैले दुःख दिँदैमा कमी हुँदैन,’ उनले भने।