- खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा छैन धान खरिदको सुरसार
- समयमै पानी नपरेको र रासायनिक मलको अभाव उत्पादन घट्ने अनुमान
सरकारी कम्पनी, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान नकिन्दा कैलालीका किसान पोहोरभन्दा कम भाउमा धान बेच्न बाध्य छन् । त्यति मात्र होइन, सरकारले यस वर्षका लागि तोकेको मूल्यभन्दा साढे आठ सय रुपैयाँ कम भाउमा व्यापारीले किनिरहेका छन् । जबकि, मन्त्रिपरिषद्को २६ साउनको बैठकले यस वर्ष मोटो धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार ४६३.८१ रुपैयाँ र मध्यम धानको मूल्य तीन हजार ६२८.३३ रुपैयाँ तोकेको छ । धान बेचेर बिउ, मलखाद, खनजोतको उधारो तिर्नुपर्ने र गहुँखेतीका लागि पैसा चाहिने भएपछि किसान सस्तो भाउमा धान बेचिरहेका हुन् ।
भजनी नगरपालिका– ३, धुसीका किसान सीताराम रानाले प्रतिक्विन्टल दुई हजार ६ सय रुपैयाँमा डेढ सय बोरा मोटो धान बिक्री गरे । ६ बिघामा धान रोपेका उनले गत वर्ष यही सिजनमा प्रतिक्विन्टल तीन हजार एक सय रुपैयाँमा धान बिक्री गरेको बताए । मूल्य घट्दा घाटा खाएर धान बिक्री गर्नुपरेको गुनासो उनले गरे । ‘मल, बिउविजनकोे मूल्य बढिरहेको छ ।
धानको मूल्य भने घट्दै छ । मूल्य घटेर लगानी उठाउनै गाह्रो भयो,’ रानाले भने, ‘बढी मूल्य पाइएला कि भनेर गाउँ र आसपासका गल्ला व्यापारीकहाँ पनि बुझेँ, सबै ठाउँ उस्तैउस्तै दर रहेछ ।’ घरमा भण्डारण गरेर राख्ने ठाउँ नभएको र गहुँका लागि मल किन्नुपर्ने भएकाले थ्रेसिङ गरेलगत्तै बिक्री गर्नुपरेको उनले बताए । ‘केही समय राखेको भए पछि मूल्य बढ्थ्यो होला । चाडपर्व र हिउँदे बाली लगाउने खर्चको जोहो गर्न पनि धान बिक्री गर्नुपर्यो,’ उनले दुःखेसो पोखे ।
कैलारी गाउँपालिका– ४, हसुलियाका किसान राम दहितले यस वर्ष मूल्य घटेकाले धान बिक्री गर्न सकेका छैनन् । उनलाई हिउँदे बाली लगाउने खर्च कसरी जुटाउने भन्ने चिन्ता छ । घटेर लागतसमेत नउठ्ने भएपछि धान घरमै थन्क्याएर राखेको उनले बताए । दहितका अनुसार गत वर्ष यहीवेला गाउँमा मोटो धान प्रतिक्विन्टल तीन हजारमा बिक्री भएको थियो । यस वर्ष दुई हजार पाँच सय ५० रुपैयाँसम्ममा कारोबार भइरहेको छ ।
‘धान बेचेरै हिउँदे बालीका लागि बिउ, मलखादका लागि खर्च उठाउनुपर्छ,’ दहितले भने, ‘यसपालि मूल्य नपाएर धान त्यत्तिकै राख्दा हिउँदे बाली लगाउने खर्च कसरी जुटाउने भन्ने समस्या छ ।’ यसपालि बाढी नआएकाले धान राम्रो फलेको उनले बताए ।
बाढी प्रभावित क्षेत्र भजनी र कैलारीमा बर्खायाममा आउने बाढीले धानबालीमा ठुलो क्षति गर्छ । यसपालि ठुलो बाढी नआउँदा धानबाली राम्रो भए पनि अहिले धानको उचित मूल्य नपाएको ती क्षेत्रका किसानको गुनासो छ । व्यापारीले धानको मूल्य मनोमानी तोकेको किसानको गुनासो छ । यसपालि चैतेधानको मूल्य पनि अहिलेकै जति थियो । धान भित्र्याउने वेला हरेक वर्ष व्यापारीले भनेको मूल्यमा धान बिक्री गर्नुपर्ने बाध्यता रहेको धनगढीका किसान रेवन्त बोहराले बताए । यस वर्ष झन् मूल्य घट्दा किसान मारमा परेका उनले बताए । सरकारी कम्पनी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले धान खरिद सुरु गरेपछि भने धानको मूल्य केही बढ्ने गर्छ ।
सरकारी कम्पनी खाद्यमा छैन धान खरिदको सुरसार
खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले हरेक वर्ष सरकारले निर्धारण गरेको मूल्यमा किसानबाट धान खरिद गर्ने गर्छ । तर, खाद्यले ढिलो गरी खरिद गर्दा किसानले व्यापारीले तोकेको मूल्यमा धान बिक्री गर्नुपर्छ । खाद्यले खरिद सुरु गरेपछि भने व्यापारीले पनि मूल्य बढाएर खरिद गर्छन् ।
यस वर्ष खाद्यले कैलालीमा कति परिमाणमा धान खरिद गर्ने भनेर कोटा नै निर्धारण गर्न सकेको छैन । खाद्यको प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले केन्द्रबाट कोटा निर्धारण भएर आएपछि खरिद सुरु गरिने बताए । उनका अनुसार कोटा तोकेर आएपछि धनगढी, टीकापुर, सत्ती, भजनी, जोशीपुर र गौरीगंगाबाट धान खरिद गरिनेछ । गत वर्ष खाद्यले कैलालीबाट ५५ हजार क्विन्टल धान खरिदको कोटा निर्धारण गरे पनि बिक्रीका लागि किसान नआउँदा साढे ३४ हजार क्विन्टल मात्र खरिद गर्न सकेको थियो ।
उत्पादन घट्ने अनुमान
कैलाली धान उत्पादनका लागि उर्वर जिल्ला हो । कृषि ज्ञान केन्द्र कैलालीका अनुसार यहाँ ७२ हजार हेक्टर क्षेत्रमा धानखेती गरिन्छ । धानको उत्पादकत्व प्रतिहेक्टर ३.४ टन छ । कृषि ज्ञान केन्द्र कैलालीका निमित्त प्रमुख टेकबहादुर विष्टले यसपालि धानको समग्र उत्पादन घट्ने आकलन रहेको बताए । समयमै पानी नपरेको र रासायनिक मलको अभाव भएकाले पाँच–सात प्रतिशतसम्म उत्पादनमा कमी आउन सक्ने उनले बताए । ‘धान रोपेपछि करिब एक महिनासम्म खडेरी भयो । धानले गाँज हाल्ने वेला किसानले रासायनिक मल पाएनन्,’ विष्टले भने, ‘फुल्ने वेला पानी पर्दा परागसेचनमा बाधा भएकाले उत्पादन घट्ने देखिएको छ ।’
किन घट्यो धानको भाउ ?
१.सरकारले बजारमा हस्तक्षेप नगर्दा व्यापारीले सस्तो भाउमा धान किनिरहेका छन् । धान बेचेर बिउ, मलखाद, खनजोतको उधारो तिर्नुपर्ने र गहुँखेतीका लागि पैसा चाहिने भएकाले किसानले पनि घरमा धान होल्ड गर्न सक्दैनन् । यही मौकामा गल्ला व्यापारीले सस्तोमा धान उठाउँछन् । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले समयमै धान खरिद सुरु गरेमा गल्ला व्यापारीले पनि प्रतिस्पर्धात्मक भाउमा किन्छन् । तर, खाद्यले धान किन्ने सुरसार नै गरेको छैन । पोहोर खाद्यले किन्नुअघि गल्ला व्यापारीले प्रतिक्विन्टल तीन हजारदेखि ३१ सयमा किनिरहेका थिए । तर, पछि खाद्यले पनि किन्न थालेपछि भाउ ३४ सय पुगेको थियो ।
२. खाद्य व्यवस्था तथा व्यापार कम्पनीको प्रादेशिक कार्यालय धनगढीका प्रमुख दीपक थापाले भारतबाट आयात हुने धान र चामलको मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्नुले पनि धानको मूल्य घटेको हुन सक्ने बताए । भारतबाट धान र चामलको आयात अत्यधिक बढेकाले यहाँको उत्पादनले बजार नपाएको उनले बताए । ‘पछिल्लो समय धान र चामलको आयात अत्यधिक बढेको तथ्यांक छ । गल्लाहरूमा गत वर्ष आयात गरिएकै धान बाँकी देखिन्छ,’ थापाले भने, ‘भारतबाट आयात हुने धान–चामलको मूल्यसँग प्रतिस्पर्धा गर्न नसक्दा पनि मूल्य घटेको होला ।’
३. कैलालीमा मोटो र मध्यम धानको उत्पादन बढी हुन्छ । तर, माग मसिनो चामलको हुने भएकाले पनि मोटो धानको मूल्य घटेको हुन सक्ने कृषि ज्ञान केन्द्र कैलालीका निमित्त प्रमुख टेकबहादुर विष्टले बताए । ‘कैलालीमा मोटो धान बढी लगाइन्छ । तर, मसिनो चामलको प्रयोग बढेको छ । त्यसैले मोटो धानको मूल्य घटेको हुन सक्छ,’ उनले भने ।